मनकुमार तामाङ

केपी कमरेड
लालसलाम
म मनकुमार तामाङ
जंगेले
उतिबेलै मास्न खोजेको जात
चिन्नु भो नि !
कि भुल्नु भो ?
एकचोटि सम्झिनुस् त !
माफ गर्नुस्
म तपाईंलाई
प्रधानमन्त्री होइन
केपी कमरेड भनेरै सम्बोधन गर्न चाहन्छु
मलाई अझै पनि
केपी कमरेड नै प्यारो लाग्छ
प्रधानमन्त्री शब्दमा त
खै के के जातिको गन्ध आउँछ
प्रतिगमन
तानाशाही
यति
ओम्नी
सत्तरी करोड
मार्सी धान
भस्मासुर
हिटलर
बेसारपानी
बेलौतीको पात
आदि आदि ।
डेकेन्द्र राजवंशीले आत्महत्या गरेपछि
झापामा म एक्लै छु
अस्ति आरके कमरेडले फोन गर्दा तपाईंलाई सोधेको थिए
सीपी कमरेडसँग भेट नभएको पनि तेह्र वर्ष भएछ
मोहनचन्द्रले फोन गरिराख्छन्
उनको फोन आउँदा खुसी लाग्छ
खै किन हो
चटक्कै माया मार्नु भो
मैले तपाईंलाई भुल्न सक्दिनँ
फरक यत्ति हो तपाईंलाई अतीत सम्झिन मन लाग्दैन
म अतीत सम्झेर बाँचिरहेको छु ।
एकचोटि
झापा आउनुस्
सँगै बसेर
एक घान मही र मकै खाने धोको छ ।
म पनि सत्र वर्ष जेल बसेकै हो
मैले पनि क्रान्ति गरेकै हो
तपाईंले गरेको योगदान र मेरो योगदानमा
कहीँ कतै कम छैन
फरक यत्ति हो
तपाईं बाहुनको छोरा भएर
बाटोमाथि फुल्नुभयो
म तामाङको छोरा भएर
बाटोमुनि फुलेँ ।
०००
(मनकुमार तामाङ सत्र वर्ष जेल सजाय पाएका झापा विद्रोहका योद्धा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न