आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’

छुवाछुतजस्ता विभेदकारी एउटा पनि शब्द धर्मशास्त्रमा देखाइदिनुस् म यो अभियान नै छाडिदिन्छु : दीनबन्धु पोखरेल
शनिबार, ३० चैत २०८१

पुराण वाचनमा ‘प्रवीण’ पण्डित दीनबन्धु पोखरेलको व्यस्तता यतिखेर बढेको छ । काठमाडौँको रामकोटमा स्थापना गरिएको नारायण आध्यात्मिक केन्द्रको स्थापना र त्यसभित्र निर्माण गरिएको बद्रीनारायण धामको प्राण प्रतिष्ठा गर्ने समय नजिकिएसँगै उनलाई अहिले भ्याइनभ्याइ छ । 

नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने उनको लक्ष्य छ । धार्मिक पर्यटनका नाममा करोडौँ रुपैयाँ बाहिरिने उनको बुझाइ छ । मानिस  आध्यात्मिकसँगै भौतिकवादी पनि हुन्छन् भन्ने उनी पूर्वीय दर्शनमै टेकेरै प्रमाणित गर्ने प्रयास गर्छन् । 

उनै पोखरेलसँग रातोपाटीका रोहित दाहालले पूर्वीय दर्शनलगायत विविध विषयमा लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

  • तपाईँलाई वाचन प्रवीण भनिन्छ । त्यो भनेको के हो ?

वाचन भनेको सद्वचन र प्रवीण भनेको सिपालु । वाचन गर्न सिपालु भन्ने यसको अर्थ हुन्छ ।

  • यो उपाधि तपाईंंलाई कसले दियो ?

यो जनअनुमोदित हो । भक्तजनबाट अनुमोदित उपाधि हो । पश्चिम नवलपरासीको भूमहीमा क्याम्पस स्थापना गर्न पुराण लगाइयो । एक करोड उठाउने लक्ष्य रहेछ । तर मेरो वाचनकला देखेर पाँचदेखि छ करोड रुपैयाँ संकलन भयो । आजभन्दा १६, १७ वर्षअघि । त्यसपछि तिसौँ हजार भक्तजनहरूले हस्ताक्षर गरेर यो उपाधि दिएका हुन् । 

dinbandhu pokharel 1

  • तपाईं अध्यात्मवादी हो कि भौतिकवादी ?

म दुवै हो । म त्यही कुरालाई वकालत गर्न अघि बढेको मान्छे हो । यही नयाँ विचारधाराले संसारलाई नेतृत्व गर्न सक्छ । अध्यात्मवाद र भौतिकवादको समायोजनको मध्यमार्गी धारबाट समाज सम्बोधित हुनुपर्छ भन्ने आयाम लिएर अगाडि बढेको पथिक हो म ।

  • एउटै मान्छे दुवै हुन सक्छ ? त्यसमा पनि पुराण वाचन गर्दै हिँड्ने व्यक्ति ?

मलाई घर चाहिने, गाडी चाहिने, मोबाइल चाहिने, देशदेशाटन गर्नुपर्ने अनि म अध्यात्मवादी हो भने म पाखण्डी हुन्छु । मजस्तो ढोँगी कोही पनि हुँदैन । 

  • तपाईंजस्तो पण्डितहरूले म भौतिकवादी हो भनेर भनेको सुनिँदैन त ?

नजानेर हो । अज्ञानता हो ।

  • कसैले म भौतिकवादी हो, अध्यात्मवादी होइन भन्छन् नि त ?

त्यो उसको जडता हो । जडवाद हो । जोसुकै मानिसले पनि सत्य, ज्ञान र आनन्दको खोजी गर्छ । गरिरहेको छ । यी कुरा भौतिक चिजबाट प्राप्त हुँदैन । त्यो त भित्र छ । हो त्यो भित्र खोज्ने प्रक्रियालाई अध्यात्मवाद भनिन्छ । मानिस न अध्यामवादी मात्र बन्न सकछ न भौतिकवादी मात्र । 

  • कसैले म अध्यात्मवादी मात्र वा भौतिकवादी मात्र हुँ भन्यो भने त्यो झुट हो ?

शास्वत कुरा के हो भने, मान्छे अध्यात्मवादी पनि हो । भौतिकवादी पनि हो ।

  • पूर्वीय दर्शनलाई अध्यात्मवादसँग मात्र जोडेर हेर्ने गरिन्छ नि त ।

अध्यात्मवाद र पूर्वीय दर्शनको मात्र होइन, भौतिकवादको पनि अन्योन्याश्रित सम्बन्ध छ ।

  • त्यसो हो भने पूर्वीय दर्शनलाई वैज्ञानिक छैन, व्यवहारिक छैन, यसको दार्शनिक पक्ष समयानुकूल छैन किन भनिन्छ त ?

यो अध्ययन नगरेकाहरूले निर्माण गरेको भाष्य हो । यो नबुझेर, नपढेर, सतही रूपमा एउटा कर्मकाण्डी व्यक्तिलाई हेरेर बनाइएको भाष्य हो । जीवन, जगत् र परमात्मा वेद र बुद्धमा जति कहाँ छ ? मलाई प्रमाण ल्याउनुस् । पूर्वीय दर्शन भनेको संस्कार र आविष्कारयुक्त दर्शन हो । संस्कार भनेको अध्यात्मवाद, आविष्कार भनेको भौतिकवाद । पीपलमा पानी चढाउनु संस्कार हो । पीपलले अक्सिजन दिन्छ भन्ने पत्ता लगाउनु भौतिकवाद हो । यो पूर्वीय दर्शनले पत्ता लगाएको हो ।

dinbandhu pokharel 2

  • यस्तो भाष्य निर्माण गर्ने तपाईंहरूजस्तै पण्डितहरू त हुन् नि ।

सही कुरा हो । यसमा त म सहमत छु । हामीले यसको व्यापक क्षितिजलाई, विहङ्गम र विराट चिन्तन बोकेको पूर्वीय दर्शनलाई छुवाछुतसँग जोडिदिने, कहिले सामान्य विकृतिसँग जोडिदिने, कहिले त ठुलो र म ठुलो भनेर जोडिदिने । यो काम वेदले गरेको होइन । धर्मले गरेको होइन । 

  • वेद र बुद्ध जोड्ने भन्नुभएको छ । यसअघि जोडिएको थिएन र ?

यो एउटै हो । दुवैमा समानता छ । यसलाई फुटाउने प्रपञ्च भएको थियो बिचमा । यो एउटै हो । नेपालको समृद्धि नै वेदमा छ । बुद्धमा छ । शालिग्राममा छ । यही कुरालाई जोड्न खोजेको हो ।

  • जोड्ने कुरा त गर्नुभयो । तर अहिले मानिसले श्रवण त गरे तर मनन अर्थात् आत्मसाथ पनि गरेनन् र व्यवहारमा पनि उतार्न सकेनन् भनिन्छ नि ?

श्रवण गर्ने काम त भएको छ । तर व्यवहारमा उतार्ने काम कम भएको छ । त्यसका लागि नै आध्यात्मिक केन्द्रहरू, साधना केन्द्रहरू खोल्नुपर्छ । जुन काम हामी गर्दैछौँ ।

  • अर्को प्रसङ्गको कुरा गरौँ, तपाईंका पिता नारायण पोखरेलको हत्यारा पत्ता लगाउने काममा तपाईं लाग्नुभएन भन्ने आरोप छ ।

मैले गिरिजाप्रसाद कोइराला, प्रचण्ड, केपी ओलीदेखि सबैलाई भेटेर भनेको छु । घटना किन घट्यो ? त्यसको रहस्योद्घाटन, त्यो कुराको पर्दाफास, पटाक्षेप गर्नुपर्‍यो भनेर भनेको छु । तर मैले किमार्थ हत्यारालाई कारबाही होसचाहिँ भनेको छैन । भन्दा पनि भन्दिनँ । उसलाई कारबाही गरेर मेरा पिताजी फर्केर आउने होइनन् । हत्यारा कारबाही होस् भनेर म प्लेकार्ड बोकेर पनि हिँड्दिनँ । त्यो हतियार अर्कोलाई उठेन भने मेरो जित त्यही हुन्छ ।

dinbandhu pokharel 3

  • नारायण आध्यात्मिक केन्द्र निर्माणको कुरा के हो ?

काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण आध्यात्मिक केन्द्र बनाउँदै छौँ । त्यसमा तीन वटा आयामलाई सँगै लैजाँदै छौँ । पहिलो आध्यात्मिक साधना, ध्यानको माध्यमबाट व्यक्तिको मस्तिष्क परिवर्तन गराउने । मनको शुद्धीकरण गर्ने । दोस्रो वेद र बुद्धलाई चिनाउने अभियान । संस्कार र आविष्कारलाई चिनाउने अभियान । अध्यात्मवाद र भौतिकवादलाई वकालत गर्ने केन्द्र निर्माण गरौँ । यही अभियानमार्फन नेपालले विश्वलाई एक दिन नेतृत्व गर्छ । तेस्रोचाहिँ बद्रीधाम बनाउँदैछौँ । 

  • बद्रीधाम नै किन ? बाँकी तीन धाम त अन्तै हुने भए फेरि ?

राज्यले साथ दियो भने चारै धाम नेपालमा बनाउँछौँ । भारतको कुम्भ मेलामा मोदी सरकारले लगानी गरेर, ब्रान्डिङ गरेर ५२ करोड मान्छे गए भने नेपालको चिज के हो ? वेद र बुद्ध के हो ? चिनाउने अभियानमा राज्य लाग्नु पर्दैन ? 

आज चार धामका नाममा अर्बौँ पैसा अन्तै गइरहेको छ । वार्षिक रूपमा पाँच लाख नेपाली चारधामको दर्शन गर्न जान्छन् । एउटा व्यक्तिले थोरै मात्र पनि (पचास हजार) रुपैयाँ खर्च गर्छ । अनि सीधै २५ अर्ब भएन ? कुम्भमेलामा मात्र नेपालीले डेढ खर्ब खर्च गरे भन्ने छ ।

  • जहाँ गए पनि जलले स्नान गर्ने, पत्थरको दर्शन गर्ने हो भनिन्छ । यो नेपालमै किन नगर्ने ? नेपालीलाई नेपालमै किन नरोक्ने ? पैसा नेपालमै किन नराख्ने ? भन्ने तपाईंको भनाइ हो ? 

मैले त्यो रोक्न खोजेको भनेर कसैलाई चुनौती त दिएको होइन । तर यो गरिमाचाहिँ नेपालमै उठाउन सकिन्छ । हाम्रो देश त पूण्यभूमि हो । तीर्थभूमि हो । ज्ञानभूमि हो । देवभूमि हो । वैदिकभूमि हो । पशुपतिनाथको भूमि हो । वुद्धभूमि हो । यो भूमिको पुनर्जागरण गरेर त्यो किसिमको कार्यक्रम नेपालमा किन गर्न सकिँदैन ? गर्नुपर्छ भनेर ऊर्जाका साथ लागेका छौँ । नेपाल भूमिलाई आध्यात्मिक गुरु राष्ट्र बनाउने अभियान पनि हाम्रो छ ।

  • नारायण आध्यात्मिक केन्द्रमा यति धेरै बनाउन वा तपाईंले सोचेजस्तो गर्न कति बजेट लाग्छ ?

यो ५० देखि ५५ करोडको योजना हो । अहिले १७ करोड खर्च गरिसकेको छौँ ।

dinbandhu pokharel 4

  • यत्रो पैसा कहाँबाट ल्याउनुभयो ?

भक्तजनलाई गुहारेर, आफूले प्राप्त गरेको दक्षिणा र केही सरकारबाट पनि सहयोग लिएका छौँ ।

  • पण्डितहरू निष्ठा र नियममा बस्दैनन् भन्ने आरोप पनि छ नि ?

तपाईंले गजब कुरा गर्नुभयो । अध्यात्म भनेको पहिरन होइन । चन्दने निधार बनाएर, जटाजुट भिरेर, खरानी घसेर कोही पनि मान्छे अध्यात्मवादी हुँदैन । मनको शुद्धीकरण गर्नुपर्‍यो । त्यो शुद्धीकरण सुट टाई लगाएर पनि गर्न सकिन्छ ।

  • पछिल्लो समय जो पनि पुराणवाचक बनेको जस्तो देखिन्छ । यो के हो ? यसलाई साधना, अध्ययन नचाहिने हो ? 

अध्ययन नै सर्वेसर्वा हो । अझ अहिलेका वाचकवाचिकालाई त के भन्छु भने कुरान, बाइबल, पूर्वीय दर्शन पनि अध्ययन गर्नुपर्‍यो । अझ मार्क्सवाद पनि अध्ययन गर्नुपर्‍यो । अहिलेको उत्तर आधुनिक कालमा त विनिर्माण पनि हेर्नुपर्‍यो । यी सबै कुरा गरेर आउँछ भने स्वागत नै गर्नुपर्छ ।

  • तपाईंहरूजस्ता पण्डितले नै छुवाछुत, कथित दलित, कथित उपल्लो जातका कुरा गरेर समाजमा विभेद बढाउने काम गर्नुभयो भन्ने आरोप पनि छ नि ? 

दलित, छुवाछुतजस्ता विभेदकारी एउटा पनि शब्द धर्मशास्त्रमा देखाइदिनुस् म आजैबाट यो अभियान छाडिदिन्छु । 

dinbandhu pokharel 5

भारतको शब्द ल्याएर यहाँ दलित शब्दको प्रयोग गरिएको छ । वैज्ञानिक शिल्पीहरू हाम्रा दाजुभाइलाई दलित बनाउन मिल्छ ? केही गैरसरकारी संस्थाहरूलाई प्रयोग गरेर यस्तो भाष्य निर्माण गरिएको छ । राज्यले नै दलित भनेर लेख्ने गरेको छ । यो पनि गलत छ । गुण र कर्मका आधारमा व्यक्ति उच, नीच बन्ने हो । जन्मका आधारमा हुँदैन ।

  • तपाईंले सुरु गरेको अभियान कहिले समापन हुन्छ ?

२०८२ साल वैशाख १९ गतेदेखि २७ गतेसम्म बद्रीनारायणको प्राण प्रतिष्ठा हुँदैछ । त्यसमा उपस्थितिका लागि सबैमा हार्दिक अनुरोध गर्दछु । वैशाख २३ गते नारायण गुरुलाई श्रद्धाञ्जली दिने दिन पनि हो । 

  • हिन्दु राज्य बनाउनुपर्‍यो, राजसंस्था फर्काउनुपर्‍यो भनेर आन्दोलन सुरु भएको छ । यसमा तपाईंको धारणा के हो ?

व्यवस्थाको विषयमा म प्रवेश गर्न चाहन्नँ । म राजनीतिक कुरा गर्न चाहन्नँ । तर यो वेद र बुद्धको राष्ट्र हो । यो सनातनी राष्ट्र बन्नुपर्छ भनेर म डे वानदेखि लागेको व्यक्ति हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया