२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष

काठमाडौंँ । वर्ष २०८१ नेपाली फिल्मका लागि निकै लाभदायक रह्यो । यो वर्ष रिलिज भएका धेरै फिल्मले निर्मातालाई खुसी मात्र तुल्याएनन्, व्यवसायमा रेकर्ड ब्रेक गर्नेसम्म काम गर्यो ।
वर्षभरि रिलिज फिल्मका बक्सअफिस हेर्ने हो कमाउनेभन्दा डुबाउने धेरै देखिएलान् । तर विगत वर्षका तुलनामा यो वर्ष फिल्मकर्मीसँगै लगानीकर्ताहरूमा पनि उत्साह छायो ।
यो वर्ष एउटै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले हलबाट मात्र ४६ करोडभन्दा माथिको ग्रस कलेक्सन गर्दै इतिहासमै धेरै कमाउने नेपाली फिल्मको रूपमा आफूलाई उभ्यायो । यसले विश्व बजारमा नेपाली फिल्म पनि ‘कम छैन’ भन्ने पुष्टि गर्यो । फिल्म निर्माणमा आउनेहरूलाई आकर्षित गर्ने काम पनि गर्यो ।
छायांकनमा रहेको फिल्म ‘परान’मा देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र ‘प्रिज्मा एड्भरटाजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालि देखिनु ‘पूर्ण बहादुरको सारङ्गी’कै देन मान्न सकिन्छ ।
यही शुक्रबारबाट प्रदर्शनमा आएको ‘कर्मा’ र ‘पिताम्बर’सहित यो वर्ष नयाँ ६१ र एक पुरानो ‘आचार्य’ गरी ६२ नेपाली फिल्म हलमा रिलिज भए ।
गत वर्ष ५३ फिल्म रिलिज हुँदा ६ फिल्म सफल र ४७ असफल थिए । यो वर्ष रिलिज ६१ मध्ये १३ फिल्म सफल देखिए ।
सफल फिल्ममा एक ब्लकबस्टर हुँदा, तीन सुपरहिट, चार हिट र पाँच वटाले जेनतेन लगानी सुरक्षित गरे । ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ रह्यो भने तीन वटा सुपरहिट फिल्महरूमा क्रमशः ‘बोक्सीको घर’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ हुन् ।
‘घर ज्वाइँ’, ‘पुजार सार्की’, ‘अञ्जिला’, ‘खुस्मा’ हिट फिल्ममा दरिए भने ‘मनसरा’, ‘फर्की फर्की’, ‘गाउँ आएको बाटो’, ‘होस्टल ३’ र ‘लाजशरणम्’ लगानी सुरक्षित गर्नेमा परे ।
यो वर्ष फिल्मको व्यवसायमा गत असारमा गएको बाढीबाहिरोबाहेक कुनै पनि घटनाले खासै प्रभाव पारेको देखिएन । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज समयबाहेक विदेशी फिल्मको प्रभाव पनि रहेन ।
तर निर्माता–निर्माताबिच इगो, कलाकारबिच असमझदारी निर्माता र वितरकबिच भने पुरानै समस्या देखिए । त्यसो त सिंगल आएका केही फिल्मले पनि दर्शक रिझाउन सकेनन् । न त निर्माता जोगाउन नै सके ।
- बक्स अफिसमा छलाङ
गत वर्षभन्दा यो वर्ष बक्स अफिस निकै चलायमान रह्यो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्ष नेपाली फिल्महरूको कमाइ पौने २ अर्ब पुगेको छ । यो वर्ष एउटै फिल्मले करिब आधा अर्ब कमाइ गर्न सफल रह्यो ।
वर्षभरि प्रदर्शनमा आएका फिल्महरूको कमाइको करिब एक चौथाइ आम्दानी ‘पूर्णबहादुरको सारङ्गी’ एक्लैले गर्न सफल भयो । जुन नेपाली सिने इतिहासमा कीर्तिमान हो ।
यो वर्ष आएका ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ र ‘बोक्सीको घर’ले पनि राम्रो व्यवसाय गर्यो । विराज भट्ट निर्देशित ‘१२ गाउँ’ले करिब २० करोड, दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ले १५ करोड बढी कमाउँदा सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ले पनि १० करोड बढी व्यापार गरेको देखियो । ‘घर ज्वाइँ’, ‘पुजार सार्की’, ‘अञ्जिला’, ‘खुस्मा’ले पनि राम्रो आम्दानी गरे ।
राम्रो कुरो के भने, यो वर्ष धेरै फिल्मले व्यवसायमा तीन–चार करोडको आँकडा पुर्याएको देखियो । हलमा दुई–चार करोड कमाए डिजिटल राइट, विदेश प्रदर्शनलगायतबाट लगानी सुरक्षित हुने मानिन्छ । यो वर्ष त्यसरी लगानी सुरक्षित गर्ने फिल्म धेरै भए ।
- स्टार जिरो, कथा हिरो
फिल्म मेकरले स्टार पछ्याउने पुरानै समस्या हो । स्टारका लागि वर्षौँ कुर्नु र ४०/५० लाख पारिश्रमिक तिर्नु सामान्य मान्नुपर्छ । तर यो वर्ष स्टार पछ्याउनेले भन्दा कथा बलियो खोज्नेले सफलता हात पारे । अर्थात् स्टारभन्दा कथा हिरो भएको वर्षको रूपमा २०८१ साल दरियो । कथा हिरो भएका फिल्मबाट स्टार उदय भए । जसको उदाहरणका रूपमा ‘पूर्णबहादुरको सारङ्गी’लाई लिन सकिन्छ । त्यस्तै ‘बोक्सीका घर’, ‘पुजार सार्की’, ‘मनसरा’, ‘घर ज्वाइँ’ पनि कथाकै कारण दर्शक हलसम्म पुगे । हिरोमा डेब्यु विजय बराल र ‘१२ गाउँ’बाट समीर भट्ट उदाए । अहिले दुवैको हातमा फिल्मका चाङ छन् ।
कथाकै कारण डेब्यु कलाकार स्टार मात्र होइन, डेब्यु निर्देशकसमेत सफल देखिए । ‘पूर्णबहादुरको सारङ्गी’बाट सरोज पौडेल र ‘बोक्सीको घर’बाट सुलक्षण भारती सफल निर्देशक ठहरिए ।
यो वर्ष अनमोल केसी, पल शाह, सौगात मल्ल, पूजा शर्मा, आँचल शर्मालगायत थुप्रै स्टारका फिल्म आए । तर उनीहरूकै कारण फिल्म चलेन । पलको ‘रावायण’, पूजाको ‘दान्भी’, आँचलको ‘दुखी आत्मा’, सौगातको ‘बमबहादुर’ असफल ठहरिए ।
अर्का स्टार प्रदीपको पनि ‘एक्टर टेक वान्’ फ्लपसावित भयो । एक्सन फिल्म ‘आउट लः दफा २१९’बाट कमब्याक गरेका सुशील श्रेष्ठ, ‘रेसम फिलिली’को ब्रान्ड क्यास गर्दै ‘फेरि रेशम फिलिली’सहित आएका विनयसमेत सफल हुन सकेनन् । ‘पूर्णबहादुरको सारंगी’, ‘१२ गाउँँ’ले स्टार राखेर फिल्म चल्छ भन्ने मानक नै भत्काइदियो ।
- बजार नपाए पनि चर्चा
यो वर्ष केही फिल्म यस्ता पनि आए, जसले बजार नपाए पनि चर्चा भने बटुले । जसमा ‘सतीदेवी’, ‘आँखा’, ‘सानोसंसार’, ‘सम्बाला’ ‘दुखी आत्मा’, ‘द्रौपदी’लगायत छन् । बक्स अफिसमा असफल यी फिल्म कन्टेन्टका हिसाबले चर्चामा रहे । फिल्मले बजार नपाउनुको कारण रिलिज मिति, मार्केटिङ र स्टार कलाकारको उपस्थिति मानियो ।
‘सतीदेवी’ले नारीको कथा उठाएको कारण प्रशंसा पायो भने ‘सानोसंसार’ले पारिवारिक कथा उत्कृष्ट तवरबाट पस्किन सक्यो । ‘साम्बाला’को हिमाली भेटको कथा र ‘द्रौपदी’ले बहुपतिको कथाको कारण प्रशंसा पाए । ‘दुखी आत्मा’ले उठाएको यौन शिक्षाका कथासमेत तारिफ भयो । यी फिल्मको सफलताले कन्टेन्ट मात्र होइन, रिलिज मिति र स्टारले पनि फिल्ममा महत्त्व राख्छ भनेर बुझायो । किन भने ‘सतीदेवी’, ‘सानो संसार’ स्टार कलाकार अभावका कारण बजारमा बिक्न सकेन ।
- हट्यो हिन्दीको डर
निर्माता, निर्देशक वर्षाैँदेखि एउटा डर छ– कतै आफ्नो फिल्म रिलिजमा हिन्दी त आउँदै छैन ।
त्यसैले पहिले नेपाली मेकरहरूले हिन्दी फिल्मको रिलिज क्यालेन्डर हेर्ने गर्छन् । अनि मात्र आफ्नो फिल्मको रिलिज मिति तोक्छन् । तर यो वर्ष फिल्मकर्मीमा त्यो डर भने हटेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’लगायत फिल्मले हिन्दी फिल्मलाई माथ दिए । रिलिजको एक दुई सुस्त गतिमा कमाइ गरिरहेको फिल्मले त्यसपछि आक्रामक व्यापार गर्यो । यसै फिल्मसँगै ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ जस्ता स्टार कलकार अभिनीत हिन्दी फिल्म प्रदर्शनमा आएका थिए । तर ‘पूर्णबहादुरको सारङ्गी’ रोकिएन । ‘सिंघम अगेन’ले नेपालबाट चार करोड ९६ लाख र ‘भूल भुलैया ३’ले चार करोड ७२ लाख कमाएका थिए ।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा यो वर्ष रिलिज भएका विदेशी फिल्ममा धेरै व्यवसाय गर्ने हिन्दी फिल्म ‘पुष्पा २’ हो । फिल्मले नेपाली बक्स अफिसमा २६ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्स गरेको देखिन्छ । नेपालीमा यो वर्ष धेरै व्यवसाय गर्ने ‘पूर्णबहादुरको सारङ्गी’ले झण्डै यसको दोब्बर कमायो ।
असोज महिनामा रिलिज हिन्दी फिल्म ‘देवरा’ र ‘जिग्रा’ले दर्शक नपाउँदा त्यही महिना रिलिज भएका नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ले त्योभन्दा बढी दर्शक पाएको थियो ।
नेपाली बक्स अफिसमा ‘देवरा’ र ‘जिग्रा’ले क्रमशः एक करोड ९७ लाख र ९० लाख कमाउँदा ‘बेहुली फ्रम मेघौली’ले तीन करोड ५४ लाख उठायो ।
- फर्किए फिल्मी संगीतका दिन
केही अघिसम्म अघिसम्म नेपाली फिल्ममा गीतसंगीत प्राथमिकतामा पर्थे । चार–पाँच वटा गीत नराखी फिल्म बन्दैन थिए । यसले फिल्ममा पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्थ्यो । पछिल्लो समय भने गीतसंगीत ‘छ’ भन्नका लागि मात्र राख्ने गरिएको थियो ।
तर यो वर्ष रिलिज भएका फिल्मका गीतसंगीतले राम्रै चर्चा बटुले । फिल्म व्यापारमा पनि ठाउँ लियो । यो वर्ष चलेको ‘बोक्सीको घर’ले व्यवसाय गर्नुमा उक्त फिल्मको गीत ‘फूल जस्ती रे’ लाई जान्छ । सुनसान रहेको फिल्मको प्रमोसनमा जब यो गीत बन्यो । गीत हेर्नका लागि भए पनि दर्शक दर्शकसम्म आए ।
त्यस्तै ‘खुस्मा’को ‘रुकुम मैकोट’ र ‘छक्का पन्जा ५’को ‘ब्रेकअप’ गीतले फिल्मलाई राम्रो सघायो । ठुलो पर्दामा गीत हेर्ने चाहानाले पनि दर्शकले टिकट काटे ।
वर्षभरि धेरै कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सफलतामा पनि गीतको योगदान नकार्न सकिँदैन । फिल्मको ‘काँधे कुरी’ र ‘रैँया चाँदीको’ गीत भाइरल बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक