सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो

आइतबार, ३१ चैत २०८१, १३ : ०६
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शारंगा सुवेदीको इजलासमा मुद्दाको सुनुवाइ सकिएको हो। 

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध टिकाटिप्पणी गरेर उनले अदालतको अवहेलना गरेको जिकिरसहित कानुनका विद्यार्थी प्रान्जल केसीले ज्वालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमाथिको सुनुवाइ सकिएपनि यो समाचार तयार पार्दासम्म आदेश भने आउन बाँकी छ । 

‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्‍या छ,’ रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश आएको केही बेरमै उनले लेखेकी  थिइन् । त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी थिइन् । 

अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको  केसी दायर गरेको रिटमा उल्लेख छ । 

सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ । 

अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग रिटमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप