हीरामोती मणिमाणिक्यको महत्त्व जौहरीले जसरी बुझ्छन्, उसै गरी उनले बुझेकी छन्— शिक्षा क्षेत्रमा समर्पित कवि, नेपाली भाषाशास्त्रविज्ञ र लोक सांस्कृतिक विश्लेषक प्रा. डा. मोहनप्रसाद तिमल्सिनाको महत्ता । प्रा.डा. तिमल्सिनाकी गुणग्राही हुन् उनी ।
उनी अर्थात् उमा गुरुङ, मेरी स्कुले सखी । काठमाडौँकी हुन् उनी, बहुप्रतिभाशाली छन् । सदावहार लोकगीत ‘सालको पातको टपरी गाँसेर’की गायिका । कवयित्री पनि हुन्, थुप्रै कृतिकी रचयिता । शिक्षा क्षेत्रमै समर्पित उनी वर्षाैं प्रधानाध्यापिका समेत बनिन् ।
सैँतीस वर्ष प्राध्यापनमा बिताउनुभएका प्रा.डा. तिमल्सिनाका हजारौँ शिष्य–शिष्यामध्येकी एक हुन् उमा । उमाका सयौँ गुरुमध्ये रोज्जा आदर्श गुरुमा दरिनुभएको छ, प्रा.डा. तिमल्सिना ।
प्रा.डा. तिमल्सिना शैक्षिक उन्नयन, भाषाशास्त्र र लोक सांस्कृतिक विश्लेषणका क्षेत्रमा कति विलक्षण व्यक्तित्व हुनुहुन्छ भन्ने स्पष्ट हुन उहाँकै अर्का एक शिष्यको सफलताको कसीमा घोटेर मिमांसा गर्न सकिन्छ ।
०००
एक साथ जून घाम उदाएजस्तै भयो ।
पूर्वी आकाशमा हिउँदको कलिलो घाम । धर्तीमा पूर्वतिरैबाट झुल्किन कलकलाउँदी एक किशोरी ! हो, आकाशमा भर्खरै घाम झुल्केको थियो, धर्तीमा ‘जून’सँग जम्काभेट भयो ।
गाढा अकासे रङको भुइँमा रातो पहेँलो रङका सुन्दर बुट्टा संयोजन भएको एकैखाले कपडाको पत्लुङ र सर्टमा चिरिच्याट्ट किशोरीको खुट्टामा चप्पल, थाप्लोमा नाम्लो, पिठ्युँको डोकोमा तामाको गाग्री । भरी गाग्री दायाँ परोस् भनेर हामी बाटोको बायाँछेउ च्याप्यौँ ।
हाम्रो सामु आइपुगेपछि ‘जून’ टक्क अडिइन् र हामीतिर फर्किन् । उनको दाहिने गालामा झुल्के घामको कलिलो किरण पोतियो, बायाँ गालापट्टि ओझेल । ‘कता हिँड्या नीमा, हिँड घर’ उनले भनिन् ।
नीमा हाम्री फुपुकी छोरी । किशोरीचैँ नीमाकी फुपूकी छोरी रहिछन्— भान्जी दिदी । फुच्ची नीमा फुर्फुर हुँदै हामी अर्थात् भाइ मोहन सिम्खडा र मलाई फेदी पँधेरोतिर लाँदै थिई । त्यसैले फर्कन किन मान्थी र ? ‘नाइँ, म त दाइहरुलाई पँधेरा देखाउन जान ला, मुख धुनु भन्दै अघि बढी ।
फेदी पँधेरा साझा धारो रहेछ, लम्साल र धमलाहरूको । एउटा नीमाकै उमेरको र अर्काे थक्क ठुलो केटा लोटामा पानी थाप्दै रहेछन् । हातमा गाग्री झुन्ड्याएर हामीलाई उछिन्दै त्यहाँ पुगेका अधबैँसेले ती फुच्चेहरूलाई हप्कीदप्की लगाए, ‘यी लम्सालका छाउराहरूलाई जति पानी खेले पनि पुग्दैन है ? हट ।’
ती पँधेरेले हाम्रो सोधीखोजी गरेनन्, हामीले पनि सोधपुछ गरेनौँ । पानी थापे, गाग्री काँधमा बोकेर बाटो लागे उनी । ‘यी लम्सालका छाउराहरू...’ भनेकाले उनी धमला थिए कि ? ती फुच्चेहरू भने दुई कान्ला माथिको घरका रहेछन्, लोटा लिएर फेरि टुप्लुक्क आइपुगे पँधेरामा ।
दशकौँपछि— रेडियो नेपालको सांगीतिक कार्यक्रम ‘मधुवन’मा सञ्चालक नवराज लम्सालको साह्रै मिठो स्वरमा काव्यात्मक उद्घोषण र प्रस्तुति सुनिन थाल्यो । सामान्य सोधखोजमै के थाहा भयो भने धमला ज्यामरुङको त्यही फेदी पँधेराको दुई कान्ला माथिल्तिरको घरकै रहेछन् नवराज ।
बालसखी उमा गुरुङ हुन् कि प्रिय भाइ डा. नवराज लम्साल, बहुक्षमतायुक्त यस्ता स्रष्टाका आदरणीय गुरु प्रा.डा. तिमल्सिना मेरो भने औपचारिक शिक्षा आर्जनका क्रममा कहिल्यै गुरु रहनुभएन । दशकौँदेखिका हामी सङ्गति र दाजुभाइ भने हौँ, आपसमा सम्मान र स्नेह भएका ।
त्यसको पनि वर्षाैंपछि, म अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक थिएँ । जादुगरी वाक्कला भएका तिनै नवराज लम्साल पत्रकार भाइ अशोक सिलवालको सल्लाहमा मलाई भेट्न आए । परोक्ष रूपमा एकअर्कामा पर्याप्त परिचित भइसकेका हामीले प्रत्यक्ष र औपचारिक परिचय गर्यौँ । चिया पिउँदै गफियौँ । उनको उमेर थाहा पाएपछि, मैले मनमनै लख काटेँ— पक्कै पनि यिनै हुन् फेदी पँधेराबाट लोटाले पानी ओसार्ने ठुलो चैँ केटा ।
कवि र गीतकारका रूपमा उदयीमान नवराज, भन्नैपरेन— त्यतिखेर रेडियो कार्यक्रमका उम्दा सञ्चालक भइसकेका थिए । मैले उनलाई अन्नपूर्ण पोस्टमा पाक्षिक रूपमा वैचारिक लेख लेख्न अनुबन्ध गरेँ ।
अमिल्दो कुराजस्तो... । छन्द कविताका सिद्धहस्त कविलाई गद्यात्मक लेख लेखाउँदै थिएँ म । तर मैले परख गरिसकेको थिएँ— विषयवस्तुको गहिरो ज्ञानमा, त्यसलाई छर्लङ्ग पार्ने शब्द चयन कलामा अनि जो कसैलाई पनि लट्ठ पार्ने सुमधुर स्वर शैलीमा नवराजलाई सरस्वती माताको वरदान नै प्राप्त भएको छ । नवराजका तिनै तीनमध्ये अघिल्ला दुई गुणबाट अन्नपूर्ण पोस्टलाई पूर्ण लाभान्वित गराउन सकिन्छ भनेर मैले त्यो निर्णय गरेको थिएँ ।
नवराजले मलाई गलत निर्णयकर्ता बनाएनन् । उनले गद्य लेखनमा पनि आफ्नो गज्जबको सामर्थ्य देखाए । अन्नपूर्ण पोस्टमा उनका काव्यात्मक शैलीमा सलल बगेका स्पष्ट वैचारिक लेखहरू छापिँदै गए, जसले नवराजको क्षमताको लुकेको पाटो पनि उजागर भयो ।
नवराज लम्सालको ‘पाइलैपिच्छे सगरमाथा’ कविता सङ्ग्रह पहिल्यै प्रकाशित थियो । अन्नपूर्ण पोस्टमा लेखहरू छापिरहेकै बेला उनको पहिलो महाकाव्य कर्ण प्रकाशित भयो । त्यसपछि नवराजको अर्काे महाकाव्य आयो धरा । फेदी पँधेरोको धाराबाट लोटामा पानी ओसार्ने एउटा केटाले समयको अन्तरालमा यसरी नेपाली काव्यजगतमा गण्डकी, कोशी, कर्णाली नै बगाइरहेका थिए । यसै मेसोमा अलिपछि आयो नवराजको तेस्रो महाकाव्य अग्नि । अग्नि अर्थात् अन्तिम सर्गका केही दर्जन पद्यात्मक पङ्क्तिबाहेक सम्पूर्ण रूपमा गद्यात्मक काव्यशैलीमा रचित महाकाव्य, जुन मदन पुरस्कार जित्न समेत सफल भयो ।
मलाई थाहा छैन, महाकाव्यकार नवराज लम्साललाई अग्नि गद्यात्मक शैलीमा लेख्न अन्नपूर्ण पोस्टको वैचारिक लेखन यात्राले के कति उत्प्रेरित गर्यो वा कत्तिको सघायो ? गद्यात्मक काव्यशैलीमा खँलाती धाएर अग्नि महाकाव्य रचनाको अग्निपरीक्षा दिइरहेका बेलामै नवराज लम्साल विद्यावारिधिको महासागर तर्ने तर्खर पनि गर्दै थिए । त्यो महासागर पार गर्ने डुङ्गाको बहाना खियाउन भने प्रा.डा. मोहनप्रसाद तिमल्सिनाको ‘माझी ज्ञान’ले महत्त्वपूर्ण मार्गदर्शन गरेको हो
नेपाली भाषाशास्त्र र लोक सांस्कृतिक विश्लेषणका क्षेत्रमा मणितुल्य मोहनदाइसँग आफूलाई पनि यसरी गाँसेर यी पङ्क्ति लेखिरहँदा मलाई साँच्चै मज्जाको स्वाद आइरहेको छ ।
प्रा.डा. मोहनप्रसाद तिमल्सिनाको कुशल शोध निर्देशनमा बीस जनाले विद्यावारिधि गरेका छन् । ती बीस जनामा धादिङकै पाँचजना छन्, जसमध्ये एक हुन्— नवराज लम्साल । लोक सांस्कृतिक विश्लेषक प्रा.डा. तिमल्सिनाको शोध निर्देशनमै नवराज लम्सालले ‘धादिङका लोकगीतहरूको विश्लेषण’मा विद्यावारिधि गरेका हुन् ।
बहर जो कसैले पनि दाउन सक्छ तर नवराज लम्सालजस्तो बाघ दाउने बहादुर हुन् प्रा.डा. मोहनप्रसाद तिमल्सिना । यतिखेर प्रा.डा. तिमिल्सिनाभन्दा मदन पुरस्कार जितेकाले डा. नवराज लम्साल चर्चित छन् । फुटबल खेलका सर्वकालीन् महान् खेलाडी लियोनल मेस्सीलाई पनि तालिम दिने प्रशिक्षक हुन्छन् । मेस्सीका हालसम्मका सबै प्रशिक्षकको भन्दा उनको लौकिक उपलब्धि कता हो कता बढी छ ! तर के ती प्रशिक्षकविना मेस्सीले कीर्तिमानी उपलब्धिहरू हासिल गर्न सक्थे र ?! त्यसैले गुरु सदा सम्मानित हुन्छन् । कुरु क्षेत्रको युद्धमा मारिए पनि द्रोणाचार्य किन सम्मानित छन् भने उनी महाभारत युद्ध विजेता अर्जुनका समेत गुरु हुन् ।
बालसखी उमा गुरुङ हुन् कि प्रिय भाइ डा. नवराज लम्साल, बहुक्षमतायुक्त यस्ता स्रष्टाका आदरणीय गुरु प्रा.डा. तिमल्सिना मेरो भने औपचारिक शिक्षा आर्जनका क्रममा कहिल्यै गुरु रहनुभएन । दशकौँदेखिका हामी सङ्गति र दाजुभाइ भने हौँ, आपसमा सम्मान र स्नेह भएका ।
आधुनिक नेपालमा अनायासै आइलागेको ‘कालोरात’मा ‘उज्यालो’को एउटै सपना देख्ने हजारौँ युवासँगै हुनुहुन्थ्यो मोहन तिमल्सिना, जहाँ म पनि थिएँ । राष्ट्रको साझा सपनालाई विपनामा उतार्न हामीले प्रजातान्त्रिक सङ्घर्षका बेला सँगसँगै होस्टेमा हैँसे गरेका थियौँ । प्रजातान्त्रिक आन्दोलनमा सामेल हुँदाका ती दिनमा मोहनदाइ मेरा लागि दाइ पनि र साथी पनि रहनुभयो भन्दा न्याय हुन्छ ।
र, अहिले त्रिपुरासुन्दरी गाउँपालिकाले नमुना न्याय गरेको छ, आफ्नो एक असल छोरालाई जिउँदैमा सम्मान गरेर । शक्तिकी अजस्र स्रोत सल्यानकोटकी त्रिपुरासुन्दरी माईको गरिमामय नामबाटै आफ्नो परिचय पाएको गाउँपालिकाद्वारा माईकै काख सल्यानकोटमा माईकै पुरोहित खलकको कोखमा जन्मेर नेपाली लोकसंस्कृति, भाषा, साहित्य र शिक्षा क्षेत्रमा स्वनामधन्य प्रा.डा. मोहनप्रसाद तिमल्सिनालाई अभिनन्दन ग्रन्थ प्रकाशन गरेर सम्मान, अहा !
धन्यवाद छ— डा. नवीनबन्धु पहाडी भाइ, तपाईंले यो आलेख लेख्ने अवसर दिनुभएकाले सज्जनबन्धु मोहनदाइलाई सम्झँदै इष्टदेवी त्रिपुरासुन्दरी माईप्रति आस्थाका अक्षर अर्पिन पाएको छु । अनि ऐतिहासिक घटना, सामाजिक रीतिरिवाज र संस्कार, सांस्कृतिक चालचलन र पारिवारिक श्रुति सम्झने तथा आफ्नै स्मृतिको पहाडमा खुत्रुखुत्रु ओर्लंदै कलिलो उमेरसम्मै पुग्न पाएको छु ।
०००
सांस्कृतिक विश्लेषक मोहनदाइसँग चिनजान नै थिएन, म पहिलोपल्ट हाम्रो सांस्कृतिक धरोहर सल्यानकोट पुग्दा ।
नेपाल एकीकरणमा लागेका पृथ्वीनारायण शाहले सल्यानकोट माईको पूजा–आराधना गर्दा आफूले सपनामा माईको दर्शन एवं माईबाट दुई खड्ग र मनोकांक्षा पूरा हुने आशीर्वाद पनि पाएको वर्णन गरिएको ‘दिव्योपदेश’ पढेकै थिइनँ, म पहिलोपल्ट सल्यानकोट पुग्दा ।
त्रिपुरासुन्दरी माईको असीम कृपाले हाम्रो वंश विस्तार भएको हो भन्ने पारिवारिक विश्वासको किस्सा पनि सुनिसकेको थिइनँ, त्यतिबेला ।
समय क्रममा पारिवारिक श्रुति सुनेँ, ‘दिव्योपदेश’ पढेँ र मोहनदाइसँग पनि परिचय भयो ।
समयक्रममै के पनि थाहा पाएँ भने—
त्रिपुरासुन्दरी माईको तीनवटा मन्दिर छन्— मूल मन्दिर (घर), न्वागी मन्दिर (माइती) र दसैँ मन्दिर (मावली) । सल्यानकोटमा दुइटा छन्— घर र मावली मन्दिर अनि सल्यानबेसीमा माइती मन्दिर । सल्यानबेसीका गणेश, आँखुसाँघु खहरेकी सरस्वती, सल्यानटार पाँचधारेका शिव र काष्ठेकी इन्द्रजमुना चार पीठ हुन् त्रिपुरासुन्दरी माईका । गणेश मन्दिरका पुजारी सिटौला, सरस्वती मन्दिरका पुजारी सापकोटा, शिव मन्दिरका पुजारी बसौला र इन्द्रजमुनाका पुजारी तिमल्सिना हुन्छन् । त्रिपुरासुन्दरी माईको पुरोहित यिनै चार थर मध्येबाट र पुजारी रानामगर थरका मात्र हुन्छन् ।
चैते दसैँको दिन थियो २०२९ सालको, म पहिलोपल्ट सल्यानकोट पुग्दा ।
त्यो दिन, त्रिपुरासुन्दरी माईलाई हामीले बोका र कास्वाँरे माइलाबाले पन्चबली चढाउने कार्यक्रम थियो । गुम्दी कास्वाँराका भवनाथ सिम्खडाकी जेठी श्रीमती तर्फका माइला छोरा कृष्णप्रसाद दार्खामा बस्न आउनुभएकाले उहाँलाई गुम्दी कास्वाँरातिर दार्खाली माइला भन्थे भने दार्खामा कास्वाँरे माइला ।
बिहान १० बजेतिर हुने माईको नित्यपूजा लगत्तै बोका भोग लाग्ने तर पञ्चबलिको भोग अपराह्नमा हुने भएकाले कास्वाँरे माइलाबा र हामी आ–आफ्नै सुरले सल्यानकोट गएका थियौँ ।
मेरा माइलाबा हरिप्रसाद सिम्खडा, हाम्रो परिवारका सहयोगी फत्तर माइल्दाइ र म दार्खाबाट बिहान सखारै एउटा बोका डोहोर्याउँदै किन्ताङफेदी, रिङने, कारीगाउँ हुँदै सल्यानकोट गयौँ ।
हामी कोटमा पुग्नै लाग्दा एउटा घरमा पस्यौँ, हजुरआमा कलावती सिम्खडाले पठाउनुभएको कोसेलीपात पुर्याउन । दार्खामा हाम्रो घरमा धार्मिक कार्जे हुँदा आइरहनु हुने कारीगाउँका पण्डित मुरारी रिजालको भिनाजु टंकप्रसाद तिमल्सिनाको घर रहेछ त्यो । त्रिपुरासुन्दरी माईको पुरोहित खलकको हुनुहुँदो रहेछ टंकप्रसाद । मोहनदाइको बुबा देवीप्रसाद तिनै टंकप्रसादको सहोदर माइला भाइ हुन् भन्ने मैले धेरै पछि मात्र थाहा पाएको हुँ ।
कोसेलीपात जिम्मा लगाएर हामी मन्दिरमा उक्लियौँ । चैते दशैँको अष्टमी भएकाले धेरै जनाले बोका, हाँस, कुखुरा बलि चढाउन ल्याएका थिए । नित्यपूजापश्चात् माईलाई भक्तजनले ल्याएका बोका, हाँस, कुखुराको बलि भोग दिइयो ।
कास्वाँरे माइलाबा दलबलसहित पञ्चैबाजा घन्काउँदै फूलको डोली र पञ्चबलि लिएर सल्यानकोट आइपुग्दा फत्तर माल्दाइ बलि चढाएको बोका बोकेर दार्खा फर्किसकेका थिए । माइलाबा र मेरो भने पञ्चबलि चढाएको हेर्न बस्ने र पञ्चबलिवाला टोलीसँगै रातमाटेमा बस्न जाने पूर्वसल्लाह थियो । कास्वाँरे माइलाबाको सहोदर दाइ दुर्गाप्रसाद (रामजी) सिम्खडाको बसोबास रातमाटेमा थियो ।
चैते दशैँको अपराह्न माईलाई सल्यानकोटमै रहेको मावली मन्दिरमा भित्र्याएर पञ्चबलि चढाइने रहेछ । राति ९ जति नै बज्यो, पञ्चबलि भोग लगाइसक्दा ।
दुइटा मैन्टोलका भरमा पञ्चबलिवाला टोली बेलुङ भञ्ज्याङ हुँदै बगुवा खोला झरेर रातमाटे उक्लिँदा मध्यरात भइसकेको थियो । पञ्चबलिको भतेर उम्कँदा त झन्डै उज्यालो । घाम झुल्केपछि माइलाबा र म एक–एक कचौरा दूध पिएर बाटो लाग्यौँ । काँस्वारामा परशुराम काकाको घरमा खाना खाएर अपराह्नतिर दार्खा पुग्यौँ ।
नाताले काका भए पनि वरिष्ठ कलाकार/कवि शैलेन्द्र सिम्खडा मेरो समवयी र मिल्ने साथी । दार्खामा उहाँको घर— पुछारघर र हाम्रो घर— नयाँघर नजिकै, वल्लोघर पल्लोघर । मेरो खेल्ने अखडा नै पुछारघर हुन्थ्यो । पुछारघरकी हजुरआमा खड्गकुमारी मेरी आमाको फुपू ।
बनारसलाई काशी पनि भनिन्छ र भनिन्छ काशीलाई विद्याको केन्द्र । मेरी आमा देवकुमारीको बोलाउने नाम काशी हो । नाम काशी भए पनि उहाँलाई पढ्न लेख्न आउँदैन । उहाँकी फुपूलाई भने खै कसरी हो, पढ्न आउँथ्यो ! पुछारघरकी हजुरआमा देवीभागवत्, महाभारत, रामायण सस्वर पढ्नुहुन्थ्यो । त्यतिबेला सुनेका ती पुराणका कतिपय कथा मलाई अहिले पनि सम्झना छ ।
पुछारघर हजुरबा दुर्गप्रसाद भने हाँसो ठट्टा र अनेकौँ कथा किस्साका खानी नै हुनुहुन्थ्यो । उहाँले हामीलाई पारिवारिक कथन र रीतिथितिहरू समेत सुनाइरहनुहुन्थ्यो । सल्यानकोटबाट फर्केको केही दिनपछि उहाँले त्रिपुरासुन्दरी माईलाई पञ्चबलि चढाएपछि धादिङका सिम्खडाको वंश विस्तार भएको पारिवारिक श्रुति सुनाउनुभयो— ‘हाम्रा पुर्खा रिमै पाध्या हुन् । उनी जुम्लाको सिम्खाडा गाउँबाट धादिङमा बस्न आइपुगेका हुन् । उनको दुई घरबार भएको रहेछ । कान्छी श्रीमतीपट्टि एक मात्र छोरा जन्मेछन्, जयराम सिम्खडा । जयरामको पनि छोरा, नाति, पनाति मात्र होइन, जनाति बालकृष्ण समेत एक्लो नै । यसरी पुस्तौँ पुस्तासम्म एक्लो सन्तान मात्र जन्मिएकाले बालकृष्णले त्रिपुरासुन्दरी माईलाई पञ्चबलि भोग चढाउनुभएछ । त्यसपछि उनका ६ छोरा जन्मिएछन् ।’
यो पारिवारिक किस्सा सुन्दा म झसङ्ग भएको थिएँ । त्रिपुरासुन्दरी माईको अनुकम्पा कदाचित् बालकृष्ण सिम्खडालाई प्राप्त हुँदैनथ्यो भने यो धर्तीमा मेरो अस्तित्व नै नहुने रहेछ ! किनकि बालकृष्णको जेठा छोरा हरिलालको होइन, ठाइला छोरा गोपीलालको सन्तति हुँ म ।
अचेल यदाकदा बलिप्रथाको आलोचना, विरोध भएको सुनिन्छ, देखिन्छ । रामजी ठुलोबा, कास्वाँरे माइलाबाहरू पनि अहिले अहिंसावादी र साकाहारी हुनुभएको छ तर त्रिपुरासुन्दरी माईलाई बलि, पञ्चबलि चढाउने प्रथा यथावत छ ।
नमन त्रिपुरासुन्दरी माई, कोटि–कोटि प्रणाम छ— महामायालाई !
भनिन्छ, भक्तले चाहेर मात्रै भगवान् र भगवतीको भक्ति गर्ने अवसर जुट्दैन । भक्तिका लागि समेत भगवान् र भगवतीको कृपा अपरिहार्य हुन्छ । त्रिपुरासुन्दरी माईबाट हाम्रो परिवार र मलाई भने उहाँको सेवा र उपासना गर्ने कृपा भएको छ ।
त्रिपुरासुन्दरी माईका तीनवटै मन्दिर पहिले घर शैलीका थिए । चैतेदशैँ र बडादशैँमा पञ्चबलि भोगका लागि माईलाई लगिने कोटकै मावली मन्दिर र मंसिरमा न्वागी खुवाउन झारिने बेसीको माइती मन्दिर पुनःनिर्माण गरिँदा घर शैलीको बदला प्यागोडा शैलीको बनाइएको छ ।
इष्टदेवी त्रिपुरासुन्दरी माईको असीम अनुकम्पाले मूल मन्दिर पुनः निर्माण गर्ने अभिभारा भने हाम्रो परिवारलाई प्राप्त भयो । बुबा बाबुराम सिम्खडा (शर्मा), कान्छा काका कृष्णप्रसाद सिम्खडा र भाइहरू केशव, अशोक, उमेशको आर्थिक लगानीमा घरशैलीमा तर पहिलेभन्दा झन कलात्मक रूपमा मन्दिरको पुनः निर्माण भएको छ । २०७८ वैशाख ७ गते पुनः निर्मित मन्दिर हस्तान्तरण गरिसकिएको छ ।
०००
मोहनदाइसँग परिचय हुनु ७/८ महिनाअघि अर्थात् २०३५ असारको पहिलो साताको कुरा हो यो ।
गोरखा तान्द्राङको आमचौरबाट जन्तीको ताँती फर्कंदै थियो । दुलही ताम्दानीमा थिइन् । पञ्चैबाजा घन्किरहेको थियो— त्यतिबेला खुब चलेको बलिउडका सुविख्यात कलाकार डेनी डेन्जोङ्पाको गीतको धुनमा :
मनको कुरालाई बाँधी नराख
गाँठो परी जाला, चट्ट सुनाइदेऊ ।
रिमिझिमी साँझ यो सम्झ मनैमा
घाम छायाँ वरिपरि रहला मनैमा ।
जिन्दगानी हाम्रो यो दुई दिनलाई
पिरतीको कथा हाम्रो रन्छ सदालाई... ।
जन्ती त्यो साँझ आँखुसाँघु पौवा फाँटमा गोपाल काकाको घरमा बास बसेको थियो । उहाँ कास्वाँराका भवनाथ सिम्खडाकी कान्छी श्रीमतीपट्टिका जेठा छोरा ।
भोलिपल्ट बिहान जन्ती त्यहीँ बसे । एउटा बोका डोर्याएर दुईजना भरिया, पुरोहित गोविन्दप्रसाद रिजाल र हामी दुलहा र दुलही सखारै आँखुसाँघु तरेर उकालो लाग्यौँ, सल्यानकोटकी त्रिपुरासुन्दरी माईको उपासनाका लागि ।
बाटोमा पुरोहित र भरियाहरू कि अघि लाग्थे कि पछि बसिदिन्थे, दुहलादुलही बात मारुन् भनेर हो कि !? तर हाम्रो मनमा त्यस्ता केही कुरै थिएन— बाँधेर राखिएका, नसुनाए गाँठो परी जाने वा चट्ट सुनाइहाल्नुपर्ने ।
बरु, अढाइ वर्षअघि त्रिपुरासुन्दरी माईकै मन्दिरमा आएर फर्कंदाको घटनाको भने मलाई झलझली याद आएको थियो ।
न्वागीका लागि सल्यानबेसी झारिनुभएकी माई माइती मन्दिरमै हुनुहुन्थ्यो । दार्खाबाट एउटा बोका डोर्याउँदै आएका भाइ मोहन, सिम्लेका लालबहादुर र म यही आँखु साँघु तरेर सुकौरा, हाँसेपसल हुँदै त्यहाँ पुगेका थियौँ ।
पूजापश्चात् बलि दिएको बोका बोकेर लालबहादुर दार्खा फर्किए । मोहन भाइ र म भने हजुरआमाले भन्नु भएअनुसार बोकाको फिलाका दुइटा सपेटा बोकेर ज्यामरुङ गयौँ, केही समयअघि सुत्केरी हुनुभएकी माइली फुपू राधा दिदी भेट्न । हाँसेमा आँखु तरेर उकालो चढ्दै ज्यामरुङ दरबारबाट तेर्सिएर धमला ज्यामरुङ पुग्दा हिउँदको छोटो दिन, घाम डुबिसकेको थियो ।
फुपाजु तिलक धमला नेपाली सेनामा । घरमा राधा दिदी, पाँच वर्षीया नीमा बहिनी र अन्नप्राशन पनि नभएको राजन भाइ मात्र । मोहन र मलाई आँगनमा टुप्लुक्क देख्दा दिदी छक्क पर्नुुभो र त्योभन्दा बढी खुसी । फुच्ची नीमा पनि रमाई पिपलमेठ पाएर ।
हो, त्यसकै भोलिपल्ट बिहान हो— फेदी पँधेराबाट फर्केकी ‘जून’सँग जम्काभेट भएको ।
बिहानको खाना खाएर घर फर्कंदा हामी सुब्बिनी ठुलीआमालाई भेट्न पस्यौँ । माइला हजुरबाकी बुहारी उहाँ । मोहन र म कान्छाका नातिहरू । सुब्बा ठुलोबा (तम्बुलाल सिम्खडा) बितिसक्नुभएको र ठुलीआमा छोरा नभएकाले ज्यामरुङमै छोरीको घरमा बस्नुहुन्थ्यो ।
सन्चो–बिसन्चो सोधखोज सकिँदा नसकिँदै उहाँले ‘छोराहरू के खान्छौ त’ भनेर सोध्नुभयो । हामीले भर्खर खान खाएर निस्केको बतायौँ । उहाँले माने पो ! हामीलाई घरभित्रै बोलाएर, अगेनामा आगो जोडेर हाँडीमा खट्टे भुट्न थाल्नुभयो । र, झन्डै–झन्डै साउती मारेको स्वरमा मलाई सोध्नुभयो, ‘राधा नानीको भाञ्जी बिहे गर्ने हो बाबुले ?’
म त छाँगाबाट खसेजस्तै भएँ, सोच्दै नसोचेको विषयको प्रश्न सुनेर । मैले एक शब्दमा जवाफ दिएँ— हैन ।
ठुलीआमा भने धारा प्रवाह बोल्न थाल्नुभयो, ‘राधा नानीको ससुरा त शर्माको छोरालाई दिने हो मेरो नातिनी भन्थे त ! यहीँ बसेर पढिरा’छिन् ती नानी । बाबुले देख्यौ होला नि ? खास्साकी छिन् । रूप नराम्रो छैन, स्वभासिली छिन्, गरे हुन्छ बिहे ।’
राधा दिदीको ससुराबासँग बिहान मेरो भेट भएको थियो । उहाँले बुबाको हालखबर र घर–परिवारको सन्चो–बिसन्चो मात्रै सोधखोज गर्नुभएको थियो, विवाहको ‘ब’ पनि उच्चारण गर्नुभएको थिएन । खासमा मेरो बिहे गर्ने उमेर नै भएको थिएन ।
दार्खाफेदी पुग्नै लाग्दा, चिसापानीको पुछारमा आँखु खोलामा थापिएको तिपमा थुप्रै माछा परेका रहेछन् । हामीले हल्लाखल्ला गर्यौँ, कोही आएनन् । हामीले नलगे अरु बटुवाले लगिहाल्छ भन्ने तर्क गर्दै माछा लैजाने सल्लाह गर्यौँ । मोहन भाइले सर्ट फुकालेर ती माछा पोको पार्यो ।
ठुलै पौरख गरेर आएझैँ हामीले घरमा माछा देखायौँ । हजुरआमाले हप्काउनु पो भयो— बाहुनको छोराहरू भएर घरमा माछा ल्याएको र त्यसमाथि पनि अर्काले थापेको तिपको माछा ल्याएको भनेर ।
हामीले निन्याउरो मुख बनाउँदै जानी नजानी माछा काटकुट गर्यौँ । चिउरा कुट्दा धान भुट्न बनाइएको ढिकीको अगेनामा पकायौँ ।
माछा खाँदा एउटा आपत् आइलाग्यो, मोहनको घाँटीमा काँडा अड्कियो । उफ्, जसले माछा आफ्नो सर्टमा पोको पारेर ल्यायो, जसले हजुरआमाको हप्काइ सह्यो, उसैको घाँटीमा काँडा अड्कियो ! घरमा हल्लाखल्ला भयो, कसैले गुराँस गुराँस भन्दै हत्केलाको तल्लो भागले घुच्चुकमा हिर्काए । कसैले सुकाएर राखिएका गुराँसको फूल माडमुड पारेर खान दिए ।
धन्न, मोहनको घाँटीमा अड्केको माछाको काँडा निस्कियो !
बिहान फेदी पँधेरा जाँदा ‘जून’ देखिएदेखि सुब्बिनी ठुलीआमाको प्रश्न/प्रवचन र ज्यामरुङ–दार्खाको यात्रा अनि साँझ मोहन भाइको घाँटीमा अड्केको माछाको काँडा निस्किएसम्मका घटनामय त्यो दिनको पुगनपुग अढाइ वर्षपछि, जेठको तेस्रो साता मलाई जसरी पनि तुरुन्तै घरमा आउन बोलावट भयो ।
किन होला भन्ने खुल्दुली मनमा खेलाउँदै काठमाडौँबाट दार्खा पुगेँ । बुबा र हजुरआमाले मलाई तिनै किशोरीसँग बिहे गर भन्नुभयो । तिनै क्या, फेदी पँधेराबाट पानी भरेर फर्किएकी किशोरी !
उहाँहरूको आज्ञा शिरोपर गरेर मैले स्वीकृति जनाएको सत्रौँ दिन, असारको पहिलो साता उनी र म ‘हामी’ भएर सल्यानकोटमा माईको दर्शन गर्न उकालो चढ्दै थियौँ ।
तीन घण्टा लाग्यो ठाडो उकालो छिचोलेर सल्यानकोट पुग्न । शक्तिपीठहरूमा यसै त सकारात्मक ऊर्जा प्रवाह भइरहेको हुन्छ, त्यसमाथि रमणीय टाकुरामा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा पुगेका थियौँ हामी । असार महिना भए पनि आकाश छ्याङ्ग खुलेकाले गणेश हिमालदेखि नौपत्र डाँडाकाँडा र नागबेली बहेको आँखु खोला मनोरम देखिए । उकालो हिँड्दाको थकाइ छुमन्तर भयो ।
माईको मन्दिरमा पुरोहित गोविन्द बाबुले एक आवर्त चण्डी पाठ गर्नुभयो । हामीले पूजा सामग्री पूजारीको जिम्मा लगायौँ र मन्दिरको भित्री दैलोको दर्शन गर्यौँ । बलि भोग लाग्नासाथ भरियाहरू बलि चढाएको बोका बोकेर बाटो लागे । गोविन्दबाबु र म भने दुलहीको सारमा सालघारीको हपहपी गर्मी सहँदै खहरे झर्यौँ ।
त्यो यात्राले नै परमा र मलाई जिन्दगीको यात्रामा उकाली–ओराली, घामछायाँ, दुःख–सुख सबैथोक हुन्छ भन्ने सङ्केत गरेको रहेछ ।
जन्ती दार्खा पुग्दा रातको १२ बज्नै लागेको थियो । पूर्णिमाको रातमा ‘जून’ बुहारी बनेर घर भित्रिएकी थिइन् । आकाश खुलेकाले जूनको उज्यालोले धर्ती पनि झलमल थियो ।
०००
मोहनदाइसँग मेरो भेट भने ‘कालरात्रि’मा भएको हो । मुलुकमा राजाको सक्रिय नेतृत्वको निर्दलीय पञ्चायती कालरात्रि थियो त्यो ।
जुल्फिकर अलि भुट्टोलाई मृत्युदण्ड दिएको विरोधमा काठमाडौँस्थित पाकिस्तानी दूतावासमा विरोधपत्र दिन गएका विद्यार्थीमाथि प्रहरी प्रशासनले लाठीचार्ज गर्यो । त्यही निहुँमा सुरु भएको विद्यार्थी आन्दोलनले निर्दलीय पञ्चायती सरकारलाई बाह्र बजाइरहेको थियो ।
मोहनदाइ तीनधारा पाठशाला पनि भनिने संस्कृत छात्रावासको छात्र कार्यसमितिको सभापति हुनुहुन्थ्यो भने म नेपाल विद्यार्थी सङ्घ, रत्न राज्यलक्ष्मी क्याम्पस इकाइको सभापति । विद्यार्थी आन्दोलनमा मोहनदाइ र मैले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्यौँ । आन्दोलन चम्कँदै जाँदा २०३६ साल जेठ १० गते बिहान राजा वीरेन्द्र जनमत सङ्ग्रह घोषणा गर्न बाध्य भए— निर्दलीय पञ्चायती व्यवस्थामा सामयिक सुधार गर्दै जाने कि बहुदलीय व्यवस्था अपनाउने भनेर ।
जनमत सङ्ग्रह घोषणापछिको खुला परिवेशमा हामीले दुइटा खास काम गर्यौँ । मोहनदाइकै अध्यक्षतामा नेपाल विद्यार्थी सङ्घ, धादिङ पुनर्गठन गर्यौँ । धादिङ, नुवाकोट र रसुवाका हाम्रा अग्रजद्वारा बीसको दशकमा स्थापित पश्चिम १ नम्बर छात्र सङ्घ पनि ब्युँत्यायौँ । नुवाकोटका मुकुन्द सिटौला सभापति बने, धादिङको म महासचिव ।
तर पश्चिम १ नम्बर छात्र सङ्घ खासै सक्रिय हुन सकेन । साथीहरू आ–आफ्नै जिल्लामै केन्द्रित र क्रियाशील भइदिँदा पश्चिम १ नम्बर छात्र सङ्घको त्यत्तिकै अवसान भयो । मोहनदाइ सभापति, तारानाथ गौतम महासचिव, शैलेन्द्र सिम्खडा कोषाध्यक्ष र म लगायतका तरुण साथीहरु सदस्य रहेको नेवि सङ्घ, धादिङ भने निकै सक्रिय रह्यो— काठमाडौँमा देउसीभैलो लगायत कार्यक्रम गरेर ‘फन्ड कलेक्सन’ गर्न र त्यसरी सङ्कलित रकम धादिङमा नेवि सङ्घको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनको गतिविधिमा प्रयोग गर्न ।
राजाको सक्रिय नेतृत्वको पञ्चायती सत्ताले जनमत सङ्ग्रहमा धाँधलीका अनेक हथकण्डा अपनाएर ‘निर्दल’को ‘जित’ भएको नतिजा सुनायो । तर राष्ट्रको जीवनमा आइलागेको ‘कालोरात’ चिरेर ‘उज्यालो’ ल्याउने भगीरथ प्रयत्न त्यो जालझेलको जितबाट किन रोकिन्थ्यो र ! हजारौँ हजार प्रजातन्त्रवादीको होस्टे हैँसे अन्ततः २०४६ को जनआन्दोलनबाट सफल भयो । प्रजातन्त्र पुनः स्थापनापछि भने मोहनदाइ र म दुवैले राजनीतिलाई ‘पेसा’ बनाएनौँ । उहाँ प्राध्यापनमै केन्द्रित हुनुभयो, म पत्रकारितामा ।
भनिन्छ, सगरमाथा चढ्नु मात्र होइन, सकुशल फर्कन सक्नु हो सफलता । प्रा.डा. मोहनप्रसाद तिमल्सिनाको पेसागत यात्रालाई फर्केर हेर्दा सगर्व के भन्न सकिन्छ भने उहाँले अँगालेको पेसाको पवित्रतामा कहीँकतै दाग लगाउनुभएन । त्यसैले मोहनदाइको लोभलाग्दो निष्कलंक सफलता जो–कसैका लागि पनि अनुकरणीय छ ।
यस्ता सफल र असल मान्छेसँग आफ्नो नाम जोड्न पाइयो भने स्वाद आउँछ नि हैन ? भौगोलिक रूपमा उत्तरी धादिङका मोहनदाइ र म, राजनीतिक रूपमा एउटै प्रजातान्त्रिक कित्ताको । पारिवारिक स्थिति पनि उस्तै— उहाँका दुई छोरा छन् आमोद र अनन्त, मेरा पनि दुई छोरा परमेश र प्रश्रित । हाम्रो गोत्र एउटै— मौद्गल्य । सांस्कृतिक रूपमा पनि मोहनदाइ र मेरो आस्थाको केन्द्र एउटै— सल्यानकोटकी त्रिपुरासुन्दरी माई । माईको पुरोहित खलकको उहाँ, उपासक खलकको म ।
नेपाली भाषाशास्त्र र लोक सांस्कृतिक विश्लेषणका क्षेत्रमा मणितुल्य मोहनदाइसँग आफूलाई पनि यसरी गाँसेर यी पङ्क्ति लेखिरहँदा मलाई साँच्चै मज्जाको स्वाद आइरहेको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ शीर्षक कवितामा भनिएको छ :
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी,
कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।
गुणग्राही व्यक्तिहरू बसोबास भएको र नेतृत्वमा पुगेको त्रिपुरासुन्दरी गाउँपालिकामा भने अर्कै हुन्छ ‘मणिको मोल’ । जौहरीले हीरामोती मणिमाणिक्यको महत्त्व बुझे जसरी नै उसले प्रा.डा. मोहनप्रसाद तिमल्सिनाको महत्ता बुझेर अभिनन्दन ग्रन्थ जो प्रकाशन गरेको छ । मरेपछि लोकाचारका लागि गरिने श्राद्ध होइन, जिउँदैमा लोभलाग्दो श्रद्धा । अहा, कति मिठो दोहोरो माया साँटासाँट— ‘जन्मथलो’ काव्य कृतिका सर्जकलाई जन्मभूमिको तर्फबाट अभिनन्दन ग्रन्थद्वारा सम्मान !
(त्रिपुरासुन्दरी गाउँपालिका, धादिङद्वारा प्रकाशित ‘प्रा.डा. मोहनप्रसाद तिमल्सिना— अभिनन्दन ग्रन्थ’बाट सधन्यवाद साभार । यो ग्रन्थ हिजो चैत २९ गते काठमाडौँमा आयोजित विशेष समारोहमा विमोचन गरिएको थियो ।)
२ प्रतिक्रिया