धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती देशभरका हनुमान मन्दिरमा पूजा, आराधना एवं पाठ गरी मनाइएको छ ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ ।
हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा पनि आजै सम्पन्न भएको छ । श्री हनुमान सेवा मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा पूजा आराधना गरेका छन् ।
हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको पौराणिक मान्यता छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।
रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रुपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रुपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।
स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भनी व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।
हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिएको थियो । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यो वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउँछन् । शनिबारमै जन्मजयन्ती परेकाले यसदिन हनुमानको आराधना उत्तम रहेको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ