सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

जयपुरमा सिजनको पहिलो खेल, राजस्थानलाई उसैको घरमा बेंगलुरुको चुनौती

आइतबार, ३१ चैत २०८१, ०९ : ३५
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । 

जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो २८औँ खेल हो । आईपीएलको इतिहासमा राजस्थानले एकपटक उपाधि चुमेको छ भने बेंगलुरुले हालसम्म उपाधि जित्न सकेको छैन । 

राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणकै उपाधि जितेको थियो । त्यतिबेला राजस्थानले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । त्यसयता, राजस्थान एकपटक फाइनलमा पुगेको छ । राजस्थान सन् २०२२ को फाइनलमा गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।

अर्कोतिर, बेंगलुरुले आईपीएलमा सधैँ उत्कृष्ट प्रदर्शन गर्दै आए पनि हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । 

त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

दुबै टोलीको छैटौँ खेल 

आईपीएलको १८औँ संस्करणमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु दुवैले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । राजस्थानभन्दा बेंगलुरुको प्रदर्शन केही गतिलो देखिन्छ । अंक तालिकामा पनि राजस्थानभन्दा बेंगलुरु अगाडि छ । यी दुबै टोली आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए ।

बेंगलुरुले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । राजस्थानले भने पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । राजस्थान चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

हेड टु हेडमा बेंगलुरु अगाडि

आईपीएलमा हालसम्म राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच कुल ३२ खेल खेलिएको छ । त्यसमा राजस्थानभन्दा बेंगलुरु केही बलियो देखिन्छ । बेंगलुरुले १५ र राजस्थानले १४ खेलमा जित हात पारेका छन् । 

rcb

तीन खेल भने अनिर्णीत रूपमा सकिएको छ । जयपुरमा भने यी दुई टोलीबिच हालसम्म कुल नौ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा बेंगलुरुले राजस्थानलाई हराएको छ । राजस्थानले भने चार खेलमा जित हात पारेको छ । 

राजस्थानका लागि सर्वाधिक विकेट लिने हसरंगा

जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान सन्जु सामसन हुन् । उनले पाँच खेलमा कुल एक सय ७८ रन बनाएका छन् । उनले एक अर्धशतक पनि बनाएका छन् । 

hasranga

राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर भने वानिन्दु हसरंगा हुन् । उनले तीन खेलमा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए । 

बेंगलुरुको सर्वाधिक रन रजत–कोहलीको नाममा

virat-rajat-patidar

आईपीएलको जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली र कप्तान रजत पाटिदार हुन् । यी दुबै ब्याट्सम्यानले पाँच खेलमा कुल एक सय ८६ रन बनाएका छन् । 

कोहलीले मुम्बई इन्डियन्सविरुद्ध ६७ रन बनाएका थिए । उनले कोलकाता नाइट राइडर्सविरुद्ध पनि ५९ रन बनाएका थिए । रजतले मुम्बईविरुद्ध ६४ रन बनाएका थिए । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने भने जस हेजलउड हुन् । उनले पाँच खेलमा आठ विकेट लिइसकेका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच 

रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्सबिच आइतबारको खेल हुने सवाई मानसिंह स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा टी–२० क्रिकेटमा एक सय ८० देखि एक सय ९० रनसम्म बन्नु सामान्य हो । 

जारी सिजनको आईपीएलमा यो स्टेडियममा पहिलो खेल खेल्न लागिएको हो । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ५७ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २० र जवाफी ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेका छन् । 

छैन वर्षाको सम्भावना

रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्सबिच खेल हुने दिन आइतबार जयपुरमा वर्षाको कुनै सम्भावना नहरेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जयपुरको तापक्रम २५ देखि ३८ डिग्री सेल्सियको बिचमा रहने अनुमान गरिएको छ । 

सम्भावित टोली 

राजस्थान रोयल्स : सन्जु सामसन (कप्तान तथा विकेटकिपर), यशस्वी जैसवाल, नितिश राणा, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, शुभम दुबे, जोफ्रा आर्चर, महिश तिक्षणा, तुषार देशपाण्डे, सन्दीप शर्मा र वानिन्दु हसरंगा । 

रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पाडिकल, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), क्रुणाल पाण्ड्या, टिम डेभिड, भुवनेश्वर कुमार, जस हेजलउड, यश दयाल र सुयष शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप