२०८१ साल : कूटनीतिक क्षेत्रमा उतार–चढावको वर्ष

काठमाडौँ । २०८१ नेपालका लागि अन्तर्राष्ट्रिय सम्बन्ध सुखद रहेन । खासगरी छिमेकी मुलुक भारतसँग नेपालको सम्बन्ध सुधार आउन सकेको छैन ।
नेपालको तर्फबाट छिमेकीसहित विभिन्न मुलुकसँग सम्बन्ध सुधार गर्ने प्रयास नभएको होइन, सरकारको तर्फबाट विभिन्न प्रयास भए । दलहरूबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि प्रयास भएको देखिन्छ ।
जेठ ११ गते नेकपा एमालेको विदेश विभागले ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
२०८१ सालमा विभिन्न मुलुकमा द्विपक्षीय भ्रमण भएका छन् । नेपालका विभिन्न दलका नेता–सांसदसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले चीन भ्रमण गरे । चीनबाट पनि बेलाबेलामा उच्चस्तरीय भ्रमण भएका छन् । यस्तै, भारत र नेपालबिच पनि भ्रमण आदान–प्रदान भएका छन् ।
सरकारीस्तरमा अमेरिकाको भ्रमण भने निकै कम भएको छ । यद्यपि अमेरिकाबाट विभिन्न उच्चस्तरीय सरकारी भ्रमण भएका छन् ।
अमेरिकाका विदेश राज्यमन्त्रीदेखि लिएर विभिन्न नियोगमा प्रमुखहरूले २०८१ मा नेपालको भ्रमण गरेका छन् ।
नेपाल र भारतबिच विभिन्न संयन्त्रको नियमित बैठकमा भाग लिन एक अर्काको देशमा भ्रमण हुनबाहेक मैत्रीपूर्ण भ्रमण भने यो वर्ष निकै कम भएको पाइन्छ । गत जेठमा भारतमा सम्पन्न चुनावको बारेमा जानकारी गराउन भारतले विभिन्न १० वटा देशका राजनीतिक दलका नेताहरूलाई वैशाख १९ गते भारत बोलाएको थियो । ती १० देशको सूचीमा नेपाल पनि परेको थियो ।
त्यतिमात्र होइन, भारतको लोकसभा चुनाव सम्पन्न भएपछि नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिए । भारतको प्रधानमन्त्रीका रूपमा मोदीले तेस्रो कार्यकाल आरम्भ गर्ने क्रममा आयोजित शपथ ग्रहण समारोहमा समेत प्रचण्ड सहभागी भए ।
२०८१ मै नेपालमा सरकार परिवर्तन भयो । प्रचण्डपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले ९ महिनासम्म पनि भारत भ्रमण गरेका छैनन् । ओली प्रधानमन्त्री भएको करिब एक महिनापछि अर्थात् साउन २७ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपालको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने धेरैको अपेक्षा थियो । यद्यपि, ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएनन् । बरु ओलीले नै मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए ।
२०८१ मा भारतीय विदेश सचिवको भ्रमणबाहेक भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण भएन । नियमित बैठकहरूमा भाग लिन आउनुबाहेक अन्य मैत्रीपूर्ण भ्रमणहरू भारतबाट बन्द भयो । बरु भारतले नेपालबाट बेलाबेलामा राजनीतिक दलका नेता तथा सांसदलाई भारत भ्रमणमा निम्त्याएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिए पनि मोदी आएनन्, न त उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाए । यद्यपि चैत २२ गते थाइल्याण्डमा प्रधानमन्त्री ओली र मोदीबिच भएको भेटवार्तापछि दुई देशको बिचमा चाँडै उच्चस्तरीय भ्रमण हुने चर्चा सुरु भएको छ ।
छैटौँ बिमस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्याण्ड गएका थिए । सम्मेलन सकिएपछि मोदी र ओलीबिच एक्लाएक्लै भेटवार्ता भयो । त्यो भेटवार्ता फलदायी भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
२०८२ जेठमा हुने सगरमाथा संवादमा भारतका प्रधानमन्त्री मोदीलाई मुख्य अतिथि मोदीलाई बनाउने सरकारको तयारी थियो । थाइल्याण्डमा प्रधानमन्त्री ओलीसँगको भेटघाटमा मोदीले सो संवादमा नआउने स्पष्ट पारिसकेका छन् ।
दुई देशको बिचमा उच्चस्तरीय भ्रमण नहुनुले आपसी सम्बन्ध चिसिएको प्रस्ट हुन्छ । चुच्चे नक्सा र बीआरआई सम्बन्धी सम्झौताका कारण भारतले चित्त दुखाएको विदेश मामिलाका जानकारहरूको विश्लेषण छ ।
फागुनको पहिलो साता भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युले नेपाल–भारतको सम्बन्धमा झन् असर पर्ने आकलन भएको थियो तर दुवै देशले त्यो घटनालाई बडो गम्भीरताका साथ सम्बोधन गरे । खासगरी भारतले यो घटनाका कारण दुई देशको सम्बन्धमा असर नपरोस् भनेर तुरुन्त ‘एक्सन’ लिएको थियो ।
उक्त घटनापछि प्रधानमन्त्री ओलीले गरेको एउटा ट्वीटका कारण भारतले गम्भीरतापूर्वक उक्त घटनाबारे छानबिन गरी स्थितिलाई साम्य पारेको थियो ।
- नेपाल–चीन सम्बन्ध
भारत भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा गए । सो भ्रमणका क्रममा उनले बीआरआई सम्बन्धी सम्झौता गरेका थिए । त्यसपछि भारत र नेपालबिच झन् दुरी बढ्यो । अर्कोतिर बीआरआईका सम्बन्धमा लामो समयसम्म रहँदै आएको अन्योल हटेकोमा चीन भने खुसी देखिन्छ ।
योसँगै बीआरआई सम्बन्धी काम नेपालमा सुरु भएको छ । बहुप्रतिक्षित अन्तर्राष्ट्रिय परियोजना कार्यान्वयनमा आएपछि प्रधानमन्त्री ओलीले त्यसलाई धेरै ठुलो उपलब्धिका रूपमा लिएका छन् ।
चीनले त्यसको कार्यान्वयन अगाडि बढाउन विभिन्न अध्ययन टोली नेपाल पठाइरहेको छ । चीनबाट विभिन्न सेक्टरका व्यक्तिहरू आएर विकास निर्माणका कामहरूको अध्ययन गरिरहेका छन् । बीआरआईको काम ठिक ढंगले अगाडि बढ्यो भने नेपालको विकास निर्माणमा ठुलो फट्को मार्ने सरकारको विश्वास छ ।
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा बसेको थियो । चीन र नेपालबिच रहेको परम्परागत १४ वटा सीमा खुला गरिएको छ ।
नेपालले गत वैशाख १६ गते लगानी सम्मेलन आयोजना गरेको थियो, जसमा ५५ देशका लगानीकर्ता उपस्थित थिए । त्यसैगरी चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।
- नेपाल–अमेरिका सम्बन्ध
प्रधानमन्त्री ओली असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका गए । यस क्रममा पनि ओली र मोदीबिच भेट हुन्छ कि हुँदैन भन्नेमै धेरैको चासो थियो ।
नेपालका सञ्चारमाध्यमहरूले पनि राष्ट्र संघको महासभाभन्दा ओली–मोदी भेटको विषयलाई नै प्राथमिकता दिएका थिए । अनेक प्रयासपछि मोदी र ओलीबिच अमेरिकामा सामूहिक भेट भयो । अमेरिकामा भएको सो भेटपछि नेपाल र भारतबिचको सम्बन्धमा सुधार आउने धेरैले अपेक्षा गरेका थिए ।
राष्ट्र संघको महासभामा नेपालको तर्फबाट राखिएको विषय पनि महत्त्वपूर्ण रह्यो । इजरायल–हमास युद्धमा बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले कूटनीतिक पहल गरेका थिए ।
केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि अमेरिकाका उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल भ्रमणमा आएका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओलीदेखि लिएर विभिन्न नेतासँग भेटवार्ता गरेका थिए ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि युएसएडका कार्यक्रम बन्द भयो । फागुनमा एमसीसीका कार्यक्रमसमेत बन्द गरियो । अमेरिकाले एमसीसीको भुक्तानी नै रोकिदियो ।
नेपालको विभिन्न क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई ट्रम्पले ‘फ्रड’ भने । सबै कार्यक्रम स्थगित गराए । यसले नेपालको अर्थतन्त्रमा ठुलो धक्का लाग्यो । अमेरिकाको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रम रोकिए ।
यहाँसम्म कि, अमेरिकामा अनियमित तरिकाले बसेका नेपालीलाई अमेरिकी सरकारले नेपाल फर्काइदियो ।
अमेरिका भ्रमणको क्रममा परराष्ट्रमन्त्री आरजुले दुई पक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी गरिन् । नेपालले त्यसलाई पनि २०८१ को मुख्य उपलब्धिका रूपमा लिएको छ ।
- उच्चस्तरीय भ्रमण
कतारका राजा तमिम बिन हमाद अलथानी दुई दिने भ्रमणका लागि गत वैशाख १२ गते नेपाल आएका थिए । त्यसलाई नेपालले निकै ठुलो उपलब्धिको रूपमा लिएको थियो । उनी आएको दिन नेपालमा सार्वजनिक बिदा दिइएको थियो । नेपालमा कतारी राजाको त्यो पहिलो भ्रमण थियो । वैदेशिक रोजगारीको क्षेत्रलगायत विभिन्न आर्थिक विकासको क्षेत्रमा भ्रमणलाई निकै उपलब्धिको रूपमा लिइयो ।
भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकले पनि मंसिर २१ नेपालको भ्रमण गरे । भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गरेका थिए । राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेका थिए । यद्यपि उनको यो भ्रमणमा कुनै भेटघाट भएन । त्यसबाहेक अन्य राष्ट्र प्रमुखहरूको नेपाल भ्रमण हुन सकेन ।
गत अगस्तमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पनि नेपालको भ्रमण गरेका थिए । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा जेठ ९ गतेदेखि अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको थियो ।
- आरजुको भारत भ्रमण
२०८१ मा सबैभन्दा बढी चर्चाको विषय बन्यो परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण । भदौ २ गते भारत भ्रमणमा गएकी आरजुलाई त्यहाँ राजकीय सम्मान दिइएको थियो । प्रधानमन्त्री मोदीदेखि लिएर विदेशमन्त्री एस जशंकरसम्मका उच्चस्तरीय व्यक्तित्वसँग उनको भेटवार्ता भएको थियो ।
परराष्ट्रमन्त्रीलाई भारतले दिएको यो खालको सम्मान सायद पहिलो थियो । त्यही भएर नेपालमा त्यसको निकै चर्चा भएको थियो तर त्यसलगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमण र उनले दिएका अभिव्यक्तिले गर्दा भारत चिढिएको बताइन्छ ।
त्यसपछि परराष्ट्रमन्त्री आरजु तीन पटक भारत भ्रमणमा गइन् तर पहिलाजस्तो ‘रेस्पोन्स’ उनले पाइनन् । फागुनको अन्तिममा गरेको साताव्यापी भारत भ्रमणको क्रममा भारतीय समकक्षीसँग उनको भेटवार्ता भएको थियो । त्यसपछि रायसिना डायलग कार्यक्रममा भाग लिन गएको बेला विभिन्न देशका विदेशमन्त्रीसँग आरजुको भेटघाट भएको थियो ।
यसका बाबजुद भारतसँगको सम्बन्ध सुधार हुन सकेन । यहाँसम्म कि, कुम्भ मेलाको अवसरमा उत्तरप्रदेशमा आयोजना भएको समिटमा भाग लिन जानका लागि कांग्रेस सभापति शेरबहादुर देउवा तयार थिए तर त्यहाँ उच्चस्तरीय भेटघाट नहुने भएपछि अन्तिम समयमा आएर देउवाले भ्रमण रद्द गरेका थिए ।
त्यस्तै, गणेशमान सिंह प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा भाजपाका नेता भगतसिंह कोसियारी आउने भनिए पनि अन्तिममा उनी आएनन् ।
परराष्ट्रमन्त्री आरजु महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी क्यानाडा पुगेकी थिइन् । त्यहाँ उनले उच्चस्तरीय भेटघाट गरेकी थिइन् । नेपालमा क्यानडाको दूतावास स्थापना गर्ने विषयमा उनले प्रस्ताव राखेकी थिइन् ।
त्यस्तै आठौँ इन्डियन ओसन कन्फ्रेन्समा भाग लिन उनी फागुन १ गते ओमन पुगेकी थिइन् । त्यहाँ पनि भारतका विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय भेटवार्ता भएको थियो ।
गत अक्टोबरमा एसिया कोअपरेशन डायलगलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री आरजुले कतारको भ्रमण गरिन् । उनी त्यहाँ गएको बेला विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी सरकारलाई आग्रह गरेकी थिइन् । पछि फागुन ४ गते ओमान गएको बेला परराष्ट्रमन्त्री आरजुले त्यहाँका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग भेट गरेर जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
गत माघ १ गते परराष्ट्रमन्त्री आरजुले कतारका विदेशमन्त्री राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफी र इजारायली विदेशमन्त्री गिडियन सारसँग फोन वार्ता गरेर जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
जोशीको रिहाइका लागि माघ ७ गते इजिप्टका विदेशमन्त्री र २७ गते इरानका विदेशमन्त्रीसँग समेत परराष्ट्रमन्त्री आरजुले फोनवार्ता गरेकी थिइन् । यद्यपि अहिलेसम्म जोशी रिहा भएका छैनन् । इजराइल र हमासबिच युद्धविराम भएपछि थुप्रै बन्दीलाई दुवै पक्षले रिहा गरेका छन् । जोशीको अवस्था भने अझै प्रस्ट हुन सकेको छैन । उनलाई हमासले बन्धक बनाएर राखेको नेपालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )