आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्

शनिबार, ३० चैत २०८१

काठमाडौँ । रातोपाटीको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १६ औँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम नेपाली महिला प्रजा राज्यलक्ष्मी देवी सिंह बस्नेतका सम्बन्धमा छ । वि.सं.२०२५ साल असार १४ गते उनलाई यो सौभाग्य प्राप्त हुन पुगेको थियो ।

राष्ट्रिय पञ्चायतको बाह्रौँ अधिवेशनका बेलामा राष्ट्रिय पञ्चायतका उपाध्यक्षका लागि पाँचजना सदस्यको दरखास्त परेको थियो । यिनमा तीनजना सदस्यले आफ्नो नाम फिर्ता लिएका थिए । प्रजा राज्यलक्ष्मी देवी तथा डम्बरबहादुर बस्नेतका प्रस्तावहरू पेस भई गुप्त मतदानद्वारा निर्वाचन भएको थियो ।

यसमा ५० प्रतिशतभन्दा बढी मत ल्याई ४५ वर्षीया प्रजा राज्यलक्ष्मी देवी राष्ट्रिय पञ्चायतको उपाध्यक्ष पदमा निर्वाचित हुन पुगेकी हुन् । २०२४ सालमा नेपाल महिला सङ्गठनबाट राष्ट्रिय पञ्चायतका लागि उनी निर्वाचित भएकी थिइन् । प्रजा राज्यलक्ष्मी देवीले नेपाल महिला सङ्गठनको केन्द्रीय समितिको सचिवका रूपमा रहेर पनि काम गरिन् ।

यसबाहेक त्रिभुवन स्मारक समिति तथा गान्धी स्मारक समितिमा पनि सदस्य रहेकी थिइन् । महिला विकास तथा उत्थानका दिशामा उनी सतत क्रियाशील रहिन् ।

शिक्षाको विकासका लागि पनि उनले काम गरेकी थिइन् । अन्तर्राष्ट्रिय महिला सम्मेलनहरूमा समेत उनको सहभागिता रहेको थियो ।  

प्रजा राज्यलक्ष्मी देवीले यहाँ एसएलसी गरी इलाहावादबाट आई.ए. उत्तीर्ण गरेकी हुन् । उनी पढाउन पनि निकै सौखिन थिइन् ।

उनकी भतिजी शान्ता शाही भन्छिन्– ‘मैले पनि उनको घरमै गएर पढेकी हुँ ।’ प्रजाराज्यलक्ष्मी आफूले पढे, लेखे तथा जानेका कुरा अरूलाई सिकाउन सदा तत्पर रहन्थिन् ।

उनले आफ्नो यो अभिरुचिलाई घरमा मात्रै सीमित राखिनन् । पद्यकन्या विद्याश्रममा स्वयंसेवक शिक्षिकाका रूपमा रहेर पनि सेवा गरेकी थिइन् ।

प्रजाराज्यलक्ष्मीको विवाह २००८ सालमा प्रख्यात राजनीतिज्ञ खड्गमान सिंह बस्नेतसित भएको हो । नेपालको राजनीतिक इतिहासमा खड्गमानको नाम विशिष्ट छ ।

नेपालको पहिलो राजनीतिक पार्टी ‘प्रचण्ड गोरखा’ का संस्थापक सदस्य खड्गमान २० वर्ष जेल परेका व्यक्ति हुन् । १०४ वर्षे जहानिया राणाशासनको अन्त्य हुने बेलामा २००७ माघ महिनामा उनी जेलमुक्त भएका थिए ।

प्रचण्ड गोरखाको स्थापना वि.सं.१९८७ सालमा भएको हो । विश्वयुद्धमा सहभागी भई फर्किएका अवकाशप्राप्त सैनिकलाई समेटेर उनले राणाविरोधी क्रियाकलाप अघि बढाएका थिए ।

लामो अवधि जेल पर्ने खड्गमान पछिल्ला कालखण्डमा मन्त्री, शाही परामर्शदाता, अञ्चलाधीश, राजसभा स्थायी समितिका सदस्य थिए । पाकिस्तान, इरान र टर्कीका लागि शाही नेपाली राजदूत समेत बने ।

‘शहीदहरूको सम्झना’, ‘जेलमा बीसवर्ष’, ‘सौगात र सम्झना’ तथा ‘फोर च्याप्टर्स फ्रम द ट्वेन्टी एयर्स इन प्रिजन’ र ‘जेलबाट बाहिर चालीस वर्ष’ कृतिका लेखक खड्गमान सिंह हक्की स्वभावका जुझारू व्यक्ति थिए ।

प्रजा राज्यलक्ष्मी देवीको विवाहका सम्बन्धमा यतिखेर उल्लेखनीय एउटा रोचक पक्ष रहेको छ । राजा त्रिभुवनको इच्छा अनुसार यो विवाह भएको हो । खड्गमान सिंह मन्त्री भएको दुई महिनापछि श्री ५ त्रिभुवनबाट उनलाई विवाह गर्न भन्दै यसका लागि केटी आफैले खोजिदिने कुरो व्यक्त भएपछि खड्गमानले नकार्न सकेनन् । राजा त्रिभुवनबाट साहेबज्यू रणविक्रम शाहलाई आफ्नी छोरी खड्गमानसित विवाह गरिदिनभन्दा उनले मुख अँध्यारो लगाएका थिए । राजा त्रिभुवनबाट ‘उसको घरबार छैन भनेर चिन्ता गर्नुपर्दैन । म सबै व्यवस्था मिलाइदिन्छु’ भनेपछि विवाह भयो ।

साहेबज्यूका छोरीहरूलाई राणाहरूसित र राणाका छोरीहरूलाई साहेबज्यूहरूसित मात्रै विवाह गर्ने चलन यसैबेलादेखि भङ्ग भएको हो ।

प्रजा राज्यलक्ष्मी देवी सानैदेखि राणा शासकका निरङ्कुशतन्त्र मन पराउँदैन थिइन् । त्यसैले, उनलाई पनि यो विवाह सहज स्वीकार्य हुनपुग्यो ।

विवाहका बेलामा भएको रौनकलाई खड्गमान सिंहले आफ्नो कृतिमा यसरी बयान गरेका छन्–

‘दुलहा ‘मन्त्री’ भएको हुँदा जन्ती जानुअघि १७ तोपको सलामी लाग्यो । सारा राणा जर्नेलले सलामी दिए । सरकारी, सजेको बग्गीमा दुलहा थियो । उसको अगाडि ब्यान्डबाजा रिसल्ला थिए । त्यस्तै पछाडि पनि रिसल्लाहरू थिए । दुलहीसहित जन्ती फर्कंदा पनि १७ तोपको सलामी लाग्यो । कहाँ सत्तलमा जन्मेको टुहुरो अनाथ, कहाँ त्यो मानसम्मान पत्याइनसक्नु थियो !’

यसरी विवाह भएपछि श्री ५ त्रिभुवनबाट घरको व्यवस्था पनि भयो । राजा त्रिभुवनलाई पहिलेदेखि प्रजा राज्यलक्ष्मी देवीको स्वभाव र प्रवृत्ति पूरै थाहा भएकाले आफूसित विवाह गराउन जोड दिइएको खड्गमान सिंहले आफ्नो ‘जेलबाट बाहिर चालीस वर्ष’ मा उल्लेख गरेका छन् ।

खाने बन्दोबस्त मिलाउन प्रजा राज्यलक्ष्मी देवीलाई विराटनगरमा दुई सय बिघा जग्गा बक्सने कुरो भएको थियो । पछि आएर, खड्गमानसिंहको दरबारभित्र अलि कुरो नमिलेकाले त्यसै थन्कनपुगेको उल्लेख पाइन्छ ।

श्री ५ त्रिभुवनसँग खड्गमान सिंहको अत्यन्त सुसम्बन्ध रहे तापनि श्री ५ महेन्द्रका पालामा भने उस्तो मधुर देखिएन । त्यसैले हुनुपर्छ, राजा महेन्द्रबाट अञ्चलाधीश बनाइँदा उनले मन नपराएको लेखेका छन् ।

कतिपय स्वदेशी, विदेशीले उनलाई प्रधानमन्त्री बन्न योग्य व्यक्ति भनेका बेलामा अञ्चलाधीश हुन पुगेकाले पनि त्यस्तो भावना उब्जिएको हो । तर प्रजा राज्यलक्ष्मी देवीले उनलाई सम्झाइबुझाइ गरी सकारात्मक दृष्टिकोण राख्न जोड दिएकी थिइन् ।

यसको स्वीकारोक्ति खड्गमानका कृतिमा भेटिन्छ । यसरी कुशल राजनीतिज्ञ खड्गमानलाई समेत प्रजा राज्यलक्ष्मी देवीले परामर्श दिनेगरेको प्रष्ट हुन्छ ।

पति खड्गमान भेरी अञ्चलका अञ्चलाधीश भएपछि उनी पनि सँगै त्यहाँ पुगिन् ।

र, गाउँ, घर, पहाड, गरिब, दुःखी एवं महिलाका समस्या बुझ्ने अवसर पाइन् । यसैबेलादेखि उनलाई समाजसेवा गर्ने धुन चढ्यो ।

महिला सङ्गठन हुँदै राष्ट्रिय पञ्चायतको सदस्य भई उनी उपाध्यक्षसम्मको यात्रामा क्रियाशील बनिन् । महिला सङ्गठनको सचिवका रूपमा उनले देशका विकटभन्दा विकट ठाउँमा पुगी सङ्गठन विस्तार गरेकी थिइन् ।

महिला शिक्षा, प्रौढ शिक्षा, नारी जागरणका काममा पनि उनले विशेष योगदान पुर्‍याइन् । नेपाली महिलाको प्रतिनिधित्व गर्दै उनले आयरल्यान्ड, जर्मनी आदि देशमा आयोजित अन्तर्राष्ट्रिय महिला सम्मेलनमा सहभागिता जनाएकी थिइन् ।

उपाध्यक्ष भइसकेपछि बेलायती संसद्को निमन्त्रणामा गएको नेपाली टोलीमा पनि उनी संलग्न थिइन् । त्यहाँबाट फर्कंदा इजरायल घुम्ने मौका पाइन् ।

आफ्नो जमानामा ब्याडमिन्टन, बुद्धिचाल खेल्न रुचाउने प्रजा राज्यलक्ष्मी देवीले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग घरमै आई.ए.सम्मको अध्ययन गरेकी हुन् ।

त्यतिखेर साहेबज्यूका छोरीबेटीलाई बाहिरतिर पढ्न जाने अनुमति नभएकाले महाकवि लक्ष्मीप्रसाद देवकोटा उनलाई पढाउन घरमै आउँथे ।

उनले पद्मकन्या विद्याश्रममा पढाउन जाँदा पनि अनुमतिका लागि राजा त्रिभुवनसमक्ष बिन्तीपत्र चढाएकी थिइन् । स्वीकृति पाएपछि मात्रै उनी त्यहाँ पढाउन पुगेकी हुन् ।

वि.सं. १९८० सालमा कमलपोखरी, काठमाडौँमा जन्मिएकी हुन्– प्रजाराज्यलक्ष्मी देवी सिंह । उनकी माता रणराज्यलक्ष्मी शाह र पिता रणविक्रम शाह हुन् ।

प्रजा राज्यलक्ष्मी देवीको निधन छिटै भयो ।

उनी बितेको यकिन साल पत्ता लाग्न सकेन । उनकी भतिजी शान्ति शाहीका अनुसार – ‘काकाभन्दा पहिले बितेकी हुन् । उनलाई घाँटीको क्यान्सर थियो । धेरै दुःख त पाइनन् तर अलि अगावै गइन् ।’

भतिजी शान्ति शाहीको पनि निधन भइसकेको छ । शान्ति शाही २०७६ मङ्सिर १० गते संसारबाट बिदा भएकी हुन् ।

प्रजा राज्यलक्ष्मी देवीका भाइ शशीविक्रम र छोराको नाम सुमनसिंह बस्नेत हो । सुमन व्यापार गर्थे । आफन्त श्यामसिंह बस्नेतका अनुसार सुमनको पनि निधन भइसक्यो ।  नेपालको राजनीतिक इतिहासमा प्रजाराज्यलक्ष्मी देवी सिंह बिर्सनै नसकिने नाम हो । उनका सम्बन्धमा विस्तृत जानकारी प्रकाशमा ल्याउनेतर्फ सरोकारी पक्ष जागरूक हुनु जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया