आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
गृहजिल्लामा ओली

एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार

‘पार्टीका जनवर्गीय संगठनहरू कानमा लगाउने कुण्डल वा शिरमा लगाउने ताज होइन’
शनिबार, ३० चैत २०८१, १९ : ५३
शनिबार, ३० चैत २०८१

विराटनगर । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमाले कमजोर अवस्थामा देखिएको स्वीकार गरेका छन् ।

झापाको दमकस्थित पशुबजारमा एमालेले नै आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले विगतको संघर्षपूर्ण अवस्थाबाट आएको एमाले प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको स्वीकार गरेका हुन् । 

‘४८ पछिको निर्वाचनमा पहिलो पटक नै झापा जिल्ला लाल किल्ला भनेर नारा दिएको जिल्ला हो । मेची अञ्चल चार जिल्ला चारै जिल्ला लाल किल्ला भनेर नारा दिएको यो ठाउँ हो,’ अध्यक्ष ओलीले भने, ‘क्याम्पस र विद्यालय, विद्यालयमा स्ववियु गठन गर्दा २६, २७ सालमा हामी गिरफ्तार भएका हौँ । चुटाइ खाएर मुद्दा भोग्दा, जेलमा बस्दा, हिरासतमा बस्दा... हामीले कसैलाई पनि यस जिल्लामा चुनाव जित्न दिएनौँ । सम्भाव नै थिएन । त्यो ठाउँबाट आएको नेकपा एमाले आज अझै प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको छ ।’ 

२०७९ सालको निर्वाचनमा एमालेले तत्कालीन मेची अञ्चलका चार जिल्लाको ९ वटा संघीय निर्वाचन क्षेत्रमध्ये ७ वटामा जितेको थियो भने १८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ८ वटामा जित निकालेको थियो । सबै जित्नुपर्ने आशयसहित ओलीले यस्तो बताएका हुन् । 

उनले झापा जिल्ला एमालेको उद्गम थलो भएको र पुरानो सचेत जिल्ला भएको पनि बताए । अहिले एमाले कमजोर बन्नुको कारण गरेका कामको प्रचार नगर्नु नै प्रमुख भएको ओलीको तर्क थियो । ‘हामीले गरेका कामहरूको प्रचारक हामी आफैं हौं । नेकपा एमालेले गरेका राम्रा कामको प्रचार नेकपा एमाले आफैंले गर्नुपर्छ,’ ओलीले भने, ‘तर, आपसमा छासछुस हान्नका लागि फेसबुकको प्रयोग गर्ने । एसएमएसको प्रयोग गर्ने, टिकटकको प्रयोग गर्ने । तर, पार्टीको पक्षमा प्रचार गर्न, राम्रा काम, राम्रा विचार, राम्रा नीति र सफलताको प्रचार गर्न आफ्नो शक्ति, सामर्थ्य नलगाउने कुराले हामीलाई पछाडि पार्छ,’ उनले युवा विद्यार्थीलाई प्रचारमा सक्रिय हुन पनि आग्रह गरे। भने, ‘खासगरी हाम्रा साथीहरू, युवा साथीहरू तपाईंहरू सक्रिय हुनुपर्दछ ।’ 

ओलीले पार्टीका जनवर्गीय संगठनहरू कसैको ‘कानमा लगाउने कुण्डल वा शिरमा लगाउने ताज’ नभएको पनि बताए । एमाले प्रदेश समितिलाई आग्रह गर्दै ओलीले पार्टी संगठन चुस्त दुरुस्त बनाउन पनि आग्रह गरे । ‘प्रदेश एमालेलाई आग्रह गर्न चाहन्छु । आफ्ना कमिटीहरूलाई चुस्त दुरुस्त निर्माण गर्नुहोस् । सक्रिय रुपमा परिचालन गर्नुहोस् र अगाडि बढाउनु होस्,’ ओलीले भने, ‘आफ्ना जनवर्गीय संगठनहरू, कानमा लगाउने कुण्डल वा शिरमा लगाउने ताज होइन । कामको लागि हो । आन्दोलनको लागि हो ।’ 

उनले जनवर्गीय संगठन, सामुदायिक पेसागत संगनठलाई परिचालन गर्न पनि जोड दिए । ‘युवा विद्यार्थीहरू आन्तरिक खिचातानीजस्तो कुरामा युवा अवस्थामै फस्नुभयो भने के होला ? यस्ता कुरामा फस्नै हुँदैन,’ पार्टीभित्र देखिएको विवादप्रति इंगित गर्दै उनले भने, ‘अनुशासनको भावना, त्यागको भावनाको साथ अगाडि बढ्ने संकल्प लिनुपर्छ । युवा विद्यार्थीहरू त्यसरी अगाडि बढ्नुहोस् ।’ 

उनले एमालेले अहिले चलाइरहेको जरा अभियान पनि राम्रोसँगले नचलेको संकेत गरे । ‘अहिले जरा अभियान भनेका छौं हामीले । साँच्चै जरामा कति पुगेका छौं ? साँच्चै गरिबको बस्तीमा, व्यक्ति–व्यक्तिको घरमा र व्यक्तिव्यक्तिमा कति पुगेका छौं ?,’ प्रश्न गर्दै ओलीले भने, ‘त्यो कुरा हेर्नुपर्दछ । पुनः मूल्यांकन गर्न जरुरी छ । एउटा नयाँ उत्साहका साथ, नयाँ आत्मविश्वास, जोस, जाँगरका साथ अगाडि बढ्न जरुरी छ ।’ 

उनले एमालेले संकटको सामना गर्दै आएको पनि बताए । ‘कस्तो परिस्थिति थियो ? एमालेलाई सिध्याइदिन्छु । दिउँसै टर्च बालेर खोजे पनि एमाले भेटिने छैन । भनेर कति जोड गरे । केपी ओलीविनाको एमाले, एमालेविनाको नेपाल भन्ने नारा लगाए । कत्रा सपना तिनका ?,’ ७९ सालको निर्वाचनको स्मरण गर्दै उनले भने, ‘सिध्याउँछु भनेको एमाले अहिले पनि सबैभन्दा लोकप्रिय, सबैभन्दा बढी मत प्राप्त गरेको पार्टी हो । दुनियाँ मिलेर सिध्याउँछु भने एमाले झन् ठूलो भएर आयो ।’ 

कसैले ढ्याङ्ग्रो वा नाङ्लो ठटाउँदैमा एमाले नतर्सिने पनि उनले बताए । ‘एमाले हुरी बतास, घाम पानी, दमन चक्रहरूसँग भिडेर आएको पार्टी हो । कुनै माया दयाले, कृपाले किस्तीमा सजाएर सफलता दिएको पार्टी होइन । बलिदानपूर्ण संघर्ष गरेर सफलता खोसेर लिएको पार्टी हो । फेरि पनि यो त्यसैगरी अगाडि बढ्न सक्छ र बढ्नेछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप