काठमाडौँ । पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुस समेत गर्न थालेका हुन् ।
तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ । पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ ।
सो सडक खण्डको २०.५ किलोमिटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ । त्यसै गरी यस सडक खण्डमा ४ ठुला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिनेछ ।
७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म २ पटक म्याद थप गरिएको थियो ।
पूर्वी खण्डको भौतिक प्रगति भने ८१ प्रतिशत रहेको सडक विभागले जनाएको छ । त्यसका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा काम भइरहेको छ । सो खण्ड अन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ ।
सो सडक खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ । यो खण्ड अन्तर्गत बन्न पर्ने १७ पुलमा सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।
२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यस सडक खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । ६ अर्ब २१ करोड ३१ लाखमा यस सडक खण्डको ठेक्का लागेको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया