कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्

वत्सगोपाल वैद्य नेपाली आधुनिक कलाका विशिष्ट प्रतिभा हुन् । अलग्ग प्रकारको आफ्नै कला शैली लिएर सन् १९७० ताका नेपाली कला जगतमा उदाएका वत्स विशेषतः तन्त्रका विम्बमा खेल्छन् ।
सन् ६० को दशकको शुभारम्भदेखि नेपाली कलामा आधुनिक कलाको लक्षण देखिन थालेका थियो । त्यसबखत उनी मुम्बईको ‘जे जे स्कुल अफ आर्ट’मा अध्ययरत थिए । बाल्यकालदेखि नै चित्र बनाउने गरे पनि कलाको औपचारिक ज्ञान लिएपछि कोरेको उनको पहिलो चित्र हो, ‘सपना’ । जुन चित्र उनले मुम्बईमा अध्ययनकै क्रममा कोरेका थिए, जसलाई ‘महाराष्ट्र स्टेट आर्ट एक्जिबिसन’मा प्रदर्शन गरिएको थियो ।
यो सन् १९६९ तिरको कुरा हो । यसलगत्तै अर्थात् २०२७ सालमा उनी नेपाल फर्के । फर्केकै वर्ष अर्थात् सन् १९७० मा उनको पहिलो कला प्रदर्शनी भयो । पहिलो कला प्रदर्शनीमै मंगल सिरिजमा चित्रहरू बनाएर उनले तान्त्रिक चित्रकलाको शुभारम्भ गरेका थिए । त्यतिबेला उनका चित्रमा देवी–देवता र तन्त्र–मन्त्र–यन्त्रका अवयव देखिएका थिए । त्यतिबेला किसिम–किसिमका टेक्निक प्रयोग गरिएका उनका प्रिन्ट मेकिङ कलाहरू पनि प्रदर्शन गरिएको थियो । विशेष गरी ‘कार्डबोर्ड कट’द्वारा ‘ह्वाइटम्यान पेपर’लाई इम्बोज गरेर नौलो प्रकारको प्रिन्ट मेकिङ कला उनले त्यसैबेला बनाएका थिए ।
यसबाहेक प्रिन्ट मेकिङका ‘लिनोकट’ लगायत अन्य टेक्निक पनि उनले त्यतिबेलै प्रयोग गरेका थिए । उनले त्यतिबेला कोलाज आर्ट (अर्को नयाँ टेक्निक) पनि गर्थे । यी र यस्ता कलागत प्रवृत्ति नेपाली कला क्षेत्रमा त्यसबखत राम्रो गरी देखिन सकेको थिएन । यस मानेमा पनि उनी त्यतिबेला अग्रपंक्तिमा उभिएका हुन् । उनले यस्ता कला शुभारम्भ मात्र गरेरनन्, निरन्तरता पनि कायम गरे । उनी भन्थे, ‘मेरा चित्रहरू तान्त्रिक हुन् कि होइनन् थाहा छैन तर मैले यन्त्र, मन्त्र, तन्त्र र धार्मिक गाथा, धर्मसम्बन्धी धेरै चित्र बनाएको छु ।’
सन् १९५० पछि नेपालबाट कलाकारहरू विधिवत् कला शिक्षा लिन भारतमा बढी जान थालेको देखिन्छ । पश्चिमी कला पद्धति; पश्चिमी कला दर्शन, शैली र प्रवृत्ति अध्ययन गर्न थालेपछि नेपालमा पनि आधुनिक कला सिर्जना तीव्र रूपमा बढेको थियो ।
उनले भनेका थिए— ‘कलाको खास तत्त्व हाम्रो धर्म–संस्कृति अनि तन्त्रसँग गाँसिएको हुन्छ । यस कारण मैले यस्ता तत्त्वलाई अपनाएँ । हाम्रो धर्म, संस्कृति र तन्त्रलाई जगेर्ना गर्न सकिएला कि भनेर पनि यस्ता विषयवस्तुलाई अपनाउने गर्छु । मेरा चित्रमा प्रशस्तै तन्त्रको प्रयोग भएको छ ।’
सन् ६० को दशकपछि त आधुनिक कलाका सबैजसो कला शैलीले नेपालमा प्रवेश पाइसकेको थियो । यसमा पनि अमूर्त कलाको विशेष धाक थियो । अर्थात् वत्सगोपालअघि अमूर्त कलाको ठुलो बोलबाला थियो । उनीभन्दा थोरै जेठा कलाकारहरू लैनसिंह वाङदेल, उर्मिला उपाध्याय, उत्तम नेपाली अनि लक्ष्मण श्रेष्ठ अमूर्त कलाका अनेकानेक प्रयोगमा व्यस्त थिए । अमूर्त कला यसबखत नेपालका लागि नितान्त नौलो कलागत प्रवृत्ति हुँदा पनि यसको चर्चा अलि बढी नै हुने गर्दथ्यो । रामानन्द जोशी, लक्ष्मण श्रेष्ठ र उर्मिला उपाध्याय वत्सगोपालअघि नै जे जे स्कुल अफ आर्टबाटै दीक्षित भएका थिए । लक्ष्मण र उर्मिलाले अमूर्ततालाई अपनाए भने रामानन्द जोशी अनि वत्सले तान्त्रिक कलालाई ।
वत्सले अमूर्त कलालाई पटक्कै छोएनन् । आकारलाई खेलाएर भाव र अभिव्यञ्जनालाई उनले आफ्नो कलामा पस्कन थाले । देवी–देवता उनको कलाको मूल विषय बन्यो । परम्परागत देवी–देवतालाई आधुनिक शैलीमा क्यानभासमा उतार्नु उनको विशेषता नै बन्यो । परम्परागत वा लोककला र आधुनिक कलालाई समिश्रण गरेर उनले कला गर्थे । उनका चित्रमा एक भागमा अर्ध–गोलाकार, अर्ध–चतुर्भुज, त्रिकोण आदि ज्यामितीय फर्ममा आउँछन् । उनका चित्रमा कतै न कतै लोककलाका मोटिफ पनि अलग्ग रूपमा हुने गर्छन् । सहज, सरल आफू खुसी दौडेकाजस्ता देखिने रेखाहरुले उनको चित्रमा सुगन्ध थपेको महसुस गराउँछ । अर्थका साथ प्रतीकात्मक विम्ब चित्रपटमा देखिँदा स्वभावतः तन्त्रको अनुभव हुन्छ । कलाको भाषामा यसलाई ‘डिस्ट्रोयड इन् रिकग्नाइज्ड फर्म’ भन्ने गरिन्छ ।
४० वर्षअगाडि उनीसँग मैले एउटा अन्तर्वार्ता लिएको रहेछु । त्यसबखत म साहित्यिक मासिक पत्रिका ‘गरिमा’मा कला स्तम्भकार थिएँ । अहिले मेरै पुस्तक ‘तुलिकाघात’मा उनको यो अन्तर्वार्ता सङ्कलित छ ।
त्यसबखत उनले भनेका थिए— ‘कलाको खास तत्त्व हाम्रो धर्म–संस्कृति अनि तन्त्रसँग गाँसिएको हुन्छ । यस कारण मैले यस्ता तत्त्वलाई अपनाएँ । हाम्रो धर्म, संस्कृति र तन्त्रलाई जगेर्ना गर्न सकिएला कि भनेर पनि यस्ता विषयवस्तुलाई अपनाउने गर्छु । मेरा चित्रमा प्रशस्तै तन्त्रको प्रयोग भएको छ ।’
उनले चित्रमा तन्त्रको वास्तविक रूपलाई नबिगारी प्रयोग गर्छन् । तथापि आधुनिक टेक्निक र माध्यमहरू भने उनले आफूलाई मन परेकै छान्छन् । कति ठाउँमा यस्ता चित्र दोहोरिएको जस्तो पनि देखिन्छ तर ती सबै अलग–अलग रहेको उनको भनाइ छ ।
मुम्बईबाट फर्कनेबित्तिकै उनलाई नेपालमा आधुनिक कलाले छलाङ मारेको र आधुनिक कलासँग हाम्रो आफ्नै परम्रागत कलाको तादात्म्यता नमिलेको जस्तो लागेको रहेछ । यसकारण उनले सुरुको कालदेखि नै देवी–देवताका विम्ब लिएर आधुनिक कला गरेका रहेछन् । अर्थात् नेपाली आधुनिक कलालाई हाम्रो परम्परासँग जोडेका रहेछन् ।
देवी–देवतामध्ये पनि उनलाई सबैभन्दा बढी गणेश मन पर्छ । उनका कलामा आधुनिक ‘गणेश’हरू पचासौँ रूपमा देखापरेका छन् । धेरैजसो गणेश नृत्य भावमा प्रकट भएका छन् । नाचमा विशेष दख्खल भएका वत्सलाई देवीदेवतालाई नचाएर हेर्ने मन भएको हुँदो हो । उनी भन्छन्, ‘सुरुदेखि नै गणेशको आकृतिले मलाई लोभ्याउँदै आएको छ । अन्य कुनै देवी–देवताभन्दा अलग्ग, अलौकिक अनि अद्भुत हुनाका कारण पनि मलाई गणेश बढी मन परेको हुन सक्छ । अन्य देवीदेवता भन्दा पहिला पूजा गरिने हुँदा पनि यो धार्मिक मान्यताले मलाई छोएको हुन सक्छ ।’
उनको कला संयोजन पनि थोरै अद्भुत छ । उनको चित्रपटको बिचमा गणेशको रूप देखापरे पनि हातखुट्टा अनि आयुधहरू उच्छिट्टिएर अलग–अलग भएका देखिन्छन् । यो उनको कलाको विशेषता पनि हो । मूल विषयको वरिपरि उनले अन्य तान्त्रिक ‘मोटिफ’हरूलाई समायोजन गरेको देखिन्छ । आयुधहरूमा गदा, नाग, बन्चरो, कलश आदि पनि ‘टेक्चर’सहित अलग्गै बसेका देखिन्छन् । पछिल्लो कालमा आएर विभिन्न प्रकारका टेक्चरमा उनको अझ बढी मोह बसेको देखिन्छ ।
उनका कलामा पात्रहरूको सङ्गठन पनि अलग प्रकारको हुन्थ्यो । धर्म गाथामा वर्णन भए अनुसार चित्रहरू बनाउने उनले स्वैरकाल्पनिकताको पनि यथेष्ट प्रयोग गर्थे । त्यसले गर्दा उनका चित्रमा देवदेवी अलौकिक रुपमा देखिन्थे । यति मात्रै होइन, उनका कलामा समसामयिक प्रवृत्ति पनि देख्न सकिन्छ । परम्परागत तर आधुनिक फर्ममा देखिँदा उनका चित्र अलि फरक देखिएका हुन् । त्यतिबेला देखिएका उनका चित्रमा सपाट पृष्ठभूमिमा मोटो रेखाहरूले माछा, ॐ, शंख, स्वस्तिक, हस्तमुद्रा, खड्ग, त्रिशुल, चन्दन सहितको शिवजीको तेस्रो आँखा आदि विम्बका रूपमा आएका छन् । उनका चित्रहरूमा कहिले राता, नीला र चम्किला रङ पनि प्रयोग भएका छन् भने कहिले कोमल–मनमोहक रङलाई प्रश्रय दिएको देखिन्छ । कतै उनले गणेशमा सुँड र लाम्चो कानको आंशिक भाग प्रतीकात्मक विम्बका रूपमा देखापर्छन् भने कतै हिमाल, पहाड, नदी आदिलाई ज्यामितीय फर्ममा ढाल्ने गर्छन् ।
सपाट पृष्ठभूमिमा बाङ्गाटिङ्गा आकारलाई प्राधान्यताका साथ उकेर्नु नेपाली परम्परागत कलाको विशेष विशेषता पनि थियो । लोककलामा पनि यस्तायस्तै अङ्कन पद्धति अपनाउने गरिन्छ । यसर्थ उनको आधुनिक कलामा नेपालीपन, हाम्रो आफ्नै मौलिक कलागत प्रवृत्ति मजाले छाम्न सकिन्छ । यसअघि पश्चिमी कलागत शैलीले प्रत्यक्ष रूपमा पारिरहेकोे प्रभावलाई हाम्रोतर्फ मोड्नु पनि उनको ध्येय देखिन्थ्यो ।
उनका समकालीन कलाकारहरू शशि शाह, मनुजबाबु मिश्रले पनि देवी–देवतालाई अलग–अलग पाराले प्रयोग गरेका छन् । मूलतः यी तीनैजना कलाकारले नेपाली कलामा नौलो आयाम खडा गरेका हुन् । तन्त्रको प्रयोग भने वत्सले मात्रै गरे । वत्सको मूल विशेषता भनेकै हराउन खोजिरहेको नेपाली मौलिक परम्परागत कलालाई जोगाउनु थियो । अहिले अलि कम बोल्ने यी कलाकार त्यसबखत अलि ‘बोलक्कड’ थिए । उनी परम्परा र तन्त्रको जगेर्ना गर्ने कुरा निकै ठुलो स्वरमा उठाउने गर्थे । पीठ–यन्त्र, सृष्टि र संहार, ॐ मणि पद्मे हुँ, समुद्र मन्थन, बुद्धिजम्, महेश–साम्बर, गौरी शंकर आदि नाम कमाएका चित्र हुन् । यी सब चित्र ५० वर्ष पहिलेकै हुन् । यही प्रवृत्ति वा शैलीलाई उनले आजका दिनसम्म निरन्तरता दिएका छन् । अहिले उनले गणेशका चित्र बढी बनाउने गरेका छन् ।
सन् १९७७ मा बंगलादेशमा भएको ‘एसिएन बायोनाले’ कला प्रदर्शनीमा उनको यस्तै तान्त्रिक कला यन्त्रले गोल्ड मेडल पाएको थियो । अन्तर्राष्ट्रिय रूपमा यस्तो गरिमामय पुरस्कार पाउने उनी नै प्रथम कलाकार थिए । उनको तन्त्र कलालाई विश्व कला बजारमा राम्रोसँग मान्यता प्राप्त गर्न यो पुरस्कारले मद्दत गरेको देखिन्छ ।
- पारिवारिक पृष्ठभूमि
सरकारी कागजातमा वत्सगोपाल वैद्यको जन्ममिति २००३ साल उल्लेख छ, एसएलसी दिँदा आफूले दुई वर्षजति उमेर घटाएको उनी बताउँछन् । तर आफू कति सालको भन्ने उनलाई थाहा छैन । उनले बालककालदेखि नै अर्थ आर्जनमा बुवालाई सघाउने गर्थे । उनी आठ वर्षको छँदा अचानक उनका बुवाको देहावसान भयो, त्यसपछि उनले घर चलाउनकै लागि धेरै ठाउँमा काम गरे । पैसाको अभावकै कारण केही समय उनले स्कुलको पढाइ छाड्नुपर्यो । कक्षा ७ मा पढ्दै गर्दा उनले प्रौढ कक्षा पढाएका थिए । जसोतसो २०२० सालमा एसएलसी पास गरेपछि उनले केही वर्ष पाटन क्याम्पसमा काम गरेका थिए । २०२३ सालमा मात्र उनी कला पढ्न मुम्बई गएका थिए ।
वैद्य उनका पिता–पुर्खाको थर मात्रै थिएन, पेसा पनि थियो । उनका बुवा कृष्णगोपाल राजवैद्य थिए । बालककालदेखि नै उनी पनि बुवासँगै जडीबुटी घोट्ने र पिस्ने काममा अभ्यस्त भए । परम्परागत औषधि बनाउने र उपचार विधि सिक्दै गर्दा उनीमा देवी–देवतामाथि विश्वास बढेको हुन सक्छ । यसैले गर्दा उनका चित्रमा देवी–देवता मिथकका रूपमा देखापर्न थाले ।
उनी नाच्न सिपालु थिए, सानोमा उनी डबलीहरुमा हुने नाटकमा समेत सहभागी हुन्थे । मुम्बईमा अध्ययन गर्दा समेत उनले बेला–बेला नाचगान र नाटकमा भाग लिए । त्यतिबेला अन्तर कलेज लोकनृत्यमा उनको समूहले लगातार तीनवटा पुरस्कार जितेको थियो । यस्तै, उनको संगीतमा पनि विशेष रुचि थियो ।
उनीमाथि तयार पारिएको दुईवटा वृत्तचित्र गएको फागुन ९ गते प्रदर्शन गरिएको थियो । यसबाट उनीबारे थाहा नभएका अनेकौँ पक्ष जानकारीमा आए । वृत्तचित्र दुई भागमा विभाजित बनाइँदा यो आफैँमा नौलो देखिन्थ्यो । यी वृत्तचित्र पत्रकार जीवनाथ धमलाले बनाएका हुन् । पहिलो भाग वत्सको जीवनी, कलागत यात्रा आदिले भरिएको छ भने अर्को भागमा दुईजना कला लेखक तथा समीक्षकले उनी र उनका चित्रहरूबारे समीक्षात्मक टिप्पणी गरेका छन् । यसरी टिप्पणी गर्नेमा मदन चित्रकार र म छौँ ।
उनी नेपाल फर्केलगत्तै सन् २०७१ मा ‘जे जे स्कुल अफ आर्ट’मा सँगै पढेका सहपाठी मिलेर कलाको समूह खोले । कलाकार शशि शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र उनी सदस्य रहेको समूहको नाम स्किब (एसकेआईबी) राखिएको छ, जुन नाम कलाकारकै अघिल्लो वर्णबाट लिएको हो । यसरी कलाकारको सानो समूह बनाएको पनि नेपालको कला इतिहासमा पहिलो नै भयो । यो समूहले दर्जनौँ कला प्रदर्शनी गर्यो । समूहगत कला प्रदर्शनी गर्ने पनि एउटा संस्कार जन्मायो । अहिले यस्ता स–साना कलाको समूह पचासौँ बन्न गएका छन् ।
वत्स संस्थागत विकासका लागि पनि कैयौँ संघ–संस्थामा आबद्ध भए । विश्वभरमा उनका कलाहरूको प्रदर्शनी भएको छ । राष्ट्रिय कला प्रदर्शनीमा थोरै कलाकारले मात्र प्रथम पुरस्कार दुईपल्ट पाएका छन् । यसरी दुईपल्ट पुरस्कार पाउनेलाई अलग रूपमा ‘वीरेन्द्र प्रज्ञालङ्कार’ दिने प्रचलन थियो । यीमध्ये उनी पनि एक हुन् । उनले राष्ट्रिय स्तरका अनगिन्ती पुरस्कार पाएका छन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा