सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम

आइतबार, ३१ चैत २०८१, ०८ : ०१
आइतबार, ३१ चैत २०८१

मकवानपुर । बागमती प्रदेश ‘विद्यालय नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न थालिएको हो ।

बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ देखि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । नागरिकमा सकारात्मक र प्रभावकारी बनाउने गरी प्रदेश सरकारले ६ वर्षअघि सुरु गरेको कार्यक्रम हाल प्रदेशका ६२ प्रतिशत विद्यालयमा विस्तार भएको छ ।

बागमती प्रदेशमा माध्यमिक तहका एक हजार ३६२ विद्यालय छन् । काठमाडौँमा १७९ माध्यमिक विद्यालय छन् । तीमध्ये १०८ वटामा यो कार्यक्रम लागु भइसकेको छ ।

रसुवामा १९ माध्यमिक विद्यालयमध्ये १८ वटामा एक नर्स एक विद्यालय कार्यक्रम लागु भएको छ । यस्तै दोलखामा ७२ प्रतिशत विद्यालयमा यो कार्यक्रम सुरु भइसकेको छ ।

कुन जिल्लामा कति छन् विद्यालय नर्स ?
tt

अभिभावकलाई पनि सेवा

विद्यालय नर्सले विद्यार्थीमात्र नभई विद्यार्थीका अभिभावकलाई समेत सेवा दिइरहेका छन् । यो कार्यक्रम लागु भएपछि विद्यार्थीहरूले विद्यालय छोड्ने तथा कक्षा छुटाउने समस्या निकै कम देखिएको छ ।

हेटौंडा–१७ की शीतल अमागाई हरेक दिन विद्यार्थीका स्वास्थ्यसँग सम्बन्धित समस्या समाधान गर्न व्यस्त हुन्छिन् । विद्यालयले उपलब्ध गराएको एउटा कोठामा २ वटा शय्याको व्यवस्था गरिएको छ ।

कोठाको भित्ताभरि स्वास्थ्य र विभिन्न रोगबाट बच्ने उपायका सचेतनामूलक पोष्टर टाँसिएका छन् । विद्यार्थीहरूको सामान्य स्वाथ्य सेवा, उपचार तथा परामर्श उनको दैनिकीको हिस्सा हो । करिब २ वर्षदेखि हेटौंडा—१८ स्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा नर्सका रूपमा काम गर्दै आएकी अमागाई समक्ष दैनिक विद्यार्थीहरू केही न केही समस्या बोकेर आउने गर्दछन् ।

नर्स अमागाईका अनुसार विगतमा सामान्य बिरामी हुँदा पनि विद्यार्थीलाई घर पठाइन्थ्यो तर, अहिले नर्सको कक्षमा पठाइन्छ । विद्यार्थीहरू विशेष गरी महिनावारी, ज्वरो, एलर्जी ग्याष्ट्रिक, पेट दुखाइ लगायतका समस्या बोकेर आउने गरेको उनले बताइन् ।

‘महिनावारीको समयमा पेट दुख्ने भएकाले छात्राहरू विगतमा विद्यालय छाडेर घर जाने गर्थे । अहिले त्यो अवस्था छैन । चोटपटक लगेमा वा स–साना समस्या भएमा विद्यालयमा विद्यार्थीहरू भेटिँदैन थिए तर अहिले विभिन्न स्वास्थ्य समस्याको समाधान विद्यालयमै हुन्छ,’ उनले भनिन् ।

विद्यार्थीलाई थप उपचार चाहिएमा नजिकैको स्वस्थ्य चौकीमा लैजाने गरेको उनले बताइन् । ‘महिनावारीका समयमा छात्राहरूका समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले प्याडको व्यवस्था गरिएको छ । उनीहरू आएर निर्धक्क भई नर्ससँग माग्ने गर्छन् । समस्या खुलेर बताउने गर्छन् ।’

नर्स अमागाई विद्यालयमा पोषण सम्बन्धी अभिमुखीकरण, सरसफाई कसरी गर्ने भनेर सिकाउने, समुदायमा गएर डेङ्गु रोगबाट बच्न सचेतना जस्ता अभ्यासको काम गरिरहेकी छन् । समय समयमा आइरन चक्की खुवाउने र खोपहरू पनि विद्यालय आफू खटिने गरेको उनको भनाइ छ । विद्यार्थीमात्र नभई शिक्षक तथा अभिभावकहरूले पनि स्वास्थ्य परीक्षण गराउने गरेका उनी सुनाउँछिन् ।

sital amgain

सो विद्यालयकी प्रधानाध्यापक मीना श्रेष्ठका अनुसार विद्यालयमा ३४० जना विद्यार्थी अध्यनरत छन् । विद्यालय नर्सको उपलब्धताले घाउचोट लाग्दा, बिरामी पर्दा विद्यार्थीलाई सेवा प्रवाह सहजता मिलेको उनले बताइन् । विद्यालयमा नर्स हुँदा अध्ययन अध्यापनमा अभिभावकको रुचि बढेको उनको भनाइ छ ।

‘विद्यार्थीले सिक्नु भनेको समाजले सिक्नु हो । सरसफाइ, असल खानपान र जीवनशैली जस्ता चेतनामूलक कार्यक्रम गरिएको छ,’ उनले भनिन्, ‘नर्स नहुँदा स्वास्थ्य समस्या परेका विद्यार्थीहरूलाई के गर्ने भन्ने थाहा हुँदैन । नर्स हुँदा ती समस्या झेल्नु परेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप