मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
नियात्रा

श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा

शनिबार, ३० चैत २०८१, १२ : ३०
शनिबार, ३० चैत २०८१

हामी आज श्रीलङ्काको एलाबाट क्यान्डी जाँदै छौँ । हाम्रो यो यात्रा रेलमा हुनेछ । हिजो हामी रमाउन र फोटो खिच्न गएका थियौँ— ‘नाइन आर्च ब्रिज’ । आज हामी चढ्ने रेल त्यही ब्रिज नजिकैको सुरुङबाट निस्किएर त्यही ब्रिज हुँदै क्यान्डीतिर अगाडि बढ्नेछ । आज ८ फागुन २०८१ अर्थात् २० फेब्रुअरी २०२५ ।

हामी बिहान साढे ४ बजे उठिसकेका थियौँ । अब फ्रेस हुनु थियो; झोला मिलाउनु थियो र बाहिर निस्किनु थियो । बिहान सखारै टुकटुक नपाइएला भन्ठानेर हामीले हामी बस्ने ‘एला भ्यालु भिलेज’ होमस्टेको सञ्चालकलाई हिजो बेलुकै टुकटुकको बन्दोबस्त मिलाइदिन अनुरोध गरेका थियौँ र उसले त्यो स्वीकार गरेको पनि थियो ।

अलिक जाडो छ— एलामा । कोलम्बोमा थन्क्याएका थियौँ हामीले काठमाडौँबाट लगाएर आएको ज्याकेट । थन्क्याएपछि अन्त कतै निकाल्नुपरेको थिएन; ऐलामा निकाल्नुपर्ला जस्तो भयो । ज्याकेट छँदै छ; जाडो किन सहने ! मैले ब्यागबाट ज्याकेट निकालेँ र लगाएँ । ज्याकेट लगाएपछि मनोरमालाई सम्झिएँ ।  यसपटक आउँदा उनैले ल्याइदिएको हो, यो ज्याकेट । सार्थकले भने ज्याकेट निकालेन । उसो त यहाँ धेरै जाडो पनि छैन । हामी हिँड्दा काठमाडौँमा जति जाडो अनुभव हुने अवस्था थियो; यो जाडोलाई त्यो जाडोसँग तुलना गर्न मिल्दैन ।

हामी झोला बोकेरै होम–स्टेको काउन्टरमा आयौँ । होमस्टे सञ्चालक युवाले फोन गरेर बोलाइदिए— टुकटुक । हामीले टुकटुकभित्रबाट बिदाइको हात हल्लायौँ र ओरालो लाग्यौँ ।

रेल स्टेसनमा हामी पुग्दा स्टेसन वरपर एकाध व्यक्ति मात्र थिए । हामी कुनै होटलमा बसेर चिया खाने विचारमा थियौँ; त्यो मिलेको थिएन । हामीकहाँ सडकछेउका गाडीको जक्सनका चल्ती बजारमा कतिपय चियापसलहरू रातभर चालु रहन्छन्; यहाँ भने बिहान हुन लाग्दा पनि त्यस्तो पाइएन । बिस्तारै स्टेसनमा मानिसहरूको संख्या बढ्दै आयो । ६ बजे त यहाँको टिकट काउन्टर नै खुल्ने रहेछ ।

हामीले यस रेल यात्राको अनलाइन टिकट लिएका थियौँ । त्यसैले हामीले टिकटको लाइनमा उभिनु थिएन । हामी मोबाइलमा टिकट देखाएर बाहिर आयौँ । अब बिस्तारै बाहिर निस्किने मान्छेहरूको संख्या बढ्न थाल्यो । यहाँ आउने रेल बदुल्लाबाट छुट्ने । यहाँबाट बदुल्ला २० किलोमिटर । डामोडारा ८ किलोमिटर । हामीलाई जानु छ— क्यान्डी । यहाँबाट क्यान्डी १५७ किलोमिटर । कोलम्बो चैँ २७१ किलोमिटर ।

श्रीलङ्काको पुरानो नाम ‘सिलोन’ हो । पुर्तगालीहरू यसलाई ‘जिलान’ भन्दथे । १६औँ शताब्दीमै श्रीलङ्कालाई पुर्तगालीहरूले आफ्नो अधीनमा लिएका हुन् । १७औँ शताब्दीमा यसलाई डच (नेदरल्यान्ड)हरूले अधीनस्थ बनाए । सन् १७९६ मा डच (नेदरल्यान्ड) शासकले श्रीलङ्का बेलायतलाई सुम्पिदिए । सन् १८०२ मा श्रीलङ्का बेलायतको एक प्रमुख उपनिवेश बन्यो र सन् १९४८ मा स्वतन्त्र भयो ।

हिजो लिटिल आदम पिकमा फिलिपिन्सबाट आएको डेल भन्दै थियो— ‘क्यान्डीदेखि एलासम्मको सात घन्टाको यात्रामा म त उभिएको उभियै भएँ ।’ यहाँ भने यात्रुको त्यति धेरै भीडभाड देखिएको छैन । यी दुवै सन्दर्भलाई गाँसेर सार्थकले भन्यो— ‘पर्यटकहरू क्यान्डी हुँदै एला आउँछन् । त्यस रुटबाट अनलाइन टिकट सम्भव नभएपछि एलाबाट क्यान्डी जाने गरी टिकट बुक गरेको थिएँ । पर्यटकको प्रवाहको प्रवृत्ति हेर्दा हामी उल्टो धारमा छौँ । तर हाम्रो यात्रा डेलको दाँजोमा आरामदायी हुन्छ ।’

हामी ६ः४० मा रेलमा उक्लियौँ । हामी दुवैको सिट फरकफरक रुममा थियो तर दुवैको झ्यालपट्टि थियो । एउटै सिटमा बस्नुपरेको भए हामी दुवैले बाहिरको दृश्य हेरेर रमाउने अवस्था हुने थिएन ।

1

एलादेखि क्यान्डीसम्मको यो रेलयात्रा दृश्यावलोकनका लागि नामी छ । पहाडमा अवस्थित एला, पहाडहरूका बिच अवस्थित क्यान्डी उपत्यका । यी दुई पर्यटकीय स्थलहरूलाई जोड्न पहाडैपहाड दौडिने यो छुकछुके रेल । रेलबाटै देख्न पाइने अग्ला–होँचा पहाडहरू, नदीनाला, हरिया बोटबिरुवा, खेतीपाती र मानव बस्तीहरू । चिया, कफी, रबर र खाद्यान्न श्रीलङ्काका मुख्य उत्पादन हुन् । रेलको यस रुटमा ठुल्ठुला चियाबगानहरू छन् । हाम्रो यो रेल यही यहाँका चियाबगानहरूको बिचोबिच दौडिन्छ । हराभरा चियाबारीको मनोरम दृश्यमा पर्यटकहरू मन्त्रमुग्ध हुने रहेछन् । सबैलाई चियाबारीको दृश्य क्यामरामा अटाउने ध्याउन्न हुने रहेछ ।

वर्षभरि नै बर्सादको सम्भावना रहन्छ श्रीलङ्कामा । त्यसैले यहाँका वनजङ्गल पनि अत्यन्त बाक्लो । यहाँ रेलबाट घना जङ्गलको हरियो दृश्य पनि लोभलाग्दो देखिने । हाम्रा आँखा भने यी जङ्गलमा आफूले चिनेजानेका वनस्पति खोज्ने लालसामा रहने । कतै चिनेकै बोटबिरुवा पनि देखिने । तर त्यो छुटेपछि छुट्यो; फेरि त्यो नदेखिने । श्रीलङ्का एसियाली देशहरूमध्ये प्रतिएकाइ क्षेत्रफल सबैभन्दा धेरै जैविक विविधता भएको देश हो । विश्वमा ३,२१० फूल फुल्ने बिरुवाहरू मध्ये २७ प्रतिशत र स्तनपायीहरूमध्ये २२ प्रतिशत, श्रीलङ्कामा रहेका छन् । श्रीलङ्का ४५३ प्रजातिका चराहरूलाई अनुकूल मानिन्छ । यी चरामध्ये २४० प्रजातिका चराहरू श्रीलङ्कामै प्रजनन काल बिताउँछन् । जैविक र वनस्पतिगत विविधताको गज्जबको दृश्यावलोकन हुने रहेछ— यस यात्रामा ।

8

यसबाहेक अन्य रेलयात्राभन्दा फरक र रोमाञ्चक लाग्ने किसिमले यहाँ चालु रेलगाडीमा आफूलाई हावामा झुलाएर पर्यटकहरू फोटो/भिडियो खिच्न पनि पाउने रहेछन् । पर्यटकको त्यो रोमाञ्चक अनुभवलाई सहज तुल्याउन यस रेलमा त्यही प्रयोजनका लागि झ्याल/ढोका नै राखिएको रहेछ । यो पनि यस रेलयात्राको अर्को मुख्य आकर्षण रहेछ । यो सुविधा सार्थकले थाहा नपाउने कुरा थिएन । तर यहाँ हावामा झुलेर भिडियो/फोटो खिच्ने पर्यटकको उछिनपाछिन हुने रहेछ । पालो पर्खिनुपर्ने । मेरो हातमा भिडियो खिचिदिनका लागि मोबाइल थमाएर सार्थक त्यो ढोकामा गयो, केही समय क्युमा बस्यो र पालो आएपछि हावामा झुल्न थाल्यो । मैले भिडियो खिचेँ । अनि म गएँ ।

6

हावामा झुल्ने भनेको रेलको स्पिड कम भएको मौका पारेर झुल्ने । रेलवेमा लत्रिएका झिक्राले भने छुने/घोच्ने डर । अन्यथा यो त्यति कठिन अभ्यास होइन । तर भिडियो फेसबुकमा पोस्ट गरेपछि आउने कमेन्टमा सहृदयी मित्र र आफन्तहरू भने आत्तिएझैँ देखिने !

नुवारा–एलिया यही रुटमा पर्ने । यो श्रीलङ्काको अर्को पर्यटकीय स्थल । नवारा–एलिया जानका लागि पनि पर्यटकहरू धुरिन्छन् । त्यहाँ जानका लागि यस रेलबाट नानोओया स्टेसनमा झर्नुपर्छ । हामीसँगै आएका धेरै गोरा पर्यटकहरू नानोओयामा झर्छन् । हाम्रो यस पर्यटन तालिकामा नुवारा–एलिया परेको छैन । हाम्रो यस यात्राको अबको गन्तव्य चैँ क्यान्डी नै हो । 

2

बिचमा केही खोलानालाहरू पनि छन् । खोलाखोल्सा फरक खालको दृश्यावलीका रूपमा हुन्छन् । ठाउँ ठाउँमा मानव बस्तीहरू पनि छन्; गाउँ पनि छन्; सहर पनि छन् । घरको बनावट, मानिसहरूको वेशभूषा, कृषि कार्य, बसोबासको ढङ्गढाँचा आदि सांस्कृतिक पक्ष फरक स्वादका रूपमा उपलब्ध हुने । 

होमस्टे सञ्चालक महिला रुमको साँचो छिमेकीलाई जिम्मा दिएर आफू भने हिजो कोलम्बो गएकी रहिछिन् । छिमेककी महिलाले हाम्रा लागि रुम खोलिदिइन्; साँचो हाम्रो हातमा दिइन् र भनिन्— ‘बेलुकासम्म आइपुग्छे होला ।’

श्रीलङ्काको पुरानो नाम ‘सिलोन’ हो । पुर्तगालीहरू यसलाई ‘जिलान’ भन्दथे । १६औँ शताब्दीमै श्रीलङ्कालाई पुर्तगालीहरूले आफ्नो अधीनमा लिएका हुन् । १७औँ शताब्दीमा यसलाई डच (नेदरल्यान्ड)हरूले अधीनस्थ बनाए । सन् १७९६ मा डच (नेदरल्यान्ड) शासकले श्रीलङ्का बेलायतलाई सुम्पिदिए । सन् १८०२ मा श्रीलङ्का बेलायतको एक प्रमुख उपनिवेश बन्यो र सन् १९४८ मा स्वतन्त्र भयो । सन् १९७२ मा यसको नाम श्रीलङ्का रहन गयो । यस प्रकार श्रीलङ्काका राष्ट्रिय गायक र इतिहासकारहरूले आफ्ना पुर्खाको स्वाभिमान र वीरता अनि श्रीलङ्काको राष्ट्रिय स्वाधिनताको महिमागान गाउन पाएनन् होला; तर त्यही कालखण्डमा श्रीलङ्काले भौतिक विकासका गतिला पूर्वाधारहरू हासिल गरेको देखिन्छ ।

सन् १९१९ आसपासको समयदेखि सञ्चालनमा आएको यो छुकछुके रेल, यहाँको भौगोलिक र जैविक विविधता, यी चियाबारी, यहाँको सामाजिक सांस्कृतिक आकर्षण र यहाँको पर्यटन व्यवसायलाई परस्परमा गाँसेर बुझ्न खोजियो भने यस क्षेत्रको सामाजिक जनजीवन र आर्थिक क्रियाकलापलाई सही स्तरमा बुझ्न सकिन्छ होला । श्रीलङ्का एक विकासशील देश हो । सन् २०२१ को मानव विकास प्रतिवेदनमा समेटिएको मानव विकास सूचकाङ्कमा श्रीलङ्का ७३औँ  स्थानमा रहेको छ । यो मानव विकासको दृष्टिले दक्षिण एसियाली राष्ट्रहरूमा सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्र हो र दक्षिण एसियामा दोस्रो उच्च प्रतिव्यक्ति आय भएको देश हो ।

लगभग सात घन्टाको हुने अनुमान गरिएको यो रमाइलो रेल यात्रा हाम्रो अनुमानभन्दा २० मिनेट छिटो सम्पन्न भयो । क्यान्डीस्थित रेल स्टेसनमा रेलबाट उत्रिएपछि हामी टुकटुकको खोजीमा लाग्यौँ । केही समयको प्रयासपछि टुकटुक उपलब्ध भयो । यहाँ हाम्रो होमस्टे हो— ‘नं. ११ अपटाउन इकोनोस्टे’ । अब हामीलाई त्यही होमस्टेमा पुग्नु छ; झोला थन्क्याउनु छ र लन्चका लागि निस्किनु छ । पूर्वनिर्धारित होमस्टेमै पुगेपछि थाहा भयो— होमस्टे सञ्चालक महिला रुमको साँचो छिमेकीलाई जिम्मा दिएर आफू भने हिजो कोलम्बो गएकी रहिछिन् । छिमेककी महिलाले हाम्रा लागि रुम खोलिदिइन्; साँचो हाम्रो हातमा दिइन् र भनिन्— ‘बेलुकासम्म आइपुग्छे होला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर पोखरेल
ईश्वर पोखरेल
लेखकबाट थप