गभारोले सुपारीका बोट रित्तै, उत्पादन र मूल्य दुवै घट्यो
_ShPAvV9v3x.jpg)
विराटनगर । मोरङको मिक्लाजुङ ८ का प्रेमबहादुर बरालको १ बिगाहा जग्गामा सुपारी खेती छ । सुपारीका बोटमा सधैँ लटरम्मै दाना हुन्थे । यसपालि भने गभाराले सुपारीको बोट रित्तै छन् ।
फलेका सुपारीका दाना पनि उनले टिप्ने वा विक्री गर्ने जाँगर देखाएका छैनन् । ‘एक त गभारा लागेर सुपारी फल्दै फलेन । फलेको सुपारीको भाउ पनि आधाभन्दा कमले घट्यो,’ उनले भने, ‘त्यसकारण ४० सालदेखि लगाएको सुपारीको बोट राखिराख्ने कि काटेर फाल्ने दुबिधामा छु ।’
उनका बुबाले भारतको आसामबाट बिरुवा ल्याएर सुपारी रोपेका थिए । त्यही सुपारीको बिउबाट बढाउँदै १ बिगाहा खेतमा सुपारी लगाइयो । नगदेबालीको रूपमा लिइने सुपारीले बराल परिवारलाई राम्रै आम्दानी दिइरहेको थियो । सधैँ १० टन सुपारी फलाउने उनको बारीमा यस पटक ५ टन पनि नपुग्ने सम्भावना छ । त्यसमाथि गत वर्ष ८० रुपैयाँ प्रतिकिलोमा विक्री भएको काँचो सुपारी यसपालि ४० रुपैयाँ प्रतिकिलोमा पनि व्यापारीले लैजाने इच्छा नदेखाएको बराल बताउँछन् ।
मिक्लाजुङको सोही वडा सयौँ किसानले सुपारी खेती लगाएका छन् । बरालको जस्तै कोशीका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानहरूले प्रशोधनको काम थालेका हुन् । तर, उत्पादित सुपारी कसरी बेच्ने भन्ने उनीहरूलाई चिन्ता छ ।
इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा व्यावसायिक सुपारी खेती छ । विगतमा किसानलाई सुपारी बिक्री गर्न कुनै समस्या थिएन । व्यापारीहरू किसानको खेतमै पुगेर सुपारी खरिद गर्दथे । तर यतिबेला किसानको खेतमा न्यून संख्यामा मात्र व्यापारीहरू पुग्ने गरेको किसानहरू बताउँछन् ।
सुपारी उत्पादक किसान संघका अनुसार कोशी प्रदेशको ४ हजार १११ हेक्टर क्षेत्रफलमा सुपारी खेती छ । गतवर्षको तथ्याङ्क अनुसार उक्त क्षेत्रफलमा १४ हजार ६१७ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । सुपारी उत्पादन विगत केही वर्षयता निरन्तर बढिरहेको छ भने चार पाँच वर्षयता सुपारी खेती विस्तार पनि भइरहेको छ ।
दुई वर्ष पछिदेखि उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान संघको छ । संघका अध्यक्ष नीलकण्ठ तिवारीका अनुसार दुई वर्षपछि सुपारी उत्पादन बढेर झन्डै २० हजार मेट्रिक टन पुग्ने अनुमान छ ।
नेपालले वार्षिक झन्डै ९ अर्ब रुपैयाँ बराबरको सुपारी निर्यात गरिरहेको छ । यो चियापछि निर्यात हुने दोस्रो ठुलो कृषि उत्पादन हो । यति ठुलो परिमाणमा निर्यात हुने उत्पादनको बिक्री ठप्प हुँदा किसानहरूमा अहिले चरम निराशा पैदा भएको छ भने राज्यले पनि ठुलो नोक्सानी व्यहोर्नु परिरहेको तिवारीको दाबी छ ।
भारततर्फ निकासी गर्न रोकिएको सुपारीको निर्यात खोल्न सुपारी उत्पादक किसान संघ, नेपालले निरन्तर प्रयत्न गरिरहेको जनाएको छ । सरकारका विभिन्न निकायहरूमा दुई दर्जनभन्दा बढी पत्राचारहरू गरेर निर्यात खुला गर्न दबाब दिइएको थियो । अध्यक्ष तिवारीले भने, ‘प्रधानमन्त्रीलाई मात्र तीन वटा, सभामुखलाई कम्तीमा १० वटा र सरकारका विभिन्न निकायमा १२ वटा पत्र बुझाएर पहल गर्यौँ तर कतैबाट काम भएन उल्टै यतिबेला सरकारले आयात खुला गर्ने निर्णय लियो ।’
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले २०७९ साउन १३ गते नेपालमा उत्पादित सुपारीको डिएनए (आनुवंशिक) परीक्षण गरेर मात्र निर्यात गर्न सरकारलाई निर्देशन दिएपछि सुपारीको निर्यात रोकिएको हो । त्यसका लागि सरकारले डिएनए परीक्षण गर्ने प्रक्रियाका लागि तयारी गर्नुपर्ने थियो । तर तीन वर्ष हुनलाग्दा समेत सरकारले डिएनए परीक्षणको कुनै प्रक्रिया अगाडि बढाएन ।
सरकारले निर्यात खोल्नेतर्फ कुनै निर्णय नगरी आयात खोल्ने निर्णय लिएपछि संघले असन्तुष्टि जनाएको छ तर, विरोधमा कुनै धारणा सार्वजनिक गरेको छैन । ‘हाम्रो सबै जाँगर मरेर आएको छ, दर्जनौँ पत्राचार, भेटघाट आदिबाट त कुनै उपलब्धि भएन, विज्ञप्तिको विरोधलाई कसले सुन्ला र ! त्यसैले चुपचाप बसेका छौँ,’ तिवारीले भने ।
नेपालमा उत्पादित सुपारीको मुख्य बजार भारत हो । तर विगत २ वर्षदेखि भारततर्फ सुपारी निर्यात भइरहेको छैन । नेपाल सरकारकै निर्णयका कारण नेपाली सुपारी भारततर्फ निर्यात हुन छाडेको हो । भारततर्फ सुपारी निर्यात बन्द हुँदा २०८० सालमा उत्पादन भएको सुपारी झन्डै आधाजति बिक्री भएको छैन, भने २०८१ सालमा फलेको सुपारी जस्ताको त्यस्तै छ । अब टिप्न लागेको सुपारी विक्री हुने नहुने टुङ्गो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने