टेस्टट्युब बेबी

डा. रमा र उनको श्रीमान् डा. अशोक दिल्लीको एउटा अस्पतालबाट नेपाल फर्कंदै छन् । रमा आज अपूर्व आनन्दको अनुभूतिले रोमाञ्चित छिन् किनकि उनको कोखमा आज एउटा अज्ञात भ्रूण फस्टाइरहेछ । उनी पनि अब आमा बन्नेछिन् । उनले पनि आफ्नो सन्तानलाई स्तनपान गराउनेछिन् । त्यो सुखानुभूतिको कल्पनाले उनको शरीरभरि रोमाञ्चका काँडाहरू उम्रिन्छन् । उनले आमा बन्ने कल्पना पनि गरेकी थिइनन् । अरूका बा–आमा, बच्चा देख्दा उनमा पनि आफ्नो सन्तानलाई स्तनपान गराउने इच्छा जाग्रत हुन्थ्यो तर त्यो इच्छा केवल इच्छामै सीमित हुन्थ्यो ।
आज उनको इच्छाले साकार रूप लिएको छ । आधुनिक विज्ञानको सफलताले टेस्टट्युब बेबीको आविष्कार गरेको छ जसले गर्दा उनलाई आफ्नो भाग्यको ढोका खुलेको अनुभव हुन्छ । आज उनको आमा बन्ने सौभाग्य नै त्यसकै परिणति हो । अशोकको मनमा भने कुनै त्यस्तो उत्साह छैन । आफ्नो घरमा एउटा सन्तानको अभाव थियो । त्यसको परिपूर्ति गर्नु उसले अनिवार्य ठान्यो । विवाह गरेको तीन–चार वर्षसम्म पनि रमा गर्भवती नभएकीले आफ्नो र रमाको शरीर जाँच्दा अशोकबाटै सन्तान जन्मन नसकेको कुरा प्रमाणित भयो । त्यसैले उनीहरू निराश भएका थिए ।
अशोकलाई बालक आँगनमा खेलेको हेर्न र उसको तोतेबोली सुन्न असाध्यै मन पर्छ । उसलाई सन्तानविनाको घर मरुभूमिजस्तै लाग्छ । उनीहरूबिच एउटा अनाथ बच्चा पाल्ने कुरा पनि नचलेको हैन । तर अशोकका आमाबाबुले स्विकारेनन् । बरु अशोकको भाइको एउटा बच्चा पाल्न आग्रह गरे । रमालाई भने यो कुरा स्वीकार्य भएन । उनकी देउरानी आमा बन्न सकेकोमा सधैँ गर्व गर्थिन्, अनि रमालाई सधैँ बाँझी आइमाई ठानी अप्रत्यक्ष रूपमा होँच्याउन खोज्थिन् । त्यसैले उनको सन्तान ग्रहण गर्नुभन्दा कृत्रिम गर्भाधानबाट आफू आमा बन्नु नै वेश ठानिन् रमाले । आधुनिक विज्ञानले जन्माएको वैज्ञानिक प्रविधिको सदुपयोग किन नगरौँ भन्ने सोचेर आफ्नो इच्छा श्रीमान्समक्ष प्रकट गरिन् । तर उनले इन्कार गरे । तैपनि मातृत्व–सुख प्राप्तिको प्रबल इच्छाका कारण र उनको ढिपीका कारण अशोकले मान्न आखिर करै लाग्यो । साँच्ची नै, अशोकभित्र एउटा द्वन्द्वको हुरी चल्यो— समाजले के भन्ला ? आमाबाबुले मान्लान् कि नमान्लान् ?
एक दिन विष लिएर ऊ कोठामा गयो र रमासँग भन्यो— ‘रमा ! अब हामी यो समाजमा बाँच्न असमर्थ छौँ । मेरा शिक्षित आमाबाबुले त तिम्रो गर्भको सन्तानलाई स्विकारेनन् भने अरुले कसरी स्विकार्छन् ? सबैको घृणाको पात्र हुनुभन्दा विष खाई मर्नु नै वेश ।
‘तिमी मेरो लोग्ने म तिम्री स्वास्नी, हामी दुवैको इच्छामा अरूको हस्तक्षेप किन ? मेरो शरीर सन्तान जन्माउन पूर्ण र सबल छ । अशोक ! म पूर्ण हुन चाहन्छु । म मातृत्व प्राप्त गर्न चाहन्छु । मलाई तिम्रो स्वीकृति मात्र भए पुग्छ, पुरुषको सम्पर्कविना नै गर्भाधान गर्न सक्ने अवस्थाको सिर्जना विज्ञानले गरिसक्यो । अरूसँग सम्पर्क गर्नु पो पाप ! परपुरुषगमनविना आमा बन्नु केको पाप ? अरूको रगत, आँखा, किड्नी लिन सकिन्छ भने अरूको वीर्य ग्रहण गर्नु किन अपवित्र ? कुनै नारीको आमा बन्न सक्ने पूर्ण शरीर हुँदाहुँदै पनि टेस्टट्युबमार्फत् सन्तान जन्माउँदा कसरी उनको शरीर बिटुलो हुन्छ र ? पहिलो स्वास्नीबाट सन्तान नभए अर्की स्वास्नी विवाह गरेर बच्चा जन्माउन स्वीकृति दिने हाम्रो समाजमा परपुरुषसम्पर्कबिना नै सन्तान जन्माउन किन अस्वीकृति ? विज्ञानको उपलब्धिबाट हामीले लाभ किन नउठाउने ? के तिमी मलाई प्रेम गर्दैनौ र ? मेरो प्रेममा कुनै शंका छ ? के मेरो सन्तान अपनाउन सक्ने साहस तिमीमा छैन ? तिमी शिक्षित मात्र नभएर एउटा डाक्टर पनि हौ । साहस गर । तिम्रो सच्चा प्रेम भए मलाई पूर्ण आमा हुने सौभाग्य देऊ । सन्तानविहीन नारीले नारी हुनुको गौरव गर्न सक्दिनँ । मलाई पनि नारी हुनुको गौरव महसुस गर्नदेउ, प्लिज !’
यत्तिकैमा जहाजले काठमाडौँको भूमि टेकेको आवाज आउँछ र उनी झस्किन्छिन् ।
अशोक पनि सायद के–के कल्पनामा लीन भएको देखिन्थ्यो । अनुहारमा कताकता खुसीका रेखाहरू देखिन्थे । घर पुगेर ऊ रमा गर्भवती भएको खबर आमा–बुबालाई सुनाउँछ । उसलाई पूर्ण विश्वास थियो— उसकी आमा त्यो समयकै प्रथम श्रेणीकी कर्मचारी, बाबु पीएचडी डाक्टर, उनीहरूले स्याबासी दिन्छन् भन्ने ।
तर उल्टै उनीहरू रिसले आगो भएर भने, ‘यस्तो अरूको वीर्य गर्भाधान गर्ने बुहारी अपवित्र हुन्छिन्, हाम्रो कुलमा । हाम्रो धर्मले यसलाई मान्यता दिँदैन र संरक्षण पनि गर्दैन । यस्तालाई यो पवित्र कुलमा स्थान छैन । त्यसैले कि हामीलाई त्याग कि रमालाई ।’
अशोक आमाबाबुलाई अत्यन्तै आदर गर्छ र त्यस्तै स्वास्नीलाई पनि असाध्यै प्रेम । दुईमध्ये एउटालाई त्याग्नुपर्ने बाध्यात्मक दुविधाको वज्र ऊमाथि अकस्मात् पर्यो । एकातिर आमाबाबुको असहमति, अर्कातिर रमाको पूर्णता । कस्तो अन्योलको भुमरीमा पर्यो ऊ ! उसले कुनै निर्णय गर्न सकेन । यस अन्योलमा उसलाई आत्महत्या गर्न मन लाग्यो । उसले साहस गरेन— समाजको आलोचना सहने ।
एक दिन विष लिएर ऊ कोठामा गयो र रमासँग भन्यो— ‘रमा ! अब हामी यो समाजमा बाँच्न असमर्थ छौँ । मेरा शिक्षित आमाबाबुले त तिम्रो गर्भको सन्तानलाई स्विकारेनन् भने अरुले कसरी स्विकार्छन् ? सबैको घृणाको पात्र हुनुभन्दा विष खाई मर्नु नै वेश । मेरो अपूर्णताका कारण मैले तिमीलाई सुख दिन सकिनँ । मलाई माफ गर । म अब आत्महत्या गर्दै छु । तिमी पनि मलाई प्रेम गर्छाै भने आऊ, मसँगै विष पिएर यो संसारबाट मुक्ति लिऊँ ।’
यो कुरा सुनेर झस्किँदै रमाले हत्तपत्त विषको सिसी झ्यालबाट फालिदिइन् र मुख छोपेर रोइरहेको अशोकलाई भनिन्— ‘अशोक तिमी यति काँतर ! हामीले समाजको के बिगारेका छौँ र ? हामीले विज्ञानको र उपलब्धिको उपयोग गर्यौँ । तिम्रा आमाबाबु शिक्षित भए पनि अज्ञानी छन् । तिमी त बुद्धिमान छौ । हामी मरेर यो समाजलाई के फाइदा हुन्छ ? बरु तिमी मलाई त्याग । म सहन्छु तर तिम्रो आत्महत्या म सहन सक्दिनँ । हो, मलाई थाहा थियो, तिम्रा आमाबाबुले कुनै पनि हालतमा कृत्रिम गर्भधारण गर्न अनुमति दिँदैनन् र त्यो स्वीकार पनि गर्दैनन् । त्यसैले मैले तिम्रै मात्र अनुमति चाहेँ । लोग्नेको अनुमतिबिना गर्भाधान पनि सम्भव हुँदैनथ्यो । त्यसैले कसैलाई नभनी हामी दिल्ली गयौँ । मेरो मातृत्वको र नारी हुनुको गौरव प्राप्तिका निम्ति मैले षड्यन्त्र गरेँ । मलाई माफ गरिदेऊ । म तिमीलाई मबाट मुक्ति दिन्छु । म यो समाजसँग चुनौतीपूर्ण संघर्ष गर्दै यो मेरो मात्र सन्तानलाई जन्माउने हिम्मत गर्छु ।’
त्यसपछि रमा कतै केही नहेरी त्यस घरबाट निस्किन्छिन् ।
(‘लाभाका बाफहरू’ कथा संग्रहबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ