सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

अमर शाहका तीन कविता

शनिबार, ३० चैत २०८१, १३ : ३०
शनिबार, ३० चैत २०८१

१) गाउँ छोडेको मान्छे

बिहान बिउँझन्छ प्रायः
राति सपनामा देख्दै
गाउँ सिरानको देवीको मन्दिर,
बीच गाउँको चौतारो र बूढो पीपल,
जुकेपानीको नाउलो र जरेपानीको अविरल बग्ने धारो, 
गाउँ पुछारको खोलो, माछा र पौडी खेलेका रह, 
अनि बेलामौकामा लाग्ने रमाइला मेला, जात्रा ।

के रहेछ गाउँतिरको हालखबर ?
कोटट्याउने गर्छ परिचितका फेसबुक खाता, 
सँगालेर राख्छ सञ्चार–माध्यममा यदाकदा आउने 
पालिकातिरका राम्राभन्दा बढी नराम्रा खबर
र घण्टौँ भुल्छ गफमा
परिचित गाउँले भेट्दा संयोगले ।

असाध्यै खुसी हुन्छ गाउँमा मोटर पुगेको सुन्दा
र कल्पना गर्छ क्षणमै पार गरेको
पसिना चुहाउँदै आफूले कुनै बेला घण्टौँ हिँडेको बाटो,
‘कहाँ थियो र पढ्नु र जागिर पाउनु सजिलो त्यो बेला !’ 
बढाइँचढाइ सुनाउँछ भेट्दा
आफ्ना संघर्ष र उपलब्धिका कथा
पछिल्लो पुस्ताका गाउँले विद्यार्थी वा जागिरे सहरमा,
त्यसो त केही गरेन
आफ्नै बाबुआमाका लागि पनि बाँचुन्जेल
तर दुःखी हुन्छ केही गर्न नसकेकोमा गाउँको लागि
र फेरि दोहोर्‍याउँछ आफ्नो पुरानो अठोट
व्यवहार सुल्झिएपछि केही गर्नेछ छिट्टै ।
गाउँ नपुगेको दशकौँ भए पनि
हरेक वर्ष बनाउने गर्छ योजना दशैँ मान्न वा मेला भर्न पुग्ने, 
र घोषणा गर्छ पहिचानविहीन भएर सहरमा नबस्ने
बरु दुःखकै भए पनि बाँकी दिन बिताउने गाउँमै गएर, 
अनि उतै मर्ने
जहाँ मरेका थिए बा, आमा र अरू पुर्खा ।
यसरी गाउँ छोडेर
जिन्दगी बाँच्न शहर पसेको मानिस 
सधैँ मनमा आफूसँग लिएर हिँड्छ छायाजस्तै पछ्याइरहने
एक हुल सम्झना र गाउँको माटोको सुवास,
बन्न सक्दैन सहरको आफ्नो वर्षौं बसे पनि
र, हुकोएर बाँच्छ मनमा सधैँ गाउँ फर्कने सपना 
तर पक्का छ फर्कने छैन गाउँमा अब
ऊ पनि अरू अरूजस्तै
बरु अल्झिनेछ यतै फसेर सहर–दलदलमा झन्झन्
जहाँ गुमनाम अन्त्य हुनेछ उसको
र, गाउँ फर्कने उसको सपनाको ।

२) देश, झण्डा र सपना

एउटा हातमा नवनागरिक बनेको प्रमाणपत्र
पृष्ठभूमिमा ह्वाइट हाउस
र अर्को हातमा
भर्खर ‘आफ्नो’ बनेको देशको झण्डा बोकेर 
मुस्कुराइरहेको फोटोको युवक
साँच्चै फेसबुकको वालमा उसले लेखेजस्तो 
‘फाइनल्ली माई ड्रिम्स कम ट्र्यु’
मुस्कुराएको होला सपना साकार भएर कि
अभिनय गरेको होला मुस्कुराउने
लुकाउन अनुहारमा देखिने
आफ्नो जन्म देश छोड्दाको पीडा ?

पहिचान गुमाएर ‘पहिचान’ पाएको यो क्षण
साँच्चै शान्त होला उसको समुद्र–मन
वा उठिरहेका होलान् आवेगका ज्वारभाटा भित्र–भित्र ?
साँच्चै कता उड्दै होला उसको मन अहिले—
ललितपुर वा लसएन्जल्स ?
मकैको रोटी वा म्याक डोनाल्डको बर्गर ?
सगरमाथा वा माउन्ट डेनाली ?

सुखी जीवनकै लागि भए यो मुस्कान 
जीवन अब खुसी होला कि सुखी ? 
र सम्झन्छ कि सम्झन्न होला
आफ्नो सपना साकार भएकामा मुस्कुराइरहँदा
उसको सपनाले मारेका
बाबुआमा र परिवारका सयौँ सपना ?

भर्खर ‘आफ्नो’ बनेको झण्डा उचाल्दै
देश त छोड्यो मुस्कुराउँदै नवनागरिकले
तर कसरी छोड्ला सधैँ पछ्याउन आउने
आफ्ना आधा जीवनका छाया सम्झनाहरू 
साँच्चै
‘सपनाहरू साकार भए’ भन्ने उसले
देख्ला, नदेख्ला वा कस्ता देख्ला सपनाहरू अब ?
 

३) कर्णालीका झिँगा

अनुवाद नहुने रहेछ इतिहास रोटीमा
न संस्कृति बन्दोरहेछ इज्जत ढाक्ने खास्टो 
के निभ्थ्यो भोकको ज्वाला
उत्खनन हुन बाँकी सम्पत्तिको हिसाब गरेर ?
नजन्मिदै मरिरहेछन वा
हार्दै भोक र रोगको मोर्चा
मरिरहेछन जवानीमै बुढ्यौली भोगेर जनता 
विकास सूचकांकको अन्तिममा छ मुगु 
र पुछारतिरै छ सिङ्गो कर्णाली ।

जसरी जान्छन सहरका बच्चा रमाउँदै 
जङ्गली पशुपक्षी हेर्न चिडियाखाना 
वा जसरी पस्छ वर्तमान पुस्ता
पुरानो समाज र
पुर्खाको इतिहास बुझ्न संग्रहालय
पसिरहेछन् त्यसरी नै हुलका हुल
कथित अनुसन्धानकर्र्ता र विकासे कार्यकर्ता 
गरीबी र पछौटेपन हेर्न कर्णालीमा
रमाइरहेछन् उनीहरू र साटिरहेछन् 
डलर, पाउण्ड र येनसँग
सिँगान निलिरहेका सुकेनासग्रस्त बच्चा
र मयल टल्कने
फाटेका चोला र सुख्वालका चित्र ।

जताततै छन् झिँगा कर्णालीमा
फैलाइरहेछन रोग र मृत्यु
तर पालिरहेछन् यी झिंगाले नै
धेरै सुखी र सम्पन्न परिवार 
कर्णालीबाहिर नेपालमै
र नेपालबाहिर युरोप, अमेरिकामा ।

रारा विमानस्थलछेउ
घेरिएको छु झिँगाहरूले अहिले
र सोचिरहेको छु म—
को बढी खतरनाक होलान्
कर्णालीका यी झिँगा ?
वा सपनाको व्यापार मात्र गर्ने 
कर्णालीका यी देशी, विदेशी ऐँजेरूहरू ?
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमर शाह
अमर शाह
लेखकबाट थप