जुनीदेखि पिलीसम्म विचरण गर्दा

नियात्रा अथवा यात्रा संस्मरण फगत यात्राको संस्मरणात्मक वर्णन होइन, हुनु हुँदैन । निजत्व प्रधान हुँदाहुँदै पनि त्यसमा लेखकीय दृष्टिकोण र कलासहित सामाजिक चित्र र चरित्रको अभिव्यञ्जना हुनुपर्छ, यात्रा संस्मरण लेखनका सन्दर्भमा यो मेरो निजी मान्यता हो । पत्रकार दीपेन्द्र शर्माकृत जुनीदेखि पिलीसम्म नियात्रा लेखकीय दृष्टिकोण, सामाजिक परिवेशको चित्रण अब्बल नै रहेको मान्न सकिन्छ । पुस्तक पढ्दा त्यतिबेलाको सामाजिक मनोदशा तथा परिवेशको सहज अनुभूति हुन्छ । नसुने/नपुगेको भूगोलमा पाठकलाई सहज विचरण गराउन लेखक सफल देखिन्छन् । कृतिमा अरु विविध आयाम खट्किए पनि नियात्राको आधारभूत तत्त्वका हिसाबले लेखक सफल देखिन्छन् ।
‘चैतको महिना थियो । गाउँमा धानको बिउ राख्ने समय भएको थियो । ...अर्छानीको कार्यक्रम ताङ्गाचौर गाउँमा आयोजना गरिएको थियो । मलाई त्यो कार्यक्रममा जानुपर्ने बाध्यता थियो । घरमा आमाबुवाले डङसाल भन्ने ठाउँमा धानको बिउ राख्नका लागि मलाई र छिमेकी काका नीमबहादुर हमाललाई पठाउनुभयो । काकाले पनि कार्यक्रममा जाऔँ, सकेर आएर बिउ राखौँला भन्नुभयो । म पनि राजी भएँ । दालुकाको झारमुनि बिउका लागि ल्याएको धान र अन्य सामान राखेर कार्यक्रमस्थलमा गयौँ । ...त्यही समयमा गाउँमा बुवाले घर निर्माण गरिरहनुभएको थियो । काम आधा नै थियो तर यो सबै याद हुँदाहुँदै पनि युद्धमा लाग्नुपर्ने अवस्था आयो ।’ (पृ. १९) ।
उल्लिखित पङ्क्तिलाई अध्ययन गर्दा तत्कालीन परिवेश, त्यो परिवेशले लेखक र सामाजिक चेतनामा पारेको प्रभावलाई उजागर गर्छ । एकातिर धानको बिउ राख्नुपर्ने तथा घर बनाउन घरबाट गरिएको सहयोगापेक्षाले घरायसी दायित्व पूरा गर्नुपर्ने चर्को दबाबमा लेखक देखिन्छन् भने अर्कोतर्फ कार्यक्रममा जानुपर्ने र युद्धमा लाग्नुपर्ने बाध्यताले लेखकको अन्यमनस्क अवस्थालाई दर्शाउँछ । यो तत्कालीन सामाजिक परिवेशको परिदृश्य र वैयक्तिक मनोदशाको चित्रण पनि हो ।
बिउ छर्न छाडेर भूमिगत शीर्षकको पहिलो रचनामा यी र यस्तै चित्र, चरित्र र परिवेशको जीवन्त अनुभूति हुन्छ ।
पहिलो रचनामा राजनीतिक रूपले आफू प्रतिबद्ध रहेको पुष्टि गर्ने प्रयासका बाबजुद रचनामा लेखकको मनोविज्ञान छरप्रस्ट छ । प्रतिबद्धताका बाबजुद लेखकमा युद्धमा समाहित भई ‘खतरा मोल्ने’ परिपक्व मानसिकताको विकास नभइसकेको देखिन्छ । परिपक्वताले भन्दा पनि रहर र लहडमा क्रान्तिमा समाहित भएको भान यो रचनामा पाइन्छ । कताकता सामेल हुनैपर्ने ‘बाध्यता’ले मात्र ‘क्रान्तिकारी’ बन्नुपरेको भाव पनि झल्कन्छ । घर बनाउनुपर्ने तथा धानको बिउ छर्नुपर्नेजस्ता घरायसी जिम्मा काँधमा रहेका बेला क्रान्तिमा जबर्जस्ती सामेल हुनुपर्ने बाध्यता लेखकलाई आइलागेको भाव कताकता झल्किन्छ । यस प्रसङ्गमा लेखकलाई उमेरजन्य र परिस्थितिजन्य सुविधा नरहेको भने होइन ।
अनुभूतिका हिसाबले फरक रहे पनि ‘युद्धको पहिलो अभियान भेक जनसैन्य मार्च र धन्न बाँचिएको रोल्पा यात्रा‘ पनि लेखकको नयाँ जीवन भोगाइको निरन्तरतामै रहेको देखिन्छ । ‘माया सरसँगको मायालाग्दो यात्राले म बनेँ पत्रकार’ शीर्षकको रचनाले लेखकको जीवनमा नयाँ मोड दिन्छ । यहाँसम्म आइपुग्दा लेखकमा आत्मबोध र आत्मबल प्रबल बनेको र अब केही गर्नुपर्छ भन्ने परिपक्वता विकास भएको आभास यो रचनाले दिन्छ । यो रचनासम्म आइपुग्दा लेखकले बिउ छर्ने र घर बनाउने विषयलाई टाढै छाडेर लडाइँ वा क्रान्तिको वास्तविकतालाई बोध गर्दै त्यसैमा जीवनको उद्देश्य र सार्थकतालाई ठम्याउन खोजेको अनुभूति हुन्छ ।
मानिसहरू धार्मिक, सांस्कृतिक, प्राकृतिक, मनोरञ्जनलगायत विविध उद्देश्य लिएर विविध विषयमा आनन्द लिन निस्कन्छन् । र, तिनै विषयमा केन्द्रित रहेर सस्मरण लेख्ने प्रचलन बढ्दो छ । दीपेन्द्र शर्माले त्योभन्दा पृथक् परिवेश र विषयवस्तुलाई संस्मरणको केन्द्र बनाएका छन् । वस्तुतः रचना पठनीय र सङ्ग्रहणीय छ ।
‘क्रान्तिको अग्रमोर्चामा जाजरकोटको जुनी कम्युन र जनसेनासँगको यात्रा ः पिली हुँदै जाजरकोटसम्म’ शीर्षकका रचनामा लेखक अब लडाइँमा अभ्यस्त बनेको र क्रान्ति वा लडाइँ उनको जीवनको नियमित र अपरिहार्य तत्त्व बनेको छ । यहाँसम्म आइपुग्दा उनी युद्ध पत्रकारको भूमिकामा सक्षम भइसकेका हुन्छन् ।
‘युद्धपर्यटनको केन्द्र महतगाउँ पुग्दा’, ‘मध्यपहाडी लोकमार्गको यात्रा ः मुक्तिनाथ हुँदै कोरला नाकासम्म’, ‘समाजवादी मुलुक चीन यात्राको अनुभूति’ र ‘सुर्खेतदेखि दिल्लीसम्म’ शीर्षकका रचना अलि फरक पृष्ठभूमिमा रचना भएको पाइन्छ । छुट्टै र विशेष महत्त्व भए पनि बृहद् शान्ति सम्झौतापछिका यी रचना यो पुस्तकको शीर्षकसँग पनि त्यति मेल खाएको देखिन्न ।
निष्कर्षमा जुनीदेखि पिलीसम्म यात्रा संस्मरण काल्पनिक कथ्य होइन । यो लेखकले जीवन्त रूपमा भोगेका वास्तविकता सहितका अनुभूतिहरूको सँगालो हो भन्न कन्जुस्याइँ गर्नुपर्दैन । लेखक आफैँ जोखिमपूर्ण जीवनका भोक्ता हुन्, त्यसैले उनको कृतिको महत्त्वलाई पुष्टि गर्न साक्ष्य सिर्जना गर्न कनीकुथी गर्नुपर्ने छैन ।
दीपेन्द्र शर्मा एक इमानदार र कुशल युद्ध पत्रकार पनि हुन् । उनका रचनाले नै उनी को हुन् भन्ने बारेमा स्पष्ट पारेका छन् । दुर्गम गाउँठाउँको सामान्य परिवार र परिवेशमा जन्मे–हुर्केको पात्र कसरी युद्ध पत्रकारसम्म बन्छ र अहिले पनि आफ्नो निष्ठा र आस्थामा उत्तिकै प्रतिबद्ध छ भन्ने विषयमा प्रश्न नहोला ।
नाम र शीर्षकसँग पुस्तकको आवरण र कलात्मक संयोजन मिलेको छ । लेखकको बाध्यता हो कि के हो शुभकामना र मन्तव्यको भारीभरकमले रचनाको मूल्यलाई ओझेलमा पार्न खोजेको देखिन्छ । एउटा लेखकको राजनीतिक वा सांगठनिक आबद्धता हुन सक्छ, हुनुपर्छ । तर त्यो बोझिलो हुनुहुन्न । नियात्रा वा संस्मरण नितान्त निजत्व प्रधान हुन् । त्यस्तो विधा वा रचनामा मन्तव्य र शुभकामनाका चाङ थोपर्दा निजत्व पुरिने खतरा देखिन्छ ।
हरेक लेखकका सीमालाई स्विकार्नुपर्छ । लेखकका जीवन्त भोगाइका जीवन्त अनुभूतिको मूल मर्मलाई कलात्मक परिष्कार गरेको भए सुनमा सुगन्ध हुने थियो । भाषिक र व्याकरणका हिसाबले जति परिष्कृत हुनुपर्ने थियो, त्यतापट्टि त्यति ध्यान नपुगेको देखिन्छ । पुस्तकमा प्रयोग गरिएको कागज स्तरीय भएकाले मूल्य त्यति साह्रै बढी होइन । तर पाठकको क्रयशक्तिलाई विचार गरेर मूल्य निर्धारण गरेको भए अझ राम्रो हुने थियो । परिशिष्टमा राखिएका फोटाहरू सम्बन्धित रचनापृष्ठमा समावेश गरेको भए अझ राम्रो हुने थियो ।
सामाजिक परिवेश र चित्र तथा चरित्रहरूको मनोदशाको विश्लेषणलाई हेर्दा साहित्यिक र सौन्दर्यात्मक चेतनाको कसीमा दीपेन्द्र शर्माकृत जुनीदेखि पिलीसम्म (युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूति) कृतिलाई एउटा राम्रो रचना मान्न सकिन्छ । मानिसहरू धार्मिक, सांस्कृतिक, प्राकृतिक, मनोरञ्जनलगायत विविध उद्देश्य लिएर विविध विषयमा आनन्द लिन निस्कन्छन् । र, तिनै विषयमा केन्द्रित रहेर सस्मरण लेख्ने प्रचलन बढ्दो छ । दीपेन्द्र शर्माले त्योभन्दा पृथक् परिवेश र विषयवस्तुलाई संस्मरणको केन्द्र बनाएका छन् । वस्तुतः रचना पठनीय र सङ्ग्रहणीय छ ।
पुस्तक : जुनीदेखि पिलीसम्म
लेखक : दीपेन्द्र शर्मा
मूल्य रु : ३५०/– (व्यक्तिगत), ५००/– (संस्थागत)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी