जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन

आफ्ना दाइहरू र आफ्नै उमेरका केटाहरू लस्कर लाएर स्कुल गएको देखेर जलेश्वरी श्रेष्ठलाई पनि रहर जाग्थ्यो— अहो, स्कुल जान पाए !
उनी जन्मदा (२००३ फागुन ३) देशले जहाँनियाँ राणाशासनका विरुद्ध संघर्ष गरिरहेको थियो । उनी हुर्केर स्कुल जाने बेला देशमा प्रजातन्त्र आइसकेको थियो । यद्यपि छोरीलाई स्कुल पठाउन समाज अभ्यस्त भइसकेको थिएन ।
काठमाडौँको वटुमा जन्मेकी जलेश्वरीलाई अक्षर चिनाउन पिताले घरमै शिक्षकको व्यवस्था गरेका थिए । उनी केटाकेटी छँदै उनको घरमा त्यतिबेला प्रकाशित हुने अखबारहरू आउँथे । अलिअलि अक्षर चिनेकी उनले कनीकुथी अद्योपान्त अखबार पढ्थिन् । आमा–हजुरआमालाई भन्न कर लाग्थ्यो— कति पढिराख्छे यो !
आफ्नै टोलमा रहेको बालकुमारी स्कुलमा भर्ना हुन दुई रूपैयाँ शुल्क लाग्थ्यो । आमासँग झगडा गरेरै उनी त्यहाँ भर्ना भइन् । उनी भर्ना भएपछि आफन्त र छिमेकीलाई पनि एक प्रकारले दबाबजस्तै भयो । टोलका थुप्रै छोरीहरू त्यहाँ भर्ना भए । यसपछि उनी शान्ति निकुञ्ज विद्यालय हुँदै कन्या मन्दिरमा भर्ना हुन पुगिन्, जहाँ कवि दुर्गालाल श्रेष्ठ नेपालभाषाका शिक्षक थिए । उनले विद्यार्थीलाई गीत, कविता, कथा लेख्न प्रेरित गर्दै पढाउँथे ।
दुर्गालालकै प्रेरणामा कक्षा ७ मा पढ्दै गर्दा जलेश्वरीले नेपालभाषा कविता लेखिन्, ‘सुुःथ’ शीर्षकको । यो कविता २०१९ सालमा नेपालभाषाको एक पत्रिकामा छापियो । ‘अहिले सम्झेर ल्याउँदा साहित्य के हो भन्ने थाहै नपाईकन म यसतर्फ आकर्षित भएकी रहेछु जस्तो लाग्छ,’ जलेश्वरी आफू साहित्य क्षेत्रमा लागेका ती पुराना दिन सम्झिन्छिन् ।
उनले काठमाडौँबाटै स्नातक गरिन् । उनलाई साहित्य लेख्नमा भन्दा पढ्नमा बेसी रुचि थियो । साहित्यकार भनेपछि उनी भुतुुक्कै हुन्थिन् । उनको भित्री इच्छा नै साहित्यकारसँग बिहे गर्ने थियो । उमेरले २४ को हाराहारीमा हिँड्दै गर्दा उनको बिहेको कुरा चल्यो, बन्दीपुरका द्वारिका श्रेष्ठसँग । केटा कवि हुन् भन्ने थाहा पाएपछि उनी बिहेका लागि राजी भइन् । २०२८ सालमा उनको बिहे भयो । द्वारिकाको व्यापार पनि थियो त्यसैले घर बन्दीपुर भए पनि द्वारिकाको परिवार काठमाडौँमा बस्दै आएको थियो । काठमाडौँको घरमा कृष्णचन्द्र सिंह प्रधान, ध्रुवचन्द्र गौतम, कृष्णभक्त श्रेष्ठ लगायत साहित्यकारहरूको जमघट भइरहन्थ्यो ।
आफैँले जन्माएकी छोरीका लागि आफ्नो नागरिकता नचलेकाले उनको चित्त फाट्यो, उनी रोइन् । वास्तवमा यही चोटले उनलाई साहित्यकार बनायो ।
बिहेपछि पनि उनी साहित्य पढ्नमै केन्द्रित भइन् । ‘त्यतिबेला कविताबाहेक अरु कोर्नतिर हात खासै गएन, पढ्ने सोख निकै थियो,’ उनी भन्छिन्, ‘चाहेको, मन लागेको कुरा जताबाट खोजेर भए पनि पढ्थेँ ।’
पञ्चायतकालमा काठमाडौँमा महिला अधिकारका कुरा निकै हुन्थे । किनभने सम्भ्रान्त परिवारमा महिलाहरू पीडित थिए, उनीहरूलाई धेरै कुरामा बन्देज थियो, स्वतन्त्रता थिएन । यस्तैमा एउटा घटना घट्यो । उनका छोरीहरू दार्जिलिङमा पढ्थे । त्यहाँ गोर्खाल्यान्डको आन्दोलन चर्किएको थियो । त्यहाँ बस्न ‘पर्मिट’ चाहिने भयो । आफ्नो नागरिकता बोकेर जलेश्वरी नगरपञ्चायतमा पर्मिट लिन गइन् । तर आमा भएकाले उनको नागरिकता चलेन, त्यहाँ बाउ खोजियो । त्यतिबेला उनका श्रीमान् विदेश गएका थिए । विकल्पमा त्यहाँका अधिकारीले काकाको नागरिकता ल्याउन भने ।
आफैँले जन्माएकी छोरीका लागि आफ्नो नागरिकता नचलेकाले उनको चित्त फाट्यो, उनी रोइन् । वास्तवमा यही चोटले उनलाई साहित्यकार बनायो ।
यो घटना उनको मनभित्र उकुसमुकुस भएर बसिररहेको थियो । दिनहरू बित्दै गए । उनको उमेरले पनि आधा शताब्दी नाघ्यो । यस्तैमा एक दिन उनले आफ्नो पुरानो उकुसमुकुस पोख्न पाइन् । होटल व्यवसायी समेत रहेका उनका श्रीमान्ले चितवनस्थित लजमा ‘वनोत्सव साहित्यिक कार्यक्रम’ गर्ने भए । द्वारिकाले हरेक वर्ष काठमाडौँबाट २०/२५ जना साहित्यकारलाई चितवन लगेर तीन दिन दुई रातसम्म साहित्यिक छलफल गर्ने गर्थे, २०४५ सालदेखि यो क्रम चलेको थियो । २०५६ सालको वनोत्सव कार्यक्रममा आफू पनि जाने इच्छा उनले श्रीमान् समक्ष प्रकट गरिन् । त्यो कार्यक्रममा साहित्यकार मात्रै जान्थे । उनी साहित्यकार नभएकाले सुरुमा द्वारिका हिच्किचाएका थिए । तर ढिपी गरेरै जलेश्वरी त्यस कार्यक्रममा गइन् । त्यतिबेला गीता केशरी, गार्गी शर्मा, उषा शेरचन लगायत थुप्रै महिला साहित्यकार गएका थिए ।
साहित्यकारहरूको त्यो जमातमा जलेश्वरीले मनको उकुसमुकुस पोखिन् । त्यतिबेला उनले आफ्ना आमा, बजै लगायत नजिकका महिलाले भोगेका पीडा पनि व्यक्त गरेकी थिइन् । यसबारे केही लेखिदिन पनि उनले अनुरोध गरिन् । त्यसरी निर्धक्क बोल्न सक्नेले लेख्न पनि सक्छ्यौ भन्ने जवाफ आयो । यो उमेरमा आएर आख्यान लेखौँला भन्ने उनलाई लागेको थिएन । जेहोस्, त्यस कार्यक्रमले उनलाई लेख्ने बल दियो । चितवनबाट फर्केको एक महिनामै उनले ‘भगवती’ र ‘गुलाफ’ शीर्षकका दुईवटा कथा लेखिन् ।
पचास कटेपछि आख्यान लेखौँला भन्ने उनलाई लागेको थिएन । जेहोस्, त्यस कार्यक्रमले उनलाई लेख्ने बल दियो । चितवनबाट फर्केको एक महिनामै उनले ‘भगवती’ र ‘गुलाफ’ शीर्षकका दुईवटा कथा लेखिन् ।
यी कथालाई उनले सुरुमा केही महिला साहित्यकारलाई सुनाएकी थिइन्, घरमै बोलाएर । सबैको प्रशंसा पाएपछि उनी थप प्रोत्साहित भइन् । लगत्तै ‘भगवती’ कथा गोरखापत्रका लागि दिइन्, २०५७ चैत ३० मा उनको पहिलो कथा गोरखापत्रमा छापियो । यहीँबाट औपचारिक रूपमा उनको कथायात्रा सुरु भयो । त्यसपछि ५–६ महिनामा दुई दर्जनभन्दा धेरै कथा लेखिन् । चल्तीका पत्रपत्रिकामा हप्तैपिच्छेजसो उनका कथा आउन थाले । २०५८ सालमा उनको २१ वटा कथाको ‘लाभाका बाफहरू’ प्रकाशित भयो ।
यस संग्रहको भूमिकामा आख्यानकार ध्रुवचन्द्र गौतमले लेखेका छन्, ‘कथाका नारीपात्रहरू पुरुषको थिचोमिचोले रन्थनिन्छन् । केही समयका लागि अन्योलमा पनि पर्छन् तर प्रायः पात्रहरू यस जर्जर व्यवस्थाका विरुद्ध विद्रोह गर्छन् । उनको विद्रोह विजयी पनि हुन्छन् ।’
भावनाहरू मनभित्र गुम्सिएर लाभा बने अनि त्यो बाफ बनेर निस्कियो भन्ने अर्थमा आफ्नो पुस्तकको नाम रहेको उनी व्याख्या गर्छिन् । उसो त यही शीर्षकको कथा पनि संग्रहमा छ ।
विक्रमको ५० को दशकको उत्तराद्र्धबाट सुरु भएको उनको लेखनयात्रा ७० को दशकको पूर्वाद्धसम्म अविरल रह्यो । कथा लेख्न सुरु गर्दा उनकी कान्छी छोरी समेत हुर्किसकेकी थिइन् । आफ्नो पहिलो संग्रहलाई उनले छोरीहरूमै समर्पित गरेकी छन्, पुस्तकको अघिल्लो प्रारम्भमै लेखिएको छ— स्नेही छोरीहरू निभा, नित्या र निष्ठामा समर्पित ।
घरमा नोकरचाकर भएकाले उनको लेखनमा खासै खलल भएन । भान्सामा धेरै समय बिताउनुनपरेकाले छोटो समयमै पनि उनले दर्जनौँ कथाहरू लेख्न सकिन् । आजसम्म उनका एक दर्जन कृति प्रकाशित भए— चारवटा कथा संग्रह, चारवटा बालकथा संग्रह, एउटा उपन्यास, एउटा गीति एल्बम लगायत । शान्ताको इच्छा शीर्षकको लामो कथा कृतिकै रूपमा अंग्रेजी र नेपालीमा प्रकाशित छ ।
१६ वर्षको उमेरमा मातृभाषाको कविता छापिएको ३८ वर्षपछि (२०५७ सालमा) उनको लेख छापिएको थियो, ‘सम्पत्तिभन्दा माथिको मातृत्व अधिकार’ शीर्षकको । विशेषतः उनका कथामा महिला हक–अधिकारका आवाज र विद्रोह आएका छन् ।
‘आफू बसेको समाज र परिवारभित्रै महिलाहरू विभेद र दुःख–पीडामा परेको देखेर म पिरोलिन्थेँ,’ उनी भन्छिन्, ‘माइतीमा हजुरबुबा, बुबा, काका सबैले दुई बिहे गरेका थिए । दोस्रो पत्नीलाई बाहिर राख्ने चलन थियो । घरमा आफ्नो हजुरआमा, आमा, काकी, फुपूहरूको पीडा–व्याथाले मलाई सानैदेखि पोल्थ्यो । घरमा काम गर्नेदेखि लिएर खुवाउन र लगाउन समेत छोरा र छोरीलाई निकै भेदभाव गरिन्थ्यो । छोरालाई निजी स्कुलमा पढाइन्थ्यो, छोरीलाई सरकारीमा ।’
यतिखेर जलेश्वरी ७८औँ वसन्तमा हिँड्दै छन् । उमेरले पनि होला, पहिलाको तुलनामा अहिले उनी लेखनमा त्यति सक्रिय छैनन् । यतिखेर उनी विशेषतः नेपालभाषामा कथा लेखिरहेकी छन् ।
दाजुभाइलाई किन त्यस्तो, आफूलाई किन यस्तो भनेर उनी घरमै झगडा गर्थिन् । उनलाई आमाले भनेकी थिइन्, ‘छोरा भनेका तेलमा भिजाएका बाती हुन्, छोरी सुक्खा बाती । छोरा भएर जन्मन त भाग्यमा लिएर आउनुपर्छ ।’ आमाको यस भनाइले उनलाई समाज बुझ्न सघायो ।
विद्रोही स्वभावका कारण घरमा उनलाई सबैले ‘उइचा’ भन्थे । नेवारी भाषामा उइचाको अर्थ हुन्छ, बौलाही । आफ्ना कथाका पात्र पनि ‘उइचा’ प्रवृत्तिका भएको उनको भनाइ छ ।
अर्थात् सामाजिक र लैंगिक विभेदले नै उनलाई लेखन प्रेरित गर्यो । ढिलै लेखनमा आए पनि श्रीमान् कवि तथा व्यवसायी, साहित्यिक माहोल आदिले गर्दा उनले छोटो समयमा धेरै सिर्जना गरिन् । उनी भावुक हुँदै भन्छिन्, ‘म भाग्यमानी नै हुनुपर्छ कि मैले भागिरथी श्रेष्ठ, माया ठकुरी, पद्मावती सिंहजस्ता साहित्यिक मित्रको संगत पनि गर्न पाएँ ।’
नेवार समुदाय र नेपालभाषासँगै हुर्के–बढेकाले आफूमा नेपाली शब्द भण्डार कम भएको आभास उनलाई रहेछ । पहिलो कथासंग्रहका लागि कथा लेख्ने बेला उनले कसैका पनि कृति पढिनन्, अरुको प्रभाव पर्ला भनेर । ‘घरमा उहाँ (द्वारिका)ले पढ्नुपर्छ, नपढी कहाँ लेख्न सकिन्छ भनेर सम्झाइरहनुहुन्थ्यो तर मैले कसैको केही पनि नपढी ६ महिनाभित्र संग्रहका लागि पुग्ने कथा लेखेकी थिएँ,’ उनी भन्छिन्, ‘तर मेरो जग राम्रो थियो । म पहिलेदेखि नै असाध्यै पढ्थेँ । पढ्न थालेपछि मलाई खान सुत्नकै हेक्का हुुन्नथ्यो । नेपाली, नेपालभाषा, हिन्दीका पुस्तक रातभर नसुती पढ्थेँ । अंग्रेजी पनि पाएसम्म पढ्थेँ, नबुझी–नबुझी । पढ्दै गएपछि बुझ्न थालेँ ।’
पहिलो कृति छाप्न उनले एक लाख रूपैयाँ जति खर्च गरेकी थिइन् । त्यसबापत उनलाई प्रकाशन गृहले केही थान कृति दिएको थियो । आफ्ना कृति बेच्न उनी घर–घरमा गइन् । घरमा गएका बेला उनले मानिसहरूबाट राम्रै स्वागत–सत्कार पाउँथिन् । ‘वाइन र ह्विस्कीका बोतल खोलेर खुवाउँथे तर किताब किन्दैनथे,’ उनी भन्छिन्, ‘हामीकहाँ पठन संस्कृति खासै छैन । मानिसहरू सकेसम्म किताब किन्न खोज्दैनन् । अनि कसरी साहित्यको विकास हुन्छ ?’
यतिखेर जलेश्वरी ७८औँ वसन्तमा हिँड्दै छन् । उमेरले पनि होला, पहिलाको तुलनामा अहिले उनी लेखनमा त्यति सक्रिय छैनन् । यतिखेर उनी विशेषतः नेपालभाषामा कथा लेखिरहेकी छन् । नेपालभाषाकै कथा संग्रह ल्याउने उनको योजना छ । नेपालभाषाका १०–१२ वटा कथा तयार छन्, ५–६ वटा त नेपालभाषाका पत्रपत्रिकामा छापिइसकेका छन् । ‘वैशाखसम्म यसको पनि संग्रह बजारमा आउँछ कि !’ उनी आशावादी हुँदै भन्छिन्, ‘संकलन गर्ने हो भने पत्रपत्रिका छापिएका नेपाली भाषाका कथा पनि १५/१६ वटा होलान्, त्यसको पनि संग्रह निकाल्नुपर्नेछ । केही पुराना कृतिको दोस्रो संस्करण निकाल्नुपर्नेछ । भगवान्ले साथ दिएछन् भने यति काम म अवश्य पूरा गर्नेछु ।’
आँखाका कारण किताब पढ्न केही कठिन हुन थालेपछि उनले यतिबेला मोबाइलमा नियमित रूपमा अडियो–कथा सुन्न थालेकी छिन् ।
(‘पहिलो प्रस्रव’ रातोपाटीको यस्तो स्तम्भ हो, जसमा मूलतः महिला लेखकले पहिलो कृति जन्माउन गरेको संघर्ष वा कोसिसका कथा आउँछ । –प्रधानसम्पादक ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य