सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल

अभिषेक र हैदराबादसामु नतमस्तक बने यी रेकर्डहरू

आइतबार, ३१ चैत २०८१, १३ : ०३
आइतबार, ३१ चैत २०८१

हैदराबाद । शनिबार खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को २७ औँ खेलमा रनको वर्षा भएको थियो । खेलमा पहिले ब्याटिङ गर्दै पञ्जाब किंग्सले ६ विकेटको क्षतिमा २ सय ४५ रन बनायो ।

तर, यो जितका लागि काफी भएन । घरेलु टोली सनराइजर्स हैदराबादले उक्त लक्ष्य ९ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा पछ्यायो । 

टोलीका लागि अभिषेक शर्मा नायक साबित भए । उनले मात्र ५५ बलमा १ सय ४१ रन जोडे । त्यस्तै, ट्राभिस हेडले पनि ३७ बलमा ६६ रनको शानदार इनिङ्स खेले ।

यो खेलमा थुप्रै रेकर्डहरू तोडिएका छन् भने नयाँ रेकर्डहरू बनेका छन् । हेरौँ केही त्यस्ता रेकर्डहरुः

  • २४६ – सनराइजर्स हैदराबादले पछ्याएको पञ्जाब किंग्सद्वारा प्रस्तुत लक्ष्य । आईपीएलमा कुनै पनि टोलीले पछ्याएको यो दोस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०२४ मा पञ्जाबले कोलकाताविरुद्ध २ सय ६२ रनको लक्ष्य पछ्याएको थियो ।
  • ८ – घरेलु मैदानमा हैदराबादले पञ्जाबविरुद्ध हासिल गरेको लगातार जितको संख्या । आईपीएलको कुनै पनि मैदानमा कुनै टोलीले विपक्षीविरुद्ध हासिल गरेको सबैभन्दा लामो जितको शृङ्खला हो । हैदराबादबाहेक चेन्नई सुपर किंग्सले पनि रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध चेपाकमा लगातार ८ वटा जित हात पारेको छ ।

यो मैदानमा पछिल्ला १० खेलमा हैदराबादको नवौँ जित पनि थियो । मुम्बई इन्डियन्सले वांखडेमा कोलकाताविरुद्ध सर्वाधिक १० जित हात पारेको छ ।

  • १४१ – शनिबार अभिषेक शर्माले बनाएको स्कोर आईपीएलमा कुनै पनि ब्याटरले बनाएको सबैभन्दा तेस्रो ठुलो हो । यसअघि सन् २०१३ मा क्रिस गेलले नटआउट रहँदै १७५ रन र सन् २००८ मा ब्रेन्डन म्याककलमले नटआउट रहँदै १ सय ५८ रन बनाएका थिए ।

हैदराबादका कुनै पनि ब्याटरले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । सन् २०१७ मा डेभिड वार्नरले कोलकाताविरुद्ध १ सय २६ रन बनाएका थिए ।

abhisekh-sharma 2

  • १ – अभिषेकको १ सय ४१ रन कुनै पनि भारतीय ब्याटरले आईपीएलमा बनाएको सर्वाधिक ठुलो स्कोर हो । यसअघि सन् २०२० मा केएल राहुलले बैंगलुरुविरुद्ध १ सय ३२ रन बनाएका थिए ।

यो कुनै पनि ब्याटरले लक्ष्य पछ्याउँदा बनाएको सबैभन्दा ठुलो स्कोर पनि थियो । यसअघि सन् २०२४ मा मार्कस स्टोइनिसले चेन्नईविरुद्ध १ सय २४ रन बनाएका थिए ।

  • ४० – अभिषेकलाई शतक बनाउन लागेको बलको संख्या । यो आईपीएलमा छैटौँ चाँडो हो । साथै हैदराबादका लागि दोस्रो चाँडो हो । सन् २०२४ मा ट्राभिस हेडले बैंगलुरुविरुद्ध ३९ बलमा शतक हिर्काएका थिए ।
  • १० – शनिबार अभिषेकले हिर्काएको छक्काको संख्या । आईपीएलको एक इनिङ्समा हैदराबादका कुनै पनि ब्याटरले हिर्काएको सबैभन्दा धेरै छक्का हो । यसअघि कुनै पनि हैदराबादका ब्याटरले ८ भन्दा बढी छक्का प्रहार गर्न सकेका थिएनन् ।
  • २४ – अभिषेकले हिर्काएको बाउन्ड्रीको संख्या । आईपीएलमा कुनै ब्याटरले हिर्काएको दोस्रो धेरै बाउन्ड्री हो । यसअघि सन् २०१३ मा गेलले पुने वारियर्सविरुद्ध ३० वटा बाउन्ड्री प्रहार गरेका थिए । अभिषेकले ११६ रन बाउन्ड्रीबाट जोडेका थिए । आईपीएलमा यो तेस्रो धेरै हो ।
  • ३ – टी–२० खेलमा अभिषेकले ४० वा सोभन्दा कम बलमा शतक हिर्काएको संख्या । उनले शनिबारअघि सन् २०२४ मा मेघालयविरुद्ध २८ बलमा र सन् २०२५ मा इंग्ल्याण्डविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । कुनै पनि ब्याटरका लागि यो पनि एउटा रेकर्ड हो ।
  • ५ – हैदराबादका सबै ५ बलरहरूले ४० भन्दा बढी रन खर्चिए । आईपीएलमा कुनै पनि खेलमा ५ वटै बलरले ४० भन्दा बढी रन खर्चेको यो दोस्रो पटक हो । यसअघि यो सिजनको सुरुमा राजस्थानका बलरहरूले हैदराबादविरुद्ध यसरी नै नराम्रोसँग पिटाइ खाएका थिए ।
  • ७५ – मोहम्मद शमीले आफ्नो ४ ओभरमा खर्चिएको रनको संख्या । आईपीएलको खेलमा कुनै पनि बलरले खर्चिएको यो दोस्रो धेरै रन हो । यसअघि, राजस्थानका जोफ्रा आर्चरले हैदराबादविरुद्ध ७६ रन खर्चिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप