आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
चार देशीय टी–२० शृङ्खला

नेपालले हङकङ विरुद्ध पहिले बलिङ गर्ने

शनिबार, ३० चैत २०८१, ११ : ०२
शनिबार, ३० चैत २०८१

काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक हङकङको सामना गर्दैछ । खेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपाल प्रतियोगितामा हालसम्म अपराजित रहेको छ । आजको खेल जित्दै नेपाल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्ने धुनमा रहेको छ ।

टोलीले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले मात्र दुई विकेटको क्षतिमा पछ्यायो । 

दोस्रो खेलमा टोलीले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउँदै कुवेतलाई हरायो । कुवेतले १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो जसलाई नेपालले मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेल निकै राम्रो फर्ममा देखिएका छन् । उनले २ खेलमा ५९.५० को औसतले ११९ रन जोडेका छन् । यसमा एक अर्धशतक सामेल छ । उनले पछिल्लो खेलमा ८१ रन जोडेका थिए ।

त्यस्तै, अर्का ओपनर आशिफ शेखले पनि एउटा अर्धशतकसहित ८६ रन बनाएका छन् । बलिङमा सोमपाल प्रतियोगितामा सर्वाधिक विकेट खेलाडीहरूमध्ये एक छन् । उनले २ खेलमा १५.७५ को औसतले ४ विकेट लिएका छन् । त्यस्तै, नन्दन कुमार यादवले २ खेलमा ३ विकेट लिएका छन् ।

तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि पुन: भिड्नेछन् । दुवै खेल आइतबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप