२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा

काठमाडौँ । २०८१ साल बिदा हुँदैछ । आपराधिक क्रियाकलापको दृष्टिमा यो वर्ष समाजमा उच्च पदस्थको छवि बनाएकाहरू फौजदारी मुद्दामा तानिए ।
अघिल्लो वर्ष निकै चर्चामा रहेको भुटानी शरणार्थी प्रकरण २०८१ मा पनि राजनीतिलाई तरङ्गित बनायो । शरणार्थी प्रकरणमा संलग्न गिरोहका बेचन झालाई पक्राउ गरेर कानुनी दायरामा ल्याउँदा सरकार ढल्ने अवस्था बन्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्नुमा ‘बेचन पक्राउ प्रकरण’ एउटा कारणको रूपमा देखिएको बताउँछन् तत्कालीन अर्थमन्त्री वर्षमान पुन । रातोपाटीकर्मीसँग कुरा गर्दै उनले भने, ‘सरकार ढल्ने एउटा कारण बेचन झा पनि थिए । उनलाई पक्राउ गर्नासाथ सरकारको समीकरण परिवर्तन हुने अवस्था आयो ।’
असार १५ मा बेचन झा पक्राउ परे । भारतबाट ल्याए पनि प्रहरीले उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोड रुपैयाँको चेक बुझ थिए । टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग उनले दुई करोडको चेक लिएका हुन् । भुटानी शरणार्थीलाई अमेरिका पठाउने निर्णय मन्त्रिपरिषद्बाट गराउँछु भनेर चेक लिने झाविरुद्ध ठगी मुद्दा चल्यो । अहिले उनी पुर्पक्षका लागि कारागारमा छन् ।
तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बेचनलाई पक्राउ गराएका थिए तर, भुटानी शरणार्थी प्रकरण लामिछानेका लागि ‘ब्याक फायर’ हुन पुग्यो । माओवादी केन्द्रका नेता पुनले भनेझैँ बेचन समातिएपछि सरकार नै ढल्यो भने लामिछाने आफैँ ‘सहकारी ठगी’ मुद्दामा पक्राउ परे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पक्राउ परेका हुन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न आरोपमा पक्राउ परेका लामिछानेमाथि पाँच जिल्लाका पाँच वटा सहकारीको रकम ठगेको आरोप छ । चार जिल्लामा उनीविरुद्ध मुद्दा चलिसकेको छ ।
पाँच वटा सहकारीको रकम गोरखा मिडिया नेवटर्कमा ल्याएर हिनामिना गरेको कसुरमा अनुसन्धान पूरा भएपछि धरौटीमा छुटेका लामिछाने वर्षको अन्त्य अर्थात् चैत २२ मा फेरि पक्राउ परे ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनी दोस्रो पटक पक्राउ परेका हुन् ।
रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्लाको आदेश खारेज गरेका हुन् । २०८१ सालभर रवि लामिछानेको ठगी प्रकरण सर्वाधिक चर्चामा रह्यो । पक्राउ पर्नुअघि उपप्रधान एवं गृहमन्त्री भएर राजनीतिमा नयाँ फट्को मारेका लामिछाने ठगी मुद्दाको कारण कारागार पुगेका छन् । अहिले उनी रुपन्देही कारागारमा थुनामा छन् ।
पूर्वउपराष्ट्रपतिका छोरा दिपेश कुमार पुन २०८१ वैशाखमा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परे । अहिले उनी थुनामुक्त भएका छन् । पुनले सो सहकारीको सचिव हुँदा रकम हिनामिना गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सुप्रिम बचत तथा ऋण सहकारीबाट रवि लामिछानेको नाममा रकम आएको अनुसन्धानबाट फेला परेको छ । लामिछानेले १ करोड ८० लाख रुपैयाँ गलत तरिकाले ऋण लिएको अभियोजन पक्षको दाबी छ । फौजदारी कानुनबारे जानकार एक जना वरिष्ठ अधिवक्ता भन्छन्, ‘लामिछानेले २०७८ पुस ७ मा लिएको सो ऋणका कारण उनले सहज उन्मुक्ति पाउने देखिँदैन ।’
सुप्रिम बचत तथा ऋण सहकारीका संरक्षक तथा पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राई, पूर्वडीआईजी जोशी र लामिछाने मिलेर सुप्रिम सहकारीको १४ करोड २९ लाख गोरखा मिडियामा ल्याएर हिनामिना गरेको अनुसन्धान निष्कर्ष छ ।
- नभेटिएका जीबी
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका संरक्षक तथा पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोडभन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ तर, राज्य संयन्त्रले आफ्ना सबै संयन्त्र प्रयोग गर्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम भुपेन्द्रबाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भुपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजारसहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
मलेसियामा लुकेर बसेका जीबीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक नरहरी रेग्मीलाई पठाइए पनि मलेसियाबाट काठमाडौँ आएकाहरूलाई बिचौलियाहरूले यहाँ अलपत्र बनाएको र उनीहरूलाई अध्यागमन विभागले लाखौँ जरिबाना गरेका कारण मलेसिया फर्किन नसकेको कुरा उठाएर त्यहाँका अधिकारीहरूले जीबीलाई पठाउन आनाकानी गरिरहेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि र छविलाल थुनामा भए पनि जीबी अझै भेटिएका छैनन् ।
सूर्यदर्शन सहकारीको संस्थापकसमेत रहेका राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई प्रहरी हेडक्वार्टरको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाइएको थियो । सो नोट पठाएको १ वर्ष भइसकेको छ । परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ तर, उनी अहिलेसम्म अनुसन्धानको दायरामा आएका छैनन् ।
- न्यायाधीशविरुद्ध ‘वैवाहिक बलात्कार’ मुद्दा
वर्ष २०८१ को सुरुमै कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरी निलम्बनमा परे । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।
उनी अहिले डिल्लीबजार कारागारमा छन् । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।
२०७९ चैत २८ मा पक्राउ परेका गिरी जिल्ला अदालतको आदेशले रिहा भए पनि फेरि सर्वोच्चको आदेशले थुनामा गएका हुन् ।
लाल मोहम्मदको हत्या भएको ३ वर्षपछि प्रहरीले अनुसन्धानमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’को योजनामा भएको भनिएको हत्यामा संलग्न योजनाकार र सुटर यस वर्ष पक्राउ परे ।
२०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । हत्या योजना बनाउने भारतीय नागरिक बब्लु पासवान वीरगञ्जमा पक्राउ परे । रक्सौल घर भएका पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०८१ असोज ३ मा गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो ।
भारतीय अन्डरवल्र्ड डन बब्लु श्रीवास्तवसँग निटक छन्, बब्लु पासवान । नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । लाल मोहम्मदले पनि भारतीय जाली नोट कारोबार गरेको आरोप छ । नोट कारोबारी सफाया गर्नेमध्येका श्रीवास्तव अहिले जेलमा छन् । श्रीवास्तवभन्दा तल्लो लेयरका हुन् बब्लु पासवान ।
मोहम्मदको हत्यामा संलग्न सुटर गुड्डु पटेल फागुन १८ मा पक्राउ परे । टोखामा गोली प्रहार गरेर पक्राउ गरिएका पटेल अहिले केन्द्रीय कारागारमा थुनामा छन् ।
- दुर्गा प्रसाईं : पक्राउमा ह्याट्रिक
२०८१ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पक्राउमा ह्याट्रिक गरे । सर्वोच्च अदालत परिसरबाट २०८० चैत ५ मा प्रसाईंका सहयोगी दिपक खड्काबाट हतियार बरामद भएको थियो । मोडल नम्बर ५ र सिरियल नम्बर ए–३५४७५२ नम्बरको २२ बोर बन्दुकको इजाजतपत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गन ‘जीएसजी–५’ र १ सय राउण्ड गोली बरामद गरेको थियो ।
अदालत परिसरबाट जर्मन स्पोर्ट गनसहित पक्राउ परेपछि त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।
प्रसाईंका सुरक्षा गार्डबाट बरामद हतियारबारे गृह मन्त्रालयको छानबिन रिपोर्टले भन्यो, ‘इजाजत दिन नमिल्ने प्रकृतिको हतियार ।’ २०८१ वैशाख १७ मा सहसचिव राजेन्द्रदेव पाण्डेले मन्त्रालयमा छानबिन रिपोर्ट बुझाएका थिए ।
शक्तिको दुरुपयोग गरेर अत्याधुनिक हतियारको लाइसेन्स लिएर हिँड्ने प्रसाईंले वर्षभरि ‘उद्दण्ड’ मच्चाए । धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा उद्दण्डता देखाउँदै आएका प्रसाईं अहिले प्रहरीको हिरासतमा छन् ।
२०८१ असोज ६ मा प्रसाईंलाई साइबर ब्यूरोले पहिलो पटक पक्राउ गरेको थियो । उनीविरुद्ध ‘युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गरेको’ आरोप थियो । एक युट्युब च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक जना महिलाकोे चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
केही दिन हिरासतमा बसेर उनी रिहा भए । मंसिर ४ मा उनी दोस्रो पटक पक्राउ परे ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रसाईंले बयानमा सो कुरा स्वीकार गरेका छन् । उनले पत्रकार सम्मेलन गरेर कागजात खोज्न १ करोड बुझाएको बताएका थिए । पक्राउ परेपछि रकम बुझाएको तथ्य अस्वीकार गरे । प्रहरीसँग उनले भने, ‘रकम बुझाएको छैन ।’
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयाललाई पनि दुर्गा प्रसाईंले परिचालन गरेको भेटिएको छ । फुयाललाई भारतको आसामबाट पक्राउ गरेपछि सो तथ्य खुलेको थियो ।
काठमाडौँको तीनकुनेमा चैत १५ मा राजा फर्काउने नाममा उद्दण्डता मच्चाएका प्रसाईं अहिले तेस्रो पटक थुनामा छन् । प्रहरीका अनुसार उनी चैत २९ मा झापाको भद्रपुरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
तीनकुनेमा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्नेगरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेपछि फरार भएका उनी भारतको आसाममा लुकेर बसेका थिए ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पूर्वराजाको पक्षमा आयोजना गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले गरेको तोडफोडबाट निजी सम्पत्तिमा क्षति पुगेको छ ।
- सिरोहियालाई नागरिकता मुद्दा
कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न आदेश गरे । जेठ ८ मा काठमाडौँमा पक्राउ परेका सिरोहियाविरुद्ध ‘नागरिकता सम्बन्धी कसुर’को अभियोग थियो ।
सिरोहियाले लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको दाबी उजुरीकर्ताले गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १७ मा जाहेरी दर्ता भएको थियो । एक साता हिरासतमा बसेपछि सिरोहिया हाजिर जमानीमा रिहा भए । उनको मुद्दा अझै टुङ्गिएको छैन ।
- सहकारीका ‘खेलाडी’ खोरमा
चन्द्र बहादुर तामाङ ‘सिबी’ र केबी उप्रेती सहकारी क्षेत्रका ‘खेलाडी’ हुन् । कान्तिपुर सेभिङका अध्यक्ष सीबी जेठ २० मा पक्राउ परे ।
कान्तिपुर सेभिङ र पशुपति सेभिङमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार हिनामिना गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् । २०५५ देखि २०७६ पुससम्म कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अध्यक्ष थिए ।
एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नीति आएपछि सीबी कान्तिपुरबाट अलग भए । २०५५ मा उनकै अध्यक्षतामा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ स्थापना भएको थियो । कान्तिपुर सेभिङको लगानीमा सञ्चालित कान्तिपुर अस्पतालमा उनी २०५९ मा अध्यक्ष भए । सीबी अहिले थुनामा छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती असार १९ मा पक्राउ परेका थिए । पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ९ करोड रकम हिनामिना गरेको आरोपमा उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।
- ६० किलो सुन प्रकरण
वर्ष २०८१ मा ६० किलो सुन प्रकरण चर्चामा रह्यो । सीआईबीले सो प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरेर असार २६ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ६० किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका १६ जना अदालतको आदेशले थुनामा गएका छन् । पक्राउ परेका २० जनामध्ये सुशील ज्याकीबन्जालाई मुद्दा चलाइएन, अरु ३ जना धरौटीमा छुटे ।
६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ केजी सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । काठमाडौँका विभिन्न स्टोरबाट बरामद गरिएको स्मार्ट वाच, पानी तान्ने मेसिन, दाह्री काट्ने मेसिन र ब्रेक प्याडको विश्लेषण गरेर विज्ञ समूहले सो निष्कर्ष निकालेका हुन् ।
पहिलो चरणको अनुसन्धान प्रतिवेदन बुझाएपछि सीआईबीले विज्ञ समूह गठन गरेको थियो । विज्ञ समूहले दिएको प्रतिवेदनमा बरामद भएका सामानको गहिराइ विश्लेषण गर्दा ३ हजार १९४ केजी सुन ल्याएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल