सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

शाहका कवितामा समकालीन यथार्थ

शनिबार, ३० चैत २०८१, १४ : ००
शनिबार, ३० चैत २०८१

कथाकार एवं कवि अमर शाह झन्डै पाँच दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन् । २०३३ सालको मधुपर्कमा उनको पहिलो कविता प्रकाशित भएको थियो । परिवार एवं विद्यालयबाट साहित्यतिर लाग्ने प्रेरणा प्राप्त गरेका शाहले औपचारिक अध्ययनपछि लामो समय पशु चिकित्सक एवं प्रशासकका रूपमा कार्य गरे । उनका आजसम्म आदियुग (कथा संग्रह, २०४५), कुरुक्षेत्र (कथा संग्रह, २०७१) र यात्रा र घुम्तीहरू (कविता संग्रह, २०७२) प्रकाशित छन् । हालै उनको ‘गाउँ छाडेको मान्छे’ कवितासंग्रह प्रकाशित भएको छ ।  

कथा र कवितामा कलम चलाउँदै आएका उनको पहिलो चिनारी कथाकारको हो र त्यसपछि कविको । उनी हाम्रो समयका महत्त्वपूर्ण कथाकार हुन् । उनका कथामा आलोचनात्मक यथार्थवादी चेतना पाइन्छ । यथार्थलाई रचनामा प्रतिविम्बन गर्दा आलोचनात्मक चेतनासहित गर्नु उनको विशेषता हो । यो विशेषता उनका कवितामा पनि पाइन्छ । कुरूप यथार्थप्रति उनी आलोचनात्मक छन् । समकालीन यथार्थका साथै जीवनका अन्य पक्षले उनका कवितामा अभिव्यक्ति पाएका छन् । शाह उल्लेखनीय समकालीन कवि हुन् ।bookbook

आलोचनात्मक चेतना आधुनिक नेपाली कविताको महत्त्वपूर्ण विशेषता हो । धेरै नेपाली कविका कवितामा प्रखर आलोचनात्मक चेतना पाइन्छ । उनीहरूले आफ्ना रचनामा आर्थिक असमानता एवं उत्पीडन, जातीय एवं लैङ्गिक विभेद, सामाजिक–सांस्कृतिक विषमता, राजनीतिक विकृति र विसङ्गति, अन्धविश्वास, रुढी आदिलाई आलोचनात्मक चेतनासहित काव्यात्मक अभिव्यक्ति दिएका छन् । आफू बाँचेको समयप्रति उनीहरूमा गम्भीर सरोकार पाइन्छ । आफ्नो समयसँग गम्भीर संवाद गर्नु र काव्यात्मक अभिव्यक्ति दिनु उनीहरूको विशेषता हो । उनीहरूका कवितामा गहिरो मानवीय संवेदना, भविष्यप्रति आशा र परिवर्तनको स्वप्न पाइन्छ । प्रयोगवादी, अस्तित्ववादी, विसङ्गतिवादी, अतियथार्थवादी रचनाहरूलाई छाडिदिने हो भने आधुनिक नेपाली कविता आफू बाँचेको समयको आलोचनात्मक पाठ हो । उनीहरूका कवितामा जीवनका अन्य पक्षले पनि कलात्मक अभिव्यक्ति पाएका छन् ।

शाहका कवितामा आर्थिक असमानता र उत्पीडन; समाजमा विद्यमान वर्ग भेद; राजनीतिक विकृति र विसङ्गति; जात, क्षेत्र र लिङ्गका आधारमा गरिने उत्पीडन; अन्धविश्वास र रूढि; धार्मिक उत्पीडन; नैतिक मूल्यमा आएको स्खलन; देशभक्तिको भावनामा आएको ह्रास; युवाहरूको विदेश पलायन; मध्यमवर्गीय जीवनका पीडा; जीवनका विविध स्मृति; ग्रामीण जीवनको सम्झना आदिले अभिव्यक्ति पाएका छन् ।

कवितामा मानवता एवं प्रेमका साथै जीवनका सुख–दुख, आँसु–हाँसो, उकाली–ओराली, घात–प्रतिघात आदिलाई पनि उनीहरूका कवितामा पाउन सकिन्छ । प्रगतिवादी कविहरूको काव्यचेतना नेपाली समाजको आमूल रूपान्तरणसम्म विस्तारित भएको पाइन्छ । आधुनिक नेपाली कवितामा पाइने यी विशेषता समकालीन नेपाली कवितामा पनि पाइन्छन् । समकालीन नेपाली कविताले समसामयिक विषयलाई अझ प्रखर रूपमा उठाएका छन् र तिनलाई काव्यात्मक अभिव्यक्ति दिएका छन् । समकालीन कविहरू आफू बाँचेको समयप्रति आलोचनात्मक छन् । यथार्थका अँध्यारा र उज्याला दुवै पक्षहरूप्रति उनीहरूको गम्भीर सरोकार पाइन्छ । 

कवि अमर शाहको  ‘गाउँ छाडेको मान्छे’ कविता संग्रहमा पनि हामी यही चेतना पाउँछौँ । शाहलाई देश र समाजप्रति प्रतिबद्ध कविका रूपमा उल्लेख गर्न सकिन्छ । उनको काव्य चेतना र मूल्यको निर्माण यही प्रतिबद्धताबाट भएको छ । उनी मुलुकले परिवर्तनको अनुभूति गरोस्, अघि बढोस् र त्यसको रूपान्तरण होस् भन्ने चाहन्छन् । समाजका हेपिएका, थिचिएका र अन्यायको सिकार भएकाहरूप्रति उनमा विशेष सहानुभूति पाइन्छ । अँध्यारोको विपक्षमा उभिनु उनको विशेषता हो । 

शाहका कवितामा आर्थिक असमानता र उत्पीडन; समाजमा विद्यमान वर्ग भेद; राजनीतिक विकृति र विसङ्गति; जात, क्षेत्र र लिङ्गका आधारमा गरिने उत्पीडन; अन्धविश्वास र रूढि; धार्मिक उत्पीडन; नैतिक मूल्यमा आएको स्खलन; देशभक्तिको भावनामा आएको ह्रास; युवाहरूको विदेश पलायन; मध्यमवर्गीय जीवनका पीडा; जीवनका विविध स्मृति; ग्रामीण जीवनको सम्झना आदिले अभिव्यक्ति पाएका छन् । 

उनका कवितामा सहरिया जीवनको चित्र, स्वतन्त्रता चेत, पर्यावरणीय चेतना, पुर्खाले दिएको योगदानको विस्मृतिको आलोचना, पाखण्ड, गन्तव्यहीनता, पारिवारिक स्मृति र दायित्व आदिले पनि अभिव्यक्ति पाएका छन् । विभिन्न समयमा लेखिएका यस सङ्ग्रहका कविता आफ्नो समयका काव्यात्मक अभिलेख हुन् । शाहले गम्भीर भईकन आफ्नो समयको यथार्थलाई काव्यात्मक अभिव्यक्ति दिएका छन् । सरल र सरस शैलीमा आजको यथार्थलाई कवितामा पस्कन सक्ने खुबीलाई उनका कवितामा नियाल्न सकिन्छ ।

राजनीतिक विकृति र विसङ्गतिको आलोचना शाहका कविताको एक महत्त्वपूर्ण विशेषता हो । मुलुक राजनीतिक विकृति र विसङ्गतिले आक्रान्त भएका कारण जनताले पीडा खप्नुपरेको छ । राजनीतिक परिवर्तनपछि मुलुकको अनुहार फेरिने छ भन्ने धेरैलाई लागेको थियो तर त्यसोे हुन सकेन । राजनीतिक विकृति र विसङ्गति यसको एक महत्त्वपूर्ण कारकका रूपमा रहेको छ । समकालीन कविहरूले यस कटु यथार्थलाई आलोचनात्मक चेतनासहित आफ्ना कवितामा अभिव्यक्ति दिएका छन् । कवि शाहका कवितामा पनि यस यथार्थले काव्यात्मक अभिव्यञ्जना पाएको छ । हेरौँ उनका कविताका पङ्क्तिहरू–

किन मर्छ समवेदना र विवेक ?

कहाँ हराउँछ दृष्टि र दृष्टिकोण ?

अनि किन छोड्छ आफूले टेकेको भुइँ ?

यो दरबारमा पस्नेबित्तिकै मान्छेले ?

(सिंहदरबारको गेटमा)

कविमा देशको स्थितिप्रति गम्भीर चिन्ता छ । आज देश जुन स्थितिमा बाँचेको छ, यसले भोलि यस देशको स्थिति के होला भनेर सोच्न र प्रश्न गर्न बाध्य पार्छ । कविको मात्र होइन धेरै नेपालीको चिन्ता र प्रश्न हो यो । यस यथार्थलाई कविले यसरी अभिव्यक्ति दिएका छन्—

कुहिरोको कागजस्तो 

अलमलमा परेको म

सोच्दै छु– कुन दिशामा गइरहेछ देश

र, कुन दशामा पुग्ने होला भोलि ?

(दिशा र दशा)

मुलुकको राजनीतिक परिवर्तनमा मात्र होइन सामाजिक–सांस्कृतिक परिवर्तनमा पनि कम्युनिस्टहरूको ठुलो योगदान छ । सत्तामा पुगेपछि भने उनीहरूमा गम्भीर कमजोरीहरूको विकास भयोे र कमजोरी कम हुनुको साटो बढ्दै गए । वैचारिक क्षयीकरण; नैतिक मूल्यमा स्खलन; प्रतिबद्धता र आदर्शमा ह्रास; व्यक्तिवाद, अवसरवाद र उपभोक्तावादको विकास; जनता र मुलुकप्रतिको उत्तरदायित्व बोधमा कमी आदि आजको कम्युनिस्ट आन्दोलनमा पाइने कमजोरी हुन् । यस यथार्थको शाहको कवितामा सटीक अभिव्यक्ति पाइन्छ । हेरौँ, कविताका तलका पङ्क्तिहरू—

आफ्नै सपनाहरूको मलामी 

पटकपटक गएका कमरेड

साँच्चै के बोक्छन् होला 

झोलामा हिजोआज

भागवत गीता वा माक्र्सको पुँजी ?

र कस्तो गर्छन् होला अनुभव 

समीक्षा गर्दा आफ्नै विगतको 

गौरवबोध वा अपराधबोध ?

(अलमलमा कमरेड)

आम मानिसका आवाज र समस्यालाई सम्बोधन गर्ने दायित्व राज्यको हो । लोकतान्त्रिक राज्य र सरकार यस विषयमा अझ गम्भीर र संवेदनशील बन्नुपर्छ । तर आजको यथार्थ भिन्न छ । आम मानिसको आवाज, आवाजको रूपमा मात्र रहन्छ, उसका समस्याको सम्बोधन हुँदैन । यस पीडादायी यथार्थले समकालीन कवितामा अभिव्यक्ति पाउँदै आएको छ । शाहका कवितामा पनि यसकोे अभिव्यक्ति पाइन्छ । व्यवसायी प्रेमप्रसाद आचार्यले आफ्नो आवाज र पीडाको सम्बोधन नभएकै कारण संसद् भवन, नयाँ बानेश्वरनजिक आत्मदाह गरेका थिए । कवि शाहले यस यथार्थलाई काव्यात्मक अभिव्यञ्जना दिएका छन् । 

स्वार्थको गाढा कालो चस्मा लगाएर

बसेका छन्

आवाज पनि नछिर्ने 

सत्ताको बाख्लो किल्लाभित्र शासकहरू

के देख्थे र सुन्थे

दनदनी आगोको ज्वालामा

जल्दै कुदिरहेको

आम मानिस र उसको चित्कार ?

(प्रेम प्रसादको आत्मदाह : पाँच टुक्रा अभिव्यक्ति)

गर्मी र जाडो मौसम गरिबहरूका निम्ति सबैभन्दा बढी कष्टकर हुन्छ । जाडोमा शीतलहर र गर्मीमा लूले प्रत्येक वर्ष कैयौँ गरिब मर्छन् । गर्मी मौसमभन्दा अझ कष्टदायी हुन्छ जाडो मौसम । मधेसमा जाडोमा शीतलहर चल्छ र यसले कैयौँ जीवन खान्छ । गरिबी हुन्नथ्यो भने यो स्थिति आउँदैनथ्यो । यस वास्तविकतालाई कविले मार्मिक अभिव्यक्ति दिएका छन् । तलका कविताका पङ्क्ति हेरौँ–

निभिसकेको अँगेठी खोस्रँदै

डग्डग् काम्यो पहरा थारु

पुर्खाबाट प्राप्त शक्तिले

सहन सक्यो गर्मी

तर सकेन सहन चिसो

र सँगसँगै कामी उसकी जहान बुधनी ।

 

हप्तौँसम्म घाम नउदाउँदा

शीतलहरमा 

यसपटक पनि काम्यो

वर्षौंदेखि कामिरहेको मधेस ।

(शीतलहर)

अर्काको मुलुकमा काम गर्न जाने नेपालीको सङ्ख्या दिनानुदिन बढ्दै छ । आफ्नो देशमा रोजगारी नहुनु बिदेसिनुको प्रमुख कारण हो । घर र देश छाडेर जानेहरूले मात्र मानसिक पीडा खप्दैनन्, घर–परिवारले पनि खप्छन् । एयरपोर्टमा आफन्तलाई बिदाइ गर्दाको क्षण कारुणिक हुन्छ । सपना साँचेर बिदेसिनुको कारुणिक दृश्यले धेरैको हृदय दुख्छ । सपना पूरा हुन्छ कि हुँदैन, त्यसको कुनै ठेगान हुन्न । कविले यस वास्तविकतालाई कवितामा यसरी अभिव्यक्ति दिएका छन्–

सपनाहरूको बगैँचा सिच्न

थाह छैन

कति बगाउनुपर्ने हो पसिना मरुभूमिमा ?

न थाह नै छ

गलाको मालाजस्तो ओइलाउने हुन् वा

मर्ने हुन् झोलाका तह–तह सपना ?

(प्रस्थान कक्षमा)

निर्वाचन निर्वाचनजस्तो हुन छाडेको छ, जनप्रतिनिधिहरू जनप्रतिनिधिजस्ता हुन छाडेका छन् । आजको कटु यथार्थ हो यो । निर्वाचनमा नागरिकलाई धेरै आश्वासन बाँडिन्छ, सपना देखाइन्छ । नागरिकहरू विश्वास गर्छन् । निर्वाचनमा जितेपछि प्रतिनिधिहरू आफैँले गरेका वाचा बिर्सन्छन्, जनता उनीहरूका लागि बिराना बन्छन् । नेपाली राजनीतिको बिझाउने दृश्य हो यो । यस यथार्थले शाहको कवितामा यसरी अभिव्यक्ति पाएको छ–

सिपालु छन् उनीहरू

हावामा महल खडा गर्न सक्छन्

देखाउन सक्छन् दिनमा तारा वा रातमा इन्द्रेणी,

निर्माण गर्न सक्छन् उनीहरू

जादुगरझैँ नयाँ–नयाँ स्वप्न संसार क्षण–क्षणमा

र डोर्‍याउन सक्छन् कहिल्यै नभेटिने

क्षितिजको उज्यालोतिर हाम्रा पाइला ।

(निर्वाचन)

कविमा आफू जन्मेको, हुर्केको गाउँप्रति गहिरो प्रेम छ । गाउँबाट धेरै टाढा भएपछि यो स्मृति अझ गाढा र मिठो बन्छ । जीवन जिउने क्रममा कैयौँ मानिस आफू जन्मेको ठाउँ छाडेर अन्यत्र जान्छन् । त्यतै उनीहरूको स्थायी बसोवास हुन्छ, तर आफ्नो जन्मथलोको सम्झना र त्यसप्रतिको प्रेम बाँचिरहन्छ । जीवन ढल्कँदै जाँदा सम्झना र प्रेम अझ गहिरा बन्छन् । शाहले यस अनुभूतिलाई मार्मिक रूपमा अभिव्यक्ति दिएका छन्—

यतै बुन्न थालेथेँ मैले रङ्गीन् कल्पना

र ती कल्पनाका अवशेष यतै होलान्

यतै कोर्न थालेको थिएँ मैले सपनाको जग

र ती सपनाका भग्नावशेषहरू पनि यतै होलान्

उन्मुक्त हाँसेको थिएँ म पहिलो हाँसो यतै

हावामा गुञ्जिरहेका ती खित्का यतै होलान् ।

(जन्मेको गाउँमा)

पर्यावरण समस्या आजको गम्भीर समस्या हो । पर्यावरण विनाशलाई रोक्न नसके मानिसको अस्तित्व नै समाप्त हुने स्थिति आउन सक्छ । कैयौँ मुलुकमा यसप्रति आवश्यक गम्भीरता पाइन्न, कैयौँ मुलुक यसका कारक नै रहेका छन् । हाम्रो मुलुकको सत्तामा पनि यसप्रति अपेक्षित गम्भीरता देखिन्न । उल्टो विकासको नाममा भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको लुट हुँदै छ । हामी निरन्तर बढ्दो वातावरणीय र प्रदूषणको सिकार हुँदै छौँ । यसमा राज्य धेरै जिम्मेवार छ । यो यथार्थले कविको कवितामा यस्तो अभिव्यक्ति पाएको छ–

विकास सपना अपहरण गरेर 

चालु छ सत्ताले

जनताको श्रम र सम्पत्ति

निल्ने, पचाउने र 

निरन्तर प्रदूषण फैलाउने क्रम

के यसरी नै चलिरहला र 

कहिल्यै नसुध्रिने होला 

मेरो देशको पर्यावरण ?

(पर्यावरण)

काठमाडौँमा घर हुनुलाई प्रतिष्ठाको विषय मानिन्छ । खासगरी मध्यम र उच्च वर्गीय मानिस यसलाई बढी प्रतिष्ठाको विषय बनाउँछन् । यसको पीडा सबैभन्दा बढी मध्यम वर्गीयले भोग्नुपर्छ । काठमाडौँमा एउटा घर जोड्न एउटा मध्यम वर्गीय जागिरेले गर्नुपर्ने श्रम र खप्नुपर्ने पीडा साँच्चिकै मन छुने खालको हुन्छ । कति त घरकै निम्ति गलत तरिकाले आर्जन गर्नतिर पनि लाग्छन् । यस यथार्थलाई तलका कविताका पङ्क्तिमा यसरी अभिव्यक्ति दिइएको छ :

हो अत्यन्त पीडादायी र अपमानजनक हुन्छ

काठमाडौँमा घर नहुनु

तर कम पीडादायी छैन 

आफूलाई मारेर एउटा घर निर्माण गर्नु पनि ।

(काठमाडौँमा घर)

पुरुषको मन बलियो हुनुपर्छ, पुरुष साहसी, दृढ हुनुपर्छ र रुनु हुन्न भन्ने धारणा हाम्रो समाजमा पाइन्छ । पुरुष रोयो भने उसलाई ‘नामर्द’ भनिन्छ । पुरुष बारेको यस्तोे धारणाले पुरुषको पनि मन हुन्छ र दुख्छ, उसलाई पनि पीडाको अनुभूति हुन्छ र उसका आँखाबाट आँसु खस्छन् भन्ने यथार्थलाई गम्भीरतापूर्वक लिन दिँदैन । पुरुषले जस्तोसुकै दुःखमा पनि पीडा प्रकट गर्न हुन्न भनिन्छ । हेरौँ, कविताका पङ्क्तिहरू :

म एउटा पुरुष—

राख्नुपर्छ मैले

चट्टान छातीभित्र नौनी मन

र सहनुपर्छ सयौँ आघात प्रतिघातहरू

तर 

जस्तै दुःखमा पनि

प्रकट गर्न हुन्न मैले आफ्नो पीडा

कहाँ छ र 

कमजोर हुने वा रुने अनुमति पुरुषलाई ?

(पुरुष) ।

माथि उल्लिखित हरफहरूबाट उनका कविताले समाजका विविध यथार्थलाई कसरी अभिव्यक्ति दिएका छन् भन्ने थाहा हुन्छ । समकालीन यथार्थका विभिन्न पक्षहरूको अभिव्यक्तिका साथै जीवनका अन्य पक्षलाई कवितामा सरल र सरस शैलीमा अभिव्यक्ति दिइएको छ । कवितामा सरल विम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ । कवितामा संवेदनात्मक गहिराइ, अनुभूतिको तीव्रता र भाव गाम्भीर्य पाइन्छ । जीवनका अनुभवलाई कवितामा उन्न कवि शाह सिपालु छन् । यस सङ्ग्रहका कविताले उनको कवि व्यक्तित्वलाई हाम्रो सामु राख्छन् । कवि शाहले समकालीन यथार्थलाई जसरी काव्यात्मक अभिव्यक्ति दिएका छन्, त्यसले उनी हाम्रो समयका गम्भीर सामाजिक सरोकार भएका कवि हुन् भन्ने देखाउँछ । कविता सङ्ग्रह पठनीय र सङ्ग्रणीय छ । नयाँ कृतिका निम्ति कविलाई धेरै–धेरै बधाई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप