शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली

शनिबार, ३० चैत २०८१, १६ : ४९
शनिबार, ३० चैत २०८१

झापा । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । 

पार्टीको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले विकासका नाममा स्टन्टगर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याएको बताए । तर उनीहरूलाई जनताले नपत्याएको पनि ओलीले त्यहाँ बताए । 

'देश अब कानुन र विधिअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेकाे राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उल्किनु वा भ्रम पाल्नुपर्दैन,' ओलीले भने, 'ठुला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ ।'

विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका गरेका पनि उनले स्मरण गरे । 'अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ,' ओलीले भने, 'अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन ।'

ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजना अब अगाडि बढ्ने पनि बताए । आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले तिनलाई अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने उनको भनाइ थियो ।

कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने पनि उनले बताए । भने, 'हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।'

भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न अब संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने उनले बताए । 'मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ,' उनले त्यहाँ भने, 'एमालेविनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएर आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।'

कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहत कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्त रूपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्नेमा उनले जोड दिए । 

प्रधानमन्त्री ओलीले युवालाई आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको पनि दाबी गरे । 

एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गरेको छ । त्यस दिन ४० वर्षमुनिका युवा काठमाडौँ उतार्ने र राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन पनि उनले आग्रह गरे । 'एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरू सिध्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ,' ओलीले भने, 'म चुनौतीका साथ भन्छु, अरू कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन ।'

युवाले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देश विकासमा जुट्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप