सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
नियात्रा

दरभङ्गामा दुई दिन : याद र अनुभूति

शनिबार, ३० चैत २०८१, १५ : ००
शनिबार, ३० चैत २०८१

काठमाडौँको व्यस्तता र भिडबाट बाहिर निस्कँदा मन एकदम हलुका तथा स्वतन्त्र महसुस हुने गर्छ । यसपटक पनि प्राज्ञिक विमर्श तथा अन्तर्राष्ट्रिय सम्मान ग्रहणका लागि भारतबाट आएको निमन्त्रणाले सोही अनुभूति गर्ने मौका दियो । सन् २०२४ नोभेम्बर २७ र २८ मा त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यक्रमको आयोजनादेखि व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी निभाउनुभएका पद्मकन्या बहुमुखी क्याम्पसका हिन्दी, संस्कृत एवं पत्रकारिता विभागका विभागाध्यक्ष आदरणीय गुरु डिल्लीराम शर्मा सङ्ग्रौलाको कार्य, स्वभाव तथा मिलनसारिताबाट प्रभावित भएका भारतका प्राध्यापकले उहाँलाई गरेको विश्वासको परिणति थियो यो बोलावट । उहाँले नेपालका जल्दाबल्दा र सक्रिय साहित्यकारहरूको पङ्क्तिमा मेरो पनि नाम पठाएपछि अन्तर्राष्ट्रिय अवार्डका लागि चयनित हुन पुगेकी थिएँ भने केही समयअघि नै हिन्दी भाषा–साहित्यसँग सम्बद्ध कार्यपत्र लेखनका लागि गरिएको आह्वानमा मैले पठाएको ‘नेपालमा हिन्दी भाषाको प्रभाव’ विषयक अनुसन्धान समेत प्रस्तुतिका लागि चयनमा परेको थियो । यही प्राज्ञिक कार्यले तय गरेको थियो अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालबाट भारतको दरभङ्गातर्फको यात्रा ।

मार्च १६ र १७ का लागि तय भएको कार्यक्रमका लागि मार्च १५ मै काठमाडौँबाट हिँड्ने योजना बन्यो । सोहीअनुसार नेपालका तर्फबाट सम्मान ग्रहण गर्न तथा कार्यपत्र प्रस्तुतिका लागि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हामी तीन (डा. जीवन श्रेष्ठ, डिल्लीराम शर्मा र म) बिहान ८ बजे बल्खुमा भेला भयौँ । अघिल्लै दिन डिल्ली सरले गौरका लागि काटेको टिकटकै समयमा आठजना यात्रु बोकेर सुमो गौरतर्फको यात्रामा निस्कियो । मनमा अनेक कौतुहलता जागे । खासमा कार्यपत्र जुनसुकै भाषामा पनि प्रस्तुत गर्न सकिने छुट छ भन्ने सुनिएको थियो । तर पनि नेपाली भाषीहरू नै नभएको स्थानमा पुगेर कार्यपत्रको प्रस्तुति कुन भाषामा गर्दा राम्रो होला भन्ने मनको हुन्डरी एकातिर चलिरहेको थियो ।

सकेसम्म आफ्नै भाषाको प्रयोग गर्नु नै वेश भएको निष्कर्ष एउटा मनले दिएको थियो भने दिमागले आफूले बोलेको कसैले नबुझिदिएपछि विचार सम्प्रेषण नहुने र बालुवामा पानी खन्याएको जस्तो हुने स्थितिसँग सजगता थपिरहेको थियो । जीवन सर र डिल्ली सर भने हिन्दी भाषामा पनि उत्ति नै पोख्त लाग्थ्यो मलाई । अझ डिल्ली सर त हिन्दी विभागकै प्रमुख हो भन्ने के भुलिरहेकी थिएँ कुन्नि मैले ? उहाँहरूलाई यो समस्याको विषय नै होइन । समस्या त मभित्र मात्रै डुबुल्की मारिरहेको थियो तर जे पर्ला टर्ला, परिस्थिति हेरेर निर्णय लिनुपर्ला अनि सरहरूले थोरै सहयोग गरिदिनुभयो भने म पनि जिरै त छैन नि भन्ने मनमा हिम्मत बढाएर ध्यान अन्यत्र मोड्न थालेँ । प्रकृतिका बाह्य दृश्यसँग रमाउँदै विभिन्न स्थानका ऐतिहासिक एवं राजनीतिक गतिविधि र प्राकृतिक वितण्डाका बारेमा बहसमा उहाँहरू भने जुटिरहनुभएको थियो । 

dr, ambika (2)

दक्षिणकाली मन्दिरलाई बाटैबाट दर्शन गरियो । भक्तजनको घुइँचो उस्तै थियो । आस्थाले मानिसलाई सकारात्मक ऊर्जा र जीवनप्रतिको मोह थपिदिन्छ र त यसरी अदृश्य वस्तुमा पनि समर्पित भइरहेका छन् भन्ने सोच मनमा आयो । कतै कच्ची त कतै पक्की सडकलाई फन्को मार्दै गाडीले रफ्तार लिइरह्यो । मकवानपुरका पहाडी दृश्य र पहिरोका सतर्कताका बारेमा गाडी चालकसँग कुराकानी गर्दै यात्रा अघि बढिरहेको थियो । तीनजना अटिने सिटमा चारजना र त्यो पनि दुई जनाको जत्रै ज्यान भएकी एउटी दिदी सिटमा हामीसँगै हुनुहुन्छ भन्ने घुम्ती बाटोहरूले याद दिलाइरहन्थे । कोही अघि र कोही पछि सर्दै हामी खाँदाखाँद गरेर अटाएका थियौँ । सार्वजनिक यातायातमा लामो दूरीमा हिँड्दाको पीडा बिर्सन खोजेर प्रकृतिसँग रमाउन खोज्यो, बाढीले बिगारेका सडक, खस्नै लागेका ढिस्का, ढुङ्गा र माटो अनि कुलेखानीले बगाएका बस्ती तथा बालबालिकाको स्मरणले मन उजाडिन्थ्यो । कुलेखानी ड्याम कटेर उकालो लागेपछिको जङ्गलको हरियाली, शीतलता र लालीगुराँसका फूलले भने मन आह्लादित बनाउन थाले । 

 

हामी आफूलाई कल्पनामा उडान भर्न सक्ने सर्जक ठान्थ्यौँ । त्यो त्यतिबेला भ्रम बनिदियो, जब गाडी चालकले हामीले कल्पना गरेर लेखेका भन्दा पनि अकल्पनीय एवं स्वैरकाल्पनिक कथालाई वास्तविक भोगाइ नै हो भन्ने दाबीमा प्रस्तुत गरिरहेका थिए । उनले सुनाएको भूतसँगको प्रत्यक्ष भेटघाट र आफ्नो बुबालाई वनदेवी लाग्दाको कथा साह्रै रोचक थियो । रुखमा चढेका बाबु हाँगाहाँगामा हातै नसमाती हिँडेको, एक रुखबाट अर्को रुखमा गएको, जसोतसो आफन्तले रूखबाट झारेपछि पाँच जनाले बोक्न नसक्ने भारी पनि एक्लै बोकेर दौडेको र पछि थलिएर बिरामी परेको, कान समेत सुन्न छाडेको, आफैँ धामी बनेर फुकफाक गर्ने काममा लागेपछि सबै सामान्य भएको घटना रोचक रूपमा उनले सुनाएका थिए । हामी भ्रम र यथार्थबिचको तर्कवितर्कमा लाग्नुभन्दा पनि उनको शैलीबाट प्रभावित भएर सुनिरहेका थियौँ भने हामीलाई ओझेलमा पारेर उनले गरेका काल्पनिक वर्णनले उनमा भएको सिर्जनात्मक क्षमता बोध भइरहेको थियो । तर उनले सत्य घटना नै हो भनेर पुष्टि गरिरहन खोज्दा मनमा यसलाई कल्पना वा भ्रम मान्नुपर्छ भन्ने तर्क खेलिरहँदा पनि समर्थनमा ‘ए, है, अँ, अनि’ भन्नुबाहेक लामा वाक्य कोही बोलिरहेका थिएनौँ । त्यसो त घुमाउरा र साँघुरा बाटोले पेटमा मच्याएको खैलाबैला, उकुसमुकुस तथा असहजताका साथमा छेवैमा बस्ने दिदीले गरेको लगातारको बान्ताबाट समेत प्रताडीत भएका कारणले पनि मनमा आएका अनेक तर्क–वितर्कलाई मनमै रोकिरहेका थियौँ । सायद जीवन सर र डिल्ली सर पनि यस विषयमा मौन रहनुका कारण मैले यही अनुमान गरेकी थिएँ ।

हिन्दी भाषामा कार्यपत्र नै प्रस्तुत गर्ने पहिलो दुस्साहस मैले कमतौलमा गरेँ । आफ्नो प्रस्तुति ध्यानपूर्वक सुनिदिने र बिचबिचमा हौसला दिने तालीको गडगडाहटले मन प्रफुल्ल मात्रै थिएन, हौसला मिलिरहेको थियो । प्रस्तुति सकेपछि आफूले प्रस्तुतिका क्रममा गरेका त्रुटिका बारेमा सोध्न मन हतारिएको थियो ।

हेटौँडाबाट सुमो गौर नजाने निर्णयमा पुग्यो । टिकट गौरसम्मको काट्ने तर बिचैमा यात्रु छाडिदिने यो प्रवृत्ति निको लागेन । नेपालमा पाइलैपिच्छे धोका दिन जानेका मान्छे भेटिन्छन् भन्ने लागिरह्यो । काउन्टरमा बारम्बार ‘बिच बाटोमै त छाड्दैनौ नि ?’ भनेर शङ्काले प्रश्न नगरेको पनि होइन । मुखले दिएका जवाफ र व्यवहारमा मेल खाइदिएको भए देश यस्तो हुन्थ्यो र ? प्रश्न उस्तै उब्जिरह्यो । जेहोस्, गौर जाने अर्को गाडीमा चढाएर सुमो फर्कियो । पहाडी भू–भागबाट समथर भू–भागमा यात्रा गर्दाको अनुभूति फरक हुने नै भयो । पहाडको शान्ति र शीतलता तराईको गर्मी र कोलाहलमा कहाँ भेटिनु ? बसमा बजाएका गीत, यात्रुका चर्का स्वरका वार्तालाप, तातो हावाको राप बिर्साउने बगानका आँपका फूल र फाँटका गहुँका बालाले एकतमास ध्यान खिचिरह्यो । गौर बसपार्कमा पुगेपछि खाना खाइयो । करिब ३ बजेको थियो । हामीलाई यहाँबाट आज साँझसम्म दरभङ्गा पुग्नु थियो । तसर्थ त्यसका लागि कसरी कहाँबाट आउने भन्ने विषयमा बारम्बार डिल्ली सरले कार्यक्रमका संयोजक प्रा.डा. सञ्जय कुमारलाई सम्पर्क गरिरहनुभएको थियो । उहाँकै मार्गनिर्देशन अनुसार त्यहाँबाट दरभङ्गाको कमतौलतर्फको यात्रामा अघि बढिरह्यौैँ ।

उसो त गौरको बोर्डर पार गर्नका लागि बसपार्कबाट टाँगा तथा टेम्पु जुन समाते पनि हुने रहेछ । गर्मीले धापिएर उभिएका घोडाको मायाले टाँगामा चढ्न मनले मानेन । सरहरूले टाँगा चढ्न बनाउनुभएको योजनामा मेरा तर्कले छेको हालिदियो । त्यसो त उहाँहरू पनि निरीह जनावरलाई पर्ने अन्यायप्रति सजग र कोमल हृदयी हुनुहुँदो रहेछ । टेम्पु चढेर बोर्डर पास गरियो । नेपाल प्रवेश गरिरहेका यात्रुलाई नेपालले चेकजाँच गरेको देखिएन तर भारततिर भने झोलासहित यात्रु ओरालेर जाँच गरियो । टेम्पुबाट बैरगनियामा उत्रियौँ । काली मन्दिरको दर्शन गरी सीतामढीका लागि रेल समात्न लम्कियौँ । रेल नपाइने, बस पनि छुटिसकेको हुँदा टेम्पुमै जानुपर्ने बाध्यता धेरै टेम्पु चालकका मुखबाट सुनियो । तत्काल पत्यार नगरी प्लेटफार्मतर्फ लम्किएको फाइदै भयो । यसअघि दिल्ली जाँदा पनि रेलको टिकट नपाएको र मेट्रो रेल चढेर यसको धोको पूरा गरेको मेरो मन पहिलोपटक रेल चढ्न पाएर खुसीले गद्गद् भयो । दुई–तीन किलोमिटरसम्म लामा यस्ता रेलभित्र आफैँ बसिरहेकी छु भन्ने सम्झँदा पनि मन चञ्चल भयो । सपना वा विपना के हो भन्ने प्रश्नले समेत डेरा जमायो । यसभन्दा बढी त बाल्यकालमा हेरेको हिन्दी चलचित्र ‘कुछकुछ होता हे’ मा काजलसँग शाहरुख खान छुट्दै गर्दाको रेलको दृश्य झलझली आँखामा आइरह्यो ।

सीतामढीसम्मको छोटो रेल यात्रापछि हामी पिपुरीतर्फ लाग्यौँ । तराईका समथर जमिन र बस्तीभन्दा किञ्चित भिन्न लागेनन् यहाँको परिवेश । नेपाल र भारतलाई केवल राजनीतिक सीमानाले मात्र छुट्ट्याएको अनुभूति भएपछि मात्र आफू जन्मभूमिमा छैन भन्ने सम्झना हुने । नत्र तराईमा भएकै अनुभूतिले सताइरहने । जनकपुर, वीरगन्ज, सप्तरी र सिराहामै घुम्दै छु जस्तो । जेहोस् टेम्पुको लस्कर, सवारी–साधनको चर्को हर्न, जबर्जस्तका प्रतिस्पर्धा र कोलाहलले भने घरीघरी नेपाली परिवेशबाट पृथक्ता महसुस गराइदिन्थ्यो । बुद्ध जन्मेको देश, शान्तिको देश, प्राकृतिक विविधताले भरिएको देश, एउटै नाङ्लोमा सुकाइएका हिमाल, पहाड र तराईजन्य बिस्कुन र त्यसको पृथक् स्वादको झझल्कोले लखेटिरह्यो । आमाको काखको ममता छिमेकीको घरमा पुग्दा स्मरण भएझैँ लागिरह्यो ।

बसैठाका लागि अर्को टेम्पो समातियो । काठमाडौँमा जस्तै बस चढेपछि जति नजिक ओर्ले पनि ४० भारतीय रुपैयाँ भाडा तिर्नुपर्ने नियम टेम्पो चालक बताइरहेका थिए । साँझ झमक्क परिसकेको थियो । सडकका छेउछाउका बस्तीबाट धुँवाको मुस्लो उडिरहेको । सास फेर्न पनि उकुसमुकुस भयो । आकाशतर्फ हेर्दा टाउकैमाथि बादलको च्यादर देखिन्थ्यो । हरेक घरबाट निस्केका धुवाँले वातावरण निकै प्रदूषित भइरहेको थियो । यसको कारणबारे मनमा जिज्ञासा जागिरह्यो । न जाडो न गर्मी किन बालेका होलान् आगो ? खेतीपातीको समय भएकाले घँसेल्टा डढाइरहेका पो हुन् कि भन्ने हाम्रो अनुमानले फेल खायो । त्यहाँ लामखुट्टेले घरपालुवा जनावरलाई बढी सताउने भएकाले त्यसको समाधानका लागि धुवाँको प्रयोग गरिएको रहेछ । 

dr, ambika (4)

नयाँ ठाउँमा पुग्दा अनौठो म मानिरहेकी थिएँ वा त्यहाँका नारीहरू ? पत्तै भएन । हामीभन्दा पहिले नै टेम्पो चढिसकेका तीन नारीहरूको पङ्क्तिमा एक म थपिएकी थिएँ । अगाडि चालकको सिटको बस्नुभएका डिल्ली सर र जीवन सर त्यस ठाउँबारेका प्राचीन, राजनीतिक एवं धार्मिक र सामाजिक कुरामा चालकसँग ज्ञान बटुल्दै हुनुहुन्थ्यो । म बाहिर आवाजविहीन थिएँ तर मनमा आवाजका हुँडरीहरू तँछाडमछाड गरिरहेका थिए । छेउमा बसेका नारीहरू मलाई एकोहोरो नियालिरहेका थिए । उनीहरूका शिरमा फरियाको सप्को थियो, मेरो खाली । उनीहरू सिन्दूर, पोते र चुरामा सजिएका, मेरा सिउँदो, गला र हात खाली । उनीहरूको जस्तो पहिरन नभएर हो वा वर्ण । कहिले आँखा छलेर त कहिले सिधै हेरिरहेका थिए । धेरैजसो आँखा जुधेका बेला म मुसुक्क हाँसिदिन्थेँ । टेम्पोमा नअटेर अलिकलि बाहिर निस्किएको एउटा खुट्टालाई छुन्छन् कि जस्तो गरी हुइँकिएका बाइकका लोग्ने मानिसले पनि गौर गरेर हेरेझैँ लागिरहन्थ्यो । पाइन्ट र टिसर्ट लगाएर हिँडेकी युवती यहाँ नौली मानिने हो कि कसो हो ? बुझ्नै सकिरहेकी थिइनँ । पछि डिल्ली सरले पनि यही भावमा भन्नुभयो, ‘हजुरलाई मानिसहरूले धेरै नै गौर गरेर हेरिरहेका छन् त ।’ मैले पनि त्यही महसुस गरेको बताएँ । तर रहस्य पत्तो पाइनँ ।

बसैठा बजार उस्तै झिलीमिली थियो । टेम्पोको बोलावट अचम्मको । स्वागतमा तत्पर टेम्पोले तँछाड र मछाड गर्दै झम्टने प्रवृत्ति सुरुसुरुमा त रमाइलै लागेको थियो । जुन चोकमा पनि भीडभाड बढाउने र ध्वनि प्रदूषण बढाउने यो गतिविधिले दिक्कै बनायो । हामीलाई लिन बसैठा चोकमै आइपुग्नुभएछ सञ्जय कुमार सर । साथमा आशिष सर पनि हुनुहुन्थ्यो । बडो हार्दिकताका साथ हामीलाई स्वागत गर्नुभयो । यात्रामा भएका कठिनाइ तथा सहजताका बारेमा कुराकानी गर्दै हामी उहाँहरूसँगै कमतौल लाग्यौँ । बिच बाटोमा मिठाइका परिकारका साथ स्वागतमा मिठास थपिदिनुभयो । कार्यक्रम स्थलतर्फ नै हामी सोझियौँ । 

भोलिपल्ट कार्यक्रम सुरु भयो । कहाँका मान्छेले भरिएलान् यति ठुलो प्राङ्गण भन्ने मनको प्रश्नले एकै छिनमा उत्तर भेट्यो । एकाएक मानिसको घुइँचो बढ्यो ।

‘अक्षरज्योति’ लेखिएको ठुलो बोर्डमा नजर अडिएपछि यहीँ रहेछ भोलि कार्यक्रम हुने स्थल भन्ने सबैले सहजै अनुमान लगायौँ । भव्य तयारी भइरहेको थियो । स्टेज निर्माणदेखि पाहुनाहरूलाई खानपिन तथा बसोबासको व्यवस्था नै यसै प्राङ्गणमा गरिँदै थियो । पहिले होस्टल र विद्यालय रहेको यस मैदानमा पुरानै ढाँचाका घरलाई आधुनिक तवरले सजाउने कला देखेर हामी चकित पर्‍यौँ । यहाँ बनाइएको सरस्वतीको वीणा साह्रै सुन्दर थियो । यसको निर्माण आफ्नै विद्यार्थीले गरेको बताउँदै हुनुहुन्थ्यो सञ्जय सर । हामीलाई यति भन्दै गर्दा प्रफुल्लित उहाँको चेहरामा गुरुको सच्चा प्यार र चेलाको उन्नतिमा गौरवान्वित हुने शिक्षकको निस्वार्थपन प्रतिविम्बित भएको थियो ।

कार्यक्रमका सम्मानित हुन, कार्यपत्र प्रस्तुत गर्न तथा मुख्य अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न भूमिकामा सहभागी हुन देश–विदेशबाट पाल्नुभएका पाहुना आउने क्रम चलिरहेको रहेछ । झारखण्डबाट आउनुभएकी कविता कुमारी म्याम र उहाँको श्रीमान्सँग सर्वप्रथम हाम्रो भेट भयो । विद्यावारिधिमा अध्ययनरत उहाँ साह्रै मिलनसार र मृदुलभाषी हुनुहुँदो रहेछ । उहाँको श्रीमान् पनि असाध्यै सरल स्वभावको र फरासिलो लाग्यो । कलकत्ताबाट आउनुभएकी सरुपा पोद्दार म्याम र उहाँकी आमा दुवैको गीतले त झनै हामीलाई लट्ठ बनाएको थियो । विभिन्न ठाउँबाट आउनुभएका सबैसँग परिचय त गरियो तर कविता म्याम र सरुपा म्याम भने घर फर्केपछि पनि मनमा गढेर बसिरहनुभयो । 

भोलिपल्ट कार्यक्रम सुरु भयो । कहाँका मान्छेले भरिएलान् यति ठुलो प्राङ्गण भन्ने मनको प्रश्नले एकै छिनमा उत्तर भेट्यो । एकाएक मानिसको घुइँचो बढ्यो । कार्यक्रममा सहभागी महिलाहरू सबैजसो सारीमै थिए । सबैको शिरमा सारीको सप्को । आफूले सारी लगाए पनि त्यसरी ढाक्ने नगरेकाले टेम्पोमा जस्तै सबैले मलाई नै हेरिरहेका पो हुन् कि भन्ने झस्को भने मनमा पसिहाल्यो ।

सम्मान कार्यक्रम, मिथिला संस्कृतिको प्रदर्शन, कार्यपत्रको प्रस्तुति लगायत विभिन्न कार्यक्रम सम्पन्न भए । नेपालबाट आउँदै गर्दा बाटोमा खेलेका र थमथमाइएका मनका डर कमतौल पुग्नेबित्तिकै जागिहाले । कार्यक्रमको बिहानीको समय कार्यक्रमका सहभागी हेरेर हिन्दीमै कार्यपत्र प्रस्तुत गर्ने निर्णयमा पुगिसकेकी थिएँ र तुरुन्तै सरहरूसँगको सहयोगबाट प्रस्तुतिका लागि नेपालीमा तय गरिएको सामग्रीलाई हिन्दीमा अनुवाद गरेर राखेकी थिएँ । त्यसो त हिन्दी भाषामा कार्यपत्र नै प्रस्तुत गर्ने पहिलो दुस्साहस मैले कमतौलमा गरेँ । आफ्नो प्रस्तुति ध्यानपूर्वक सुनिदिने र बिचबिचमा हौसला दिने तालीको गडगडाहटले मन प्रफुल्ल मात्रै थिएन, हौसला मिलिरहेको थियो । प्रस्तुति सकेपछि आफूले प्रस्तुतिका क्रममा गरेका त्रुटिका बारेमा सोध्न मन हतारिएको थियो । हिन्दी भाषाका विज्ञ डिल्ली सरतर्फ हानिएँ । एक–दुई ठाउँमा बाहेक धेरै गल्ती नभएको भन्दै उहाँले झन् हौसला थपिदिनुभयो । पटकपटक सुनेको ‘हिम्मत के आगे जित हे’ भन्ने कथन चरितार्थ भएको महसुस भयो ।

‘अक्षरज्योति’ले आयोजना गरेको भव्य कार्यक्रममा हामीलाई पनि विशिष्ट अतिथि बनाइएको रहेछ । आफ्ना तस्बिरबाट बनेका ब्यानरलाई नियालेर भव्य प्राङ्गणलाई हेर्दा मन भरङ्ग भयो । विशिष्ट अतिथिका रूपमा मञ्चमा बोलाउँदै सम्मान गर्ने क्रममा आयोजकले लगाइदिएको गुलाबी रङको पन्जाबी टोपीमा मेरो ध्यान खिचियो । सम्मानित सबैका शिरमा सजिएका एकै प्रकारका टोपीले थपेको सौन्दर्यमा हामीले हस्तक्षेप मात्र गरेनौँ नेपालीपनको स्वाद थपिदियौँ । नेपालबाट लिएर गएका ढाका टोपी र रुद्राक्षको मालाले त्यसलाई विस्थापित गरिदिएपछि अब अनौठो अनुभूति गर्ने पालो उहाँहरूको भयो । 

विभिन्न विश्वविद्यालयबाट पाल्नुभएका प्राचार्य, प्राध्यापक एवं सम्मानित व्यक्तित्व र अतिथिका सम्मानमा प्रस्तुत गरिएको भाइबहिनीको कथक नृत्य, गायन, मिथिला नृत्यले सबैलाई लट्ठ पारिरहेको थियो । साथमा ढाकीको चाङमाथि दियो जलाएर भाइहरूले गरेको नृत्य झन् हेर्न लायक थियो । कतिबेला टाउकोबाट त्यो खस्ने हो र आगोले पोल्ने हो भन्ने मनमा डर पस्दापस्दै उनीहरूले कुनै जोखिमविना नै जोडदार नृत्य प्रस्तुत गरिसकेको पत्तै भएन । हामीले पनि त्यो ढक्की टाउकोमा बोकेर फोटो खिच्यौँ । तर उहाँहरूले जस्तो नसमातीकन अड्याउन भने जानिएन ।

कार्यक्रमको समापनमा खुवाइएको मिथिला खाना जिब्रोमै झुन्डिरह्यो । हुन त यसअघि आदरणीय दिज्यू उषा शेरचनको ‘बेग्लै म’ कथा सङ्ग्रहको विमोचनका क्रममा ललितपुरमा मास्टर सेफ सन्तोष शाहले सञ्चालनमा ल्याएको ‘मिथिला थाली’ रेस्टुरेन्टमा यसको अवसर त मिलेको थियो तर मिथिलाकै प्राङ्गणमा गएर त्यहाँका स्थानीयले बनाएको मिथिला थालीको स्वादमा रम्नुको मज्जा अर्कै थियो । चोखा, भात, घिउ, रोटी, तरुवा, तिलौरी, रहरको दाल, कडीबडी, आलुको भुजिया, सलाद आदि के के हुन् के के । हामीले नजानेका अनेक परिकार थिए । सबैलाई चाखेर हामी रमाइरहेका थियौँ । चाख्दाचाख्दै पेट भरिएकाले मन हुँदाहुँदै पनि कुनै स्वादिला परिकार थपेर खान भने सकिएन ।

कार्यक्रमको समाप्तिपछि हामी दरभङ्गाका विभिन्न स्थानमा घुम्न निस्कियौँ । नजिकै रहेको गायत्री मन्दिरको दर्शन गर्‍यौँ । एकाबिहानै बाटाभरि निस्किएका भ्यागुताका बच्चाहरूसँग रमाउँदै कुल्चिएला कि भन्ने सतर्कताका साथ मन्दिर पुगेका थियौँ । मन्दिरको गेटमा लेखिएको ‘आलस्य से बढकर अधिक घातक और समीपवर्ती शत्रु कोई नहीं’ वाक्यले मलाई झस्कायो, खासमा बिहानपख अलिक ढिलै उठ्ने आफ्नो बानी सम्झेर । मन्दिर परिसरभित्र पलाँसको फूल टिपेर सुकाइएको रहेछ । झारखण्डबाट आउनुभएकी मित्र कविताले यसका उपयोगिता तथा आफ्नो गाउँमा समेत यसले दिने गरेको सौन्दर्यका बारेमा बेलिविस्तार लगाउनुभयो । मन्दिर वरपरका हामीले नचिनेका बोटबिरुवा तथा फलफूल चिनाउँदै नेपाली र हिन्दी भाषामा यसका नाम समेत जान्ने कोसिस गर्‍यौँ । दुवै एकअर्काका लागि भर्खर भाषा सिकिरहेका शिशुतुल्य बनिरह्यौँ । 

dr, ambika (3)

मन्दिरबाट फर्किएर खाना खाएपछि डिल्ली सरसँग हामी कमतौल रेल स्टेसनतर्फ लाग्यौँ । उत्तरतर्फ हेर्दा ग्रामीण परिवेश तथा दक्षिणतर्फ सहरिया परिवेशले कमतौललाई आधा गाउँ र आधा सहर महसुस गराइरहेको थियो । रेल स्टेसनमा कहाँका लागि कति बजे कुन कुन रेल छुट्ने रहेछन् भन्ने फेहरिस्त बटुल्यौँ । रेल पर्खेर सडक छेउमा र स्टेसनभित्र एवं बाहिर भुइँमा निदाइरहेका, टोलाइरहेका, एकअर्कासँग ठुला स्वरमा भलाकुसारी गरिरहेका तथा मौनतामा दृश्य नियालिरहेका उदासी अनुहारहरू छरपस्ट देखिन्थे । कति त हामी नेपालीमा कुरा गर्दै हिँडिरहेको देखेर ध्यानपूर्वक हामीलाई नै नियालिरहेका पनि देखिन्थे । 

खासमा भारतीय खानामा पिरो ज्यादा हुने हुँदा दुई दिनदेखि नै मेरो पेट भने बिसञ्चो भइरहेको थियो । यसले गर्दा दही कतै भेटिए खाइहाल्ने मन हुन्थ्यो र बजारतर्फ निस्किँदा मेरो दाउ उही थियो । त्यसो त सञ्जय सरको आतिथ्यमा खानपानको जिम्मा लिएका महादेव दाइले पनि मेरो अवस्था बोध गरेर सकभर पिरो नभएका र मलाई मन परेका खानेकुरा अरूलाई भन्दा ज्यादा नै दिने गर्नुभएको थियो । तर पनि पेटमा सञ्चो नहुँदा खानामा कमै रुचि भएकाले बजारमा दहीकै खोजीमा लाग्यौँ । संयोगले कमतौलको पुरानो र चर्चित मिठाइ पसलमा हामी पुग्यौँ । त्यहाँका साहुजी पेसाले शिक्षक हुनुहुँदो रहेछ । उहाँले सङ्गोष्ठीमा आउनुभएका नेपाली अतिथिहरू भनेर हामीलाई त्यहाँका नयाँ नयाँ परिकार समेत चखाउनुभयो । मिठो शैलीमा कुरा गर्ने मात्र होइन विभिन्न टुक्का जोडेर बोल्ने र अतिथिलाई भगवान् सम्झेर सत्कार गर्ने उहाँको निश्चल व्यवहार तारिफयोग्य थियो । साथमा उहाँले चिनाउनुभएका कवि तथा मित्रहरूसँग साक्षात्कार मात्र नभएर उपहारका रूपमा पुस्तक साटासाट गर्ने अवसर पनि मिल्यो । 

कमतौल बजारलाई पैदलै यात्रा गरेर घुम्ने हाम्रो योजना अनुसार करिब दुई घण्टा घुमियो । त्यहाँका बजारमा र काठमाडौँका बजारमा खासै पृथक्ता थिएन । सञ्जय सरले हामीलाई अहिल्या मन्दिर पनि पुर्‍याउनुभयो । आफ्नी पत्नी अहिल्यालाई परपुरुष गमनका कारण श्राप दिएका गौतम ऋषिले कुरूप ढुङ्गामा परिणत गरेको कथन रहेछ । पत्थर बनेर बसेकी सोही अहिल्याको दर्शन गरियो । पछि सबै देवता तथा ऋषिहरूको अनुनयका कारण श्रापमुक्त गरिदिएको एउटा किंवदन्ती रहेछ । अर्को भने भगवान् रामको कृपाले अहिल्या पुनः मानवीय चोलामा आएको किंवदन्ती पनि रहेछ । जेहोस् वैदिक कालका हिन्दु धर्मका मन्त्रका प्रतिपादक गौतम ऋषिकी पत्नी अहिल्या सृष्टिकी सबैभन्दा सुन्दर नारी तथा ब्रह्मकी पुत्रीका रूपमा चिनिन्छन् । पौराणिक महत्त्व बोकेको यस मन्दिरको दर्शन गर्न पाउनु सौभाग्य नै ठान्यौँ । 

मधुबनीमा जन्मिएका मैथिली साहित्यका महाकवि विद्यापतिको जन्मस्थल हेर्ने धोको मनमै राखेर हामी दरभङ्गा दरबारतर्फ लाग्यौँ । करिब तीन हजार दुई सय चालिस वर्ग किलोमिटरमा फैलिएको र १६औँ शताब्दीमा स्थापना भएको भव्य दरबारको अवलोकन गरियो । प्राचीन इतिहास बोकेको यस्तो भव्य दरबारको जगेर्ना तथा संरक्षणमा विशेष ध्यान नपुगेको महसुस भयो । नेपालको राजनीतिमा पनि दरभङ्गाको पृष्ठभूमि र योगदान जोडिएको सन्दर्भमा अनेक तर्क–वितर्क गर्दै हामी कमतौलतर्फ फर्कियौँ । 

बिहानको २ बजे सञ्जय सरले हामीलाई कमतौल रेल स्टेसनमा पुर्‍याइदिनुभयो । अब उहाँसँग मात्र नभनौँ कमतौलसँग छुटिएर हामी पटनातर्फको यात्रामा निस्किँदै थियौँ । शिक्षाआर्जनका लागि पुर्खाहरू जाने गरेको स्थान पटना विश्वविद्यालयको प्राङ्गणमा पाइला राख्ने कुतूहलता र रहर मनमा उत्तिकै थियो । तर यहाँसम्म आउने वातावरण तयार गर्ने, अन्तर्राष्ट्रिय पदकबाट सम्मानित मात्र होइन प्राज्ञिक सङ्गोष्ठीमा विशिष्ट अतिथिका रूपमा हामीलाई सामेल गराउने र कार्यपत्रको प्रस्तुतिका माध्यमबाट नेपाल र भारतको साहित्यिक एवं भाषिक सम्बन्धका बारेमा बहस गर्दै परम्परादेखि मित्र राष्ट्रबिचमा रहेको सामाजिक, सांस्कृतिक, धार्मिक, पारिवारिक एवं भाषिक सम्बन्धको चुरो केलाउने अवसर दिनुहुने सञ्जय सरको परिवार, आफूलाई सधैँ कम तौलको सम्झनुपर्ने र अतिथिलाई उच्च आदरभाव राख्नुपर्ने मानसिकता बोकेका अन्य कमतौलवासीसँगको विछोडको बेला पनि थियो यो । तसर्थ यसले भावुक बनाएको थियो नै, तर मनमा पटनासँगको मेलको हुटहुटीले मलम लगाउने काम गरिरहेको थियो । तसर्थ अनिद्रा र थकानलाई बिर्सेर अँधेरी रातमा पटना जाने रेल चढाएर बिदाइको हात हल्लाइरहनुभएका सञ्जय सरको अनुहारमा झल्किएको सहृदयी भावलाई मुटुमा गाँठो पारेर हामी पटनातर्फ हानियौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप