लिङ्गपुजन परम्पराले लौकिक जीवनमा लोकप्रियताको चरमचुली चुम्दै चलेर आएको एक समृद्ध रूपको शैवजात्रा हो, विस्काः जात्रा । पुरातत्त्वका दृष्टिले लिङ्गपुजन परम्परा आजभन्दा पाँच हजार वर्ष पुरानो रही आएको छ । सैन्धव उत्खननमा फेला परेका शिवलिङ्ग र योगमुद्रामा तल्लीन शिव पशुपतिका सिलछाप उदाहरण स्वरूप छन् ।
परवर्ती कालमा पुरुष जननेन्द्रीय शिवको प्रतीक रही त्यसमा समन्वित स्त्री जननेन्द्रीय शक्तिको प्रतीक रही लिङ्गपुजन संस्कृति अझ शिष्ट रूपले विकसित हुँदै आएको जानिन्छ । लखनउ संग्रहालयस्थित ईपू दोस्रो शताब्दीको पञ्चमुखलिङ्ग यस कुराको प्रत्यक्ष उदाहरण हो । नेपाल, भारत लगायत दक्षिण एसियाका शैव प्रभावित क्षेत्रमा रहेका जलहरियुक्त शिवलिङ्गहरू यस कुराका प्रकारान्तर प्रतीक उदाहरण हुन् । हजारौँ वर्ष अघिदेखि प्रतीकात्मक ढङ्गमा साह्रै सफलतापूर्वक लोक दुनियाँले व्यवहारमा समेत उतार्दै आएको एउटा नौलो सांस्कृतिक–प्रयोग लिङ्गको शीर्षमा एकजोडी ध्वजा फहराएर गरिने विजयोत्सव लिङ्ग–ध्वजोत्थान जात्रा थियो । यो प्रयोग त्यसबखतको लौकिक जीवनमा साह्रै सफल मान्दै अत्यन्त लोकप्रिय रही आयो । यस कुराको उत्कृष्ट उदाहरण भक्तपुरको विस्काः जात्रा हो ।
लिङ्गपुजन परम्पराको प्रचार–प्रसारको श्रेय लिङ्गायत मत वा वीरशैव मतका आचार्य एवं तिनका अनुयायीलाई पनि जान्छ । उत्तरप्राचीनकालमा नेपालमा राजकीय संरक्षण समेत पाएर चलेका अनेक स्वतन्त्र शैव सम्प्रदाय, उप सम्प्रदायहरूमध्येको एउटा सम्प्रदाय वीरशैव थियो । यस सम्प्रदायका मुख्य देवता विश्वेश्वर/विश्वनाथ भैरव र उनका शक्ति भद्रकाली एवं वीरवेताल भैरव हुन् । भक्तपुरको टौमढीटोलस्थित विश्वनाथभैरव+भद्रकाली मन्दिर क्षेत्र त्यस कालमा यस सम्प्रदायको पवित्र स्थलको रूपमा रहेको जानिन्छ । भैरवनाथ मन्दिर परिसरमा रहेको उत्तरप्राचीनकालीन जलपात्रमा उत्कीर्ण लिच्छवि अभिलेखमा आएको ‘ललितमहेश्वर’ले पनि यो क्षेत्र त्यसकालदेखि नै शैव क्षेत्रको रूपमा प्रख्यात रही आएको ज्ञात हुन्छ । विस्काः जात्राका मुख्यदेवता विश्वनाथभैरव+भद्रकाली हुन् जुन यसै क्षेत्रमा छन् । अनि लिङ्गायतहरूको प्रधान मठ पनि यसै क्षेत्रमा छ, जुन नेपालको एक मात्र प्रधान मठ पनि हो । लिङ्गजात्रा वा विश्वजात्रा वा विस्काःजात्रा हुने स्थल पनि यसै क्षेत्र अर्थात् भद्रकालीपीठ इलाका (यःसिंख्यः) हो । विश्वमा शैव मतको प्रचार–प्रसार गर्नु वीरशैवहरूको मूल धर्म हो । यसरी वीरशैवहरूले चलाएको शिव सिद्धान्त धर्म एवं लिङ्गपुजन संस्कृतिको प्रचार–प्रसारको चरम लोकप्रियताको उपज यसै क्षेत्रमा गरिने विस्काः जात्रा पनि थियो । उत्तरप्राचीनकालतिर यो जात्रा चैत्र मसान्तको दिनमा लिङ्ग ध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढाल्ने दुई दिने जात्राको रूपमा विकसित हुन पुगेको दृष्टिगोचर हुन्छ । कान्तिपुरको इन्द्रजात्रा, ललितपुरको मत्स्येन्द्रनाथ+भोटोजात्राले त्यतातिरको सांस्कृतिक पहिचानको रूपमा रूढ रहे जस्तै भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान बनेर विस्काः जात्राले लोकजीवनमा स्थान पाउँदै आयो ।
टौमढीटोलमा भैरवनाथको विशाल आयताकार मन्दिर छ जसको पहिलो तलाको मूलस्थानमा दक्षिणको छिमेकी मुलुकका भारतवासी हिन्दुहरूले समेत मान्दै आएका शिरविहीन काशी–विश्वनाथ भैरवको मस्तक रूपका विश्वनाथ भैरव विराजमान छन् । भारतको सांस्कृतिक शिर नेपाल हो भन्ने कुराको एक अनुपम उदाहरण हाम्रा विश्वनाथ भैरव पनि हुन् । किनकि भारतको काशीस्थित विश्वनाथ भैरव र नेपालको भक्तपुर टौमढीस्थित विश्वनाथ भैरव एउटै देवता हुन् । यसैले नेवार सांस्कृतिकजीवन सगौरव यसरी सुनाउँछन्, ‘काशी विश्वनाथ भैलद्यःया कप मरु, झी भैलद्यःया म्हा मरु’ (काशी विश्वनाथभैरवको शिर छैन, हाम्रा विश्वनाथभैरवको देह छैन) ।
अभिलेखीय प्रमाणतिर दृष्टिगत गर्दा आजभन्दा एक हजार चार सय सोह्र वर्ष अघिको लेलेको संवत् ५२६ (वि.सं. ६६१) को शिवदेव+अंशुवर्माको अभिलेखमा आएका ‘इन्द्रगोष्ठी’, ‘ध्वजगोष्ठी’ले ध्वजा फहराएर गरिने लिङ्गजात्रा वा ‘विस्काः’को प्रसङ्गलाई स्मरण गराउँछ । यो कुरा महत्त्वपूर्ण छ । भगवान् इन्द्रको ध्वजा ‘इन्द्रध्वजा’ नामले प्रसिद्ध रहेझैँ विश्वनाथ भैरवको लिङ्गको शीर्षमा फहराइने एक जोडी ध्वजा पनि सोही अनुरूप ‘विश्वध्वजा’ वा ‘विश्वकेतु’ वा ‘वीरध्वजा’ नामले विख्यात रही आएको तथ्य परवर्तीकालका ध्वजाभिलेख प्रमाणका आधारमा समेत जानिन्छ । इन्द्र, सूर्य, आकाश/विश्वनाथ एकै ईश्वरका अनेक नाम हुन् । उदाहरणको रूपमा इन्द्रजात्राको लिङ्गो वा विस्काः जात्राको लिङ्गोलाई नै लिउँ, जुन एकै ईश्वरका वा भनौँ इन्द्र वा सूर्य, आकाश वा विश्वनाथकै तन्त्रपरक नाम अवतार हुन्, जसलाई नेवार सांस्कृतिक जीवनले साझा अर्थमा ‘यःसिं’ (यवेसिंश्रयवसिंश्रयःसिं) भनी पुकार्दै आएका छन् । जस्तो : इन्द्रध्वजाको लिङ्गो ‘इन्द्रध्वजसिं’ उस्तै विश्वध्वजाको लिङ्गो ‘विश्वध्वजसिं’ !
नयाँ पुस्तामा त झन विस्काः जात्रा भनेको ‘ढुङ्गा हान्ने जात्रा’ हो भन्ने भ्रम पैmलिन पुगेको देखिन्छ । योजस्तो विडम्बना अरू के नै हुन सक्ला र ! केही अपवादको कुरा गर्ने हो भने २०३८–०३९, २०४६–०४७ र २०५६–०५७ का वर्षहरूमा विनाढुङ्गा हानाहान, शान्तिपूर्वक सम्पन्न भएका विस्काः जात्राहरू प्रेरक एवं अविस्मरणीय उदाहरण हुन् ।
विस्काः जात्रामा विश्वनाथ भैरवको लिङ्ग–ध्वजोत्थान हुने मूल उत्सव स्थल ‘यसिंख्यः’ नाम त्यसै रहेको होइन । र, कान्तिपुरको नेवारी नाम ‘येँ’ पनि इन्द्रध्वजोत्थान हुने स्थलकै आधारमा रहन गएको आभास पनि यसै प्रसङ्गमा हुन्छ । लेलेको अभिलेखलाई आधार मान्दा तत्समयतिरै इन्द्रजात्रा, विस्काः जात्रा लोकप्रिय भइसकेको ज्ञात हुन्छ । र, यस तथ्यतिर विचार गर्दा त्यसअघि नै लिच्छविहरूको नेपालमण्डलमा आगमनसँगै वा उत्तरप्राचीनकालतिरै लिङ्गध्वजोत्थान उत्सव वा जात्राहरू विजयोत्सवको प्रतीक रूपले चलिआएको आभास हुन्छ ।
चैत्र मसान्तको दिनमा लिङ्गध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढालेर मनाइने दुईदिने विस्काः जात्रामा, मल्लकाल अन्त्यसम्म आइपुग्दा आठ रात नौ दिन लामो जात्राको रूपमा समृद्ध हुन पुग्यो । मल्लकालतिर आइपुग्दा भक्तपुरका विभिन्न कालका शासक वर्गले अनेक जात्रा उपजात्रा (भैरव, भद्रकालीको रथजात्रा, दुमाजुजात्रा, टोल–टोलका गणेश, अष्टमातृका लगायत स्थानीय देवतालाई सगुनसहित दर्शनपुजन गर्न जाने आदि) थप्दै लगेका थिए । यसो हुँदा स्थानीय लोकजीवनमा यो जात्रा ‘च्याचा गुन्हुया जात्रा’ नामले पनि प्रसिद्ध रहिआएको छ ।
विश्व मल्ल (१६०४–१६१७ वि.सं.) र उनकी रानी गंगादेवी (गंगा महारानी), १६०४–१६७० वि.सं.) ले विस्काः जात्रामा केही विधि–विधान थपिदिएको देखिन्छ । वंशावली अनुसार जगज्योतिर्मल्ल (१६७०–१६९४) ले भैरव भद्रकालीको रथजात्रा, टोलका गणेश, दुर्गा, अष्टमातृकाको रथारोहण गरी सगुन दिने, थिमि लगायत सात ग्राम प्रदेशमा समेत सोही विस्काः जात्रा चलाएका थिए ।
यस्तै, भूपतीन्द्र मल्ल (१७५३–१७७९) ले भैरवनाथको रथ पहिलेको भन्दा विशाल आकार प्रकारले बनाउन लगाई चलाउन लगाए । नेपालका चलायमान रथ मन्दिरहरूमा नेवार वास्तुकलाको तीनछाने एक मात्र विशालकाय रथ मन्दिर हो यो ।
लिङ्ग उठाउने र ढाल्ने दुई दिने जात्रा मध्यकालको पूर्वाद्र्धसम्म चलिरहेको आभास हुन्छ । ने.सं. ५०० को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ । हालसम्मको अन्वेषणमा ‘विश्वजात्रा’को पहिलो उल्लेख टौमढी टोलको यक्षमल्लको ने.सं.५६१ को अभिलेखमा भेटिएको छ । ने.सं.६४१ को भूमिसम्बन्धी एउटा तमसुक–ताडपत्रमा ‘विसकजात्रा’ उल्लेख छ । भक्तपुर राजदरबारको ने.सं. ८०८ र ने.सं. ८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखहरूमा ‘विस्क्यात’ उल्लेख छन् । सौरमान अनुसारको वर्षको पहिलो संक्रान्ति मेष संक्रान्ति हो । सूर्य विषुव रेखामाथि रहने पहिलो दिन यो हो । यसैले यो दिन बेग्लै र विशेष महत्त्वको छ । यसै दिनमा मनाइने जात्रा हुनाले यस जात्राको नाम विषुवकेतु, विसिक, विषुवकेतु यात्रा, विसिकयात, विसिक्यात हुँदै इतिहासको काल प्रवाहमा विस्काः हुन पुगेको विदित हुन्छ (श्रेष्ठ, २०६०, भक्तपुरको नवदुर्गा गण, पृष्ठ १०३) । स्थानीय नेवार लोकजीवनमा प्रचलित ‘विस्काः’ शब्दले पनि यो बेग्लै महत्त्व भएको जात्रा भन्ने बोध हुन्छ । यसरी वर्तमान नेवार लोकजीवनमा ‘विस्काः’ र नेपाली राष्ट्रिय जीवनमा ‘बिस्केट’ नाम प्रचलित छन् । यताबाट संस्कृत शब्द ‘विश्वकेतु’ (विश्वनाथ भैरवको ध्वजा)कै परवर्तीकालमा चलेका नाम रूप नामान्तर भई विस्काः रहन गएको कुरा पनि खुल्छ । त्यसै गरी स्थानीय लोकजीवनमा यो जात्रा मेष संक्रान्ति, वैशाख संक्रान्ति, विस्केट संक्रान्ति, खायु सल्हु, ख्वपे सल्हु लगायत च्याचा च्यान्हु नामले पनि प्रचलित रही आएको जानिछ, (प्रजापति ०४६, २७–३१) ।
नेपाली राष्ट्रिय झण्डाको प्रथम आदि रूप–दर्शन पनि हामीलाई विश्वकेतु/विश्वध्वजामै मिल्छ । यसरी विजयोत्सवको प्रतीक पनि हो विश्वध्वजोत्थान गरी मनाइने विस्काःजात्रा !
विस्काः जात्राले विक्रमसम्वत्लाई विशेष स्मरण गराउँछ । किनकि हरेक वर्ष लिङ्गो ढाल्ने वैशाख संक्रान्ति विक्रमसंवत्को नयाँ वर्षको पहिलो दिन हो । विक्रमादित्यले चलाएको संवत् विक्रमादित्य हो भन्ने आम बुझाइ रहिआएको छ । यस संवत्का बारेमा गौतमवज्र बज्राचार्यले भने प्रमाणसहित नयाँ कुरा प्रकाशमा ल्याएका छन् । उनका अनुसार विक्रमसंवत् चलाउने कुनै भारतीय वा नेपाली राजा नभएर सौर्यदेवताको पूर्व र पश्चिमको गतिलाई बुझाउने वैदिक संस्कृत शब्द हो । विक्रमको अर्थ हिँडाइ वा छलाङ हो । विक्रमसंवत् नाम यथार्थमा वैदिक विष्णुको ब्रह्माण्डीय समय आरम्भको प्रतीक सर्वप्रथम छलाङबाट रहन गएको नाम हो । यसरी विक्रमसंवत्को अवधारणा वैदिककालमा प्रचलनमा आइसकेको विदित हुन्छ । वैदिक आर्यहरूको दक्षिण एसियामा आगमनपश्चात् प्रचलित कतिपय पूर्ववैदिक, वैदिक संस्कार संस्कृति ओझेलमा पर्न गए पनि वा हराए पनि नेपालमण्डलका नेवाःहरूले अर्थपूर्ण भावमा अन्यत्रका तुलनामा मौलिक रूपले जोगाएर राखेकै छन् । नेपालसंवत्, विक्रमसंवत्, विस्काःजात्रा पनि अतुल्य उदाहरण हुन् ।
पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेका बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो, तर उपत्यकाको राजनीतिक विखण्डन लगायत वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि, भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्त्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । नेपालका विभिन्न स्थानमा लिङ्ग खडा गरी ध्वजा फहराउने संस्कृति आज पनि प्रचलनमा छ र प्रकारान्तरमा तिनमा निहित मूल सांस्कृतिक ढुकुढुकी भक्तपुरको विस्काः जात्रा हो भनी मान्न सकिन्छ । भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान विस्काः जात्रा हो । समृद्ध संस्कृति र सभ्यताको प्रतीक पूर्वजले राखेर गएका यी जात्रा पनि हुन् । यी हाम्रा राष्ट्रिय निधि हुन् । यी जात्राहरू छन्, यसैले संस्कृति, समाज, मानिस, परिवार र देवताहरू समेत पनि छन् र चाडपर्वहरू पनि चलेका छन् जसले हामीलाई हजारौँ वर्षदेखि ‘म’ होइन ‘हामी’ बनाएर एकताको भाव–मालामा उनेर सजाइराखेको छ ।
२७ चैत २०२६ । विस्काः जात्रामा थने र क्वनेका गुण्डाहरूका बिचमा सम्पदास्थल समेत भत्काएर त्यहाँका ढुङ्गा–इँटा उप्काई फुटाएर हानाहान गरी आतङ्कपूर्ण र घातक विकृति भित्रिएको पहिलो निन्दनीय कुख्यात दिन । म त्यसबखत १३ वर्षको थिएँ ।
भक्तपुर नेपालमण्डलको सांस्कृतिक मूल थलो हो । विस्काः जात्राले पनि यस कुराको पुष्टि मिल्छ । विस्काः जात्राताका तत्कालीन कान्तिपुर र ललितपुर राज्यका मल्ल शासकहरूले आ–आफ्नै राज्यमा विस्काः जात्रा मनाए पनि मूल राजकीय वासस्थान र सांस्कृतिक मूल थलो भक्तपुर नै भएको हुनाले विशेष राजकीय पूजाभाग पठाउने चलन थियो, (धनवज्र वज्राचार्य, ‘वर्षकृत्ति’ एक अप्रकाशित ठ्यासफु) । तीनवटै मल्ल राज्यबिच राजनीतिक मेल नरहे पनि सांस्कृतिक मेल भने थियो जसको मूल थलो भक्तपुर थियो भन्ने कुरा यताबाट पनि थाहा पाइन्छ ।
पूर्व होस् वा पश्चिम ! नेवार संस्कृति र सभ्यताले समृृद्ध रही आएका नेपालका नेवार–बस्तीहरूमा विस्का–संस्कृति आज पनि कुनै न कुनै रूपमा चलेका छन् । नेपालमण्डल वा उपत्यकाको प्रसङ्गमा तत्कालीन केन्द्रीय राज्य भक्तपुर अन्तर्गतका बनेपा सातगाउँ लगायत थिमि, बोडे, चरखण्डी, टोखा, कटुञ्जे, झौखेल, सुडाल आदि प्रदेशमा मात्र नभएर कान्तिपुर एवं ललितपुरका तलेजु, दुमाजु स्थापित मल्लकालीन राजदरबारहरूमा समेत विस्काः जात्रा मनाउने, विधि–विधान गर्ने संस्कार संस्कृति जीवन्त रही आएको ज्ञात हुन्छ ।
समीप र दूरस्थका अनेक स्थानबाट जात्रा हेर्न उर्लेर आउने विशाल जनसमूहको उपस्थितिले सो जात्राको प्राचीनकालदेखि चलिआएको अक्षुण्ण राष्ट्रिय गरिमा र लोकप्रियताको पुष्टि सहजै मिल्छ । नेपालमण्डलमा मनाइने कान्तिपुरको इन्द्रजात्रा, ललितपुरको मत्स्येन्द्रनाथ जात्रा र त्यसैगरी भक्तपुरको विस्काः/विस्केटजात्रा उदाहरणस्वरूप छन् ।
आठ रात नौ दिनसम्म चल्ने विस्काः जात्राको शुभारम्भ दिन वर्ष–अन्तको चार दिन अघि (चैत्र २७ गते) र समापन दिन वर्ष–आरम्भको पाँचौँ दिन (वैशाख ५ गते) मा नगरको मध्यभाग टौमढीटोलबाट भैरव भद्रकाली रथयात्रा गर्ने परम्परा रहिआएको छ । भक्तपुरनगर परम्परागत रूपले ‘थने’ (माथिल्लो) र ‘क्वने’ (तल्लो) गरी दुई भागमा विभक्त छ जसको ‘दथु’ (मध्यभाग) टौमढीटोल हो । भैरवनाथको द्यःछेँ (देवगृह) सँगैको लाकोलाछेँटोलमा छ । उनको शक्ति भद्रकाली ‘नकिंजु अजिमा’ को द्यःछेँ पनि समीपकै नकिंजुलिविमा छ ।
माथिका प्रसङ्गमा विस्काः जात्राको शुभारम्भ दिनमा भैरवनाथलाई उनको मूलस्थानबाट विधिपूर्वक सामुन्नेको टौमढीटोलको विशाल वर्गाकार चोकमा, त्यस वर्षका लागि तयार पारिएको भैरवनाथको रथमा ल्याएर विराजमान गराइन्छ, जसलाई ‘द्यः क्वहां विज्याइगु जात्रा’ भनिन्छ । भैरवनाथको रथको अगाडि ६ वटा ‘वलाखिप’ नामकोे निकै मोटो लामो डोरी र त्यस्तै पछाडि ४ वटा डोरीहरूले बाँधिएका हुन्छन् । यी डोरी आफैँमा तन्त्रका नमुना हुन् । लाग्छ, ती प्रकृति र पुरुष, शिव र पार्वती र त्यसै गरी दशमहाविद्या सदृश हुन्; समन्वय, सहिष्णुता र सह–अस्तित्वका सुन्दर प्रतीक हुन् । त्यसपछि थने र क्वनेका नागरिकले भैरवनाथको रथलाई ‘हसे, हैँसे’ को भीषण लयले पूरै परिवेशलाई गुञ्जायमान गर्दै आ–आफ्नो भेकमा सर्वप्रथम तानेर लाने निकै रमाइलो रोमहर्षक जात्रा आरम्भ हुन्छ । सो जात्रा हेर्न भक्तपुरका स्थानीय बासिन्दाहरू मात्र नभएर नेपालमण्डलका आसपासका प्रदेशहरूबाट पनि अपार जनसागर उर्लेर हेर्न आएका हुन्छन् ।
वर्तमानमा, विश्वका कुनाकाप्चाबाट विदेशी पाहुनाहरू समेत हेर्न आउने भएकाले यो जात्रा संसारभरि नै प्रसिद्ध भइसकेको छ ।
पाँचतले मन्दिरको पाँच तहका पेटी हुन् वा टौमढीटोलको विशाल चोक; वरपरका घरहरूका पेटी हुन् वा झ्याल, कौशी वा बार्दली लगायत जात्रालुले ढाकिएको हुन्छ । जात्रा हेर्न आएका मानिसको टाउकै टाउका मात्र देखिने जनसमूहको अप्रतीम दृश्यले यस्तो पनि प्रतीत हुन्छ मानौँ ती हजारौँ लाखौँ टाउकाहरू एकाकार भई समग्रमा साक्षात् भैरवनाथको चलायमान विशाल मस्तक नै हाम्रा सामु दर्शनीय हुन आएको छ ।
विस्काः जात्राको समापन दिनमा भैरवनाथलाई आफ्नो मूल स्थानमा विराजमान गर्न लाने परम्परा छ जसलाई ‘द्यः थाहाँ बिज्याइगु’ भनिन्छ । यस दिनमा पनि थने र क्वनेका जनसमूहले भैरवनाथको रथलाई तानेर आ–आफ्नो भेकतिर लाने उत्तिकै जोसिलो जात्रा हुन्छ ।
२७ चैत २०२६ । विस्काः जात्रामा थने र क्वनेका गुण्डाहरूका बिचमा सम्पदास्थल समेत भत्काएर त्यहाँका ढुङ्गा–इँटा उप्काई फुटाएर हानाहान गरी आतङ्कपूर्ण र घातक विकृति भित्रिएको पहिलो निन्दनीय कुख्यात दिन । म पनि त्यस दिनको भयावह घटनाका एक प्रत्यक्षदर्शी वा साक्षी हुँ । म त्यसबखत १३ वर्षको थिएँ । आमा र बहिनीसित रमाइलो विस्काः जात्रा हेर्न गएको भुल्नै नसकिने भयावह दिन !
त्यस दिन भैरवनाथको रथ तान्ने जात्रा सुरु हुनुअघि नै टौमढीटोल क्षेत्र जात्रा हेर्न आएका विशाल जनसमूहले भरिभराउ भइसकेको थियो । भीडलाई जसोतसो छिचोल्दै आमाले हामीलाई जङ्गममठमा लिएर जानुभयो । सो मठको बरन्डा पनि मानिसले भरिनै लागेको थियो । हामी त्यहीँ बसी जात्रा हेर्न, रथजात्रालाई कुरेर बस्यौँ ।
बरन्डाबाट तल देखिने ठाउँसम्म मानिसको ठुलो भिड लागेको थियो, टाउकै टाउका मात्र देखिन्थे । त्यसरी टाउकै टाउका मात्र देखिने मानिसको बढ्दै गएको भिड आफैँमा जात्रामय भइसकेको थियो । तिर्खाएका मानिसलाई पानी खुवाउन खर्पनमा गाग्रो बोकेर घुमिरहेका धर्मचित्त मानिसहरू पनि देखिन्थे ।
मेरो विशेष ध्यान भने भीडको एक कुनातिर तिलौरा बेच्न राखेको नाङ्गलोपसलतिर गएको थियो, जहाँ तिलौरा जुधाएर एक हुल मेरो उमेरका केटाहरू रमाइलो गरिरहेका थिए । मैले आफूलाई थाम्न सकिनँ, तल पुगेँ । तल पुग्दा रथ तान्ने जात्रा सुरु भइसकेको थियो । मलाई लाग्छ, सबैको ध्यान भैरवनाथको रथजात्रातिर थियो भने मेरो ध्यान नाङ्गलो पसलतिर । तर त्यो पसल कुन–कुनामा पुगेर हरायो होला, थाहा भएन, म भनेँ त्यसलाई र तिलौरा खेल्ने केटाहरू खोज्दै जाँदा भीडमा च्यापिँदै र ठेलिँदै पाँचतले मन्दिरको दक्षिण–पश्चिम कुनाको गणेश मन्दिर भएको ठाउँमा पुगेछु ।
नाङ्गलोपसले र केटाहरूलाई नभेटाएपछि म पनि सँगैको घरको पेटीमा उक्लेर त्यहीँबाट जात्रा हेर्न थालेँ । भैरवनाथको रथ भने क्वनेका जनताहरूले तानेर जङ्गममठ सामुन्ने, लक्ष्मीनरसिंह मन्दिरको भिरालो बाटोसम्म पुर्याइसकेका थिए । भैरवनाथको सिंगो रथ र विशेष गरी यसका छानाहरू दुवैतिरको तानातानले घच्याकघुचुकको ठुलो आवाजसहित कहिले यता र कहिले उता गरी यस्तरी हल्लिरहेका थिए, मानौँ आमाले सुनाउनुभएको समुद्रमन्थनको पौराणिक कथाका कुरा यथार्थमा आफ्नै आँखा सामुन्नेमा चलिरहेको छ । वातावरण बडो जोसिलो र हर्षोल्लासमय थियो । यसैबिच भीडमाझबाट एकाएक हसे र हैँसेको सट्टा भयले भरिएका, हलचल मच्चाउने स्वरहरू ‘अप्पां केका हल, केका हल’ (इँटाले हानेर ल्यायो, हानेर ल्यायो) गुञ्जिन थाले र सँगसँगै इँटा र ढुङ्गा पनि बर्सन थाले, जुन भीषण रूपले बढ्दै गयो ।
यो नै यथार्थमा शान्तिपूर्ण ढङ्गले चलिरहेको जात्रालाई कुल्चन आएको दैत्यरूपी विकृतिको प्रथम दानवीय पाइला थियो । समुद्रमा आएको छालजस्तो जात्रा हेर्न आएको जनसागर अनायास छचल्कियो । मानिसको ध्यान जात्रातिर नभएर ज्यान बचाउनतिर लाग्दा भागदौड मच्चिएर धेरै बालबालिका, महिला, वृद्धवृद्धाहरू घाइते भए । जताततै कोलाहल र भागदौड, चीत्कार र पुकार ! म भयमिश्रित आश्चर्य र कुतूहलताका साथ किंकर्तव्यविमूढ भएर हेरिरहेँ ।
भागदौडका कारण पाँचतले मन्दिरको पेटीमा जात्रा हेर्न बसेका धेरै बालबालिकाहरू, महिलाहरू, वृद्धवृद्धाहरू पेटीबाट खसे; मान्छेमाथि मान्छे खप्टिएर तलसम्म झरे; कसैको टोपी छैन, कसैको जुत्ताचप्पल ! खास्टो, फरिया फुस्केका आमाहरू आफ्ना बच्चा च्यापेर रुँदै, चिच्याउँदै भैरव भद्रकालीका नाम पुकार्दै अत्तालिँदै भागिरहेका देखिन्थे । भागदौडमा नाङ्गलो पसलहरू कुल्चिएर भताभुङ्ग भइसकेका थिए । तिर्खा लागेकालाई पानी खुवाउन आउने धर्मात्माहरू त्यहाँ थिएनन्, कुच्चिएका रित्ता गाग्राहरू र ती गाग्रा राख्ने खर्पण र नोल एकातिर मिल्किएका थिए ।
रसरङ्गले भरिएको रमाइलो रथजात्राको ठाउँ एकले अर्कोलाई ताकी–ताकी इँटा–ढुङ्गा हानाहान गरी ज्यानै लिने जात्राले लिइसकेको थियो । केही अघि मात्र मान्छे, रकमीहरू र पुजारी वर्गले भरिएको भैरवनाथको रथ पातहरू झरेर नाङ्गोे रूख झैँ देखिन्थ्यो । अर्को शब्दमा भन्नुपर्दा टौमढी क्षेत्र युद्ध मैदान बन्न पुगेको थियो ।
थने र क्वने दुवैतर्फबाट असिनाका गोला वर्षीयसरि इँटा–ढुङ्गाको वर्षा भइरहेको थियो । यस्तो प्रतीत हुन्थ्यो मानौँ त्यहाँ आदिम ढुङ्गेयुगलाई सम्झाउने पाषाण–युद्ध चलिरहेको छ । इँटा–ढुङ्गाले लागेर गम्भीर घाइते भएकाहरूलाई कोही अस्पतालतिर बोकेर लाँदै गरेका देखिन्थे भने कोही टाउको फुटेर रगताम्य भएका घाइतेहरू पनि उत्तिकै जोसका साथ विपक्षीहरूमाथि ढुङ्गा हानिरहेका देखिन्थे । टाउको फुटेर शिरदेखि चुहिएको रगत तल पाउसम्म पुगेका ती घाइतेहरूलाई हेर्दा यस्तो पनि भान हुन्थ्यो मानौँ उनीहरू घाइते नभएर भर्खरै मात्र भोगबलि लिएका भयानक राक्षसहरू हुन् । कताकताबाट पिठ्युँमा बच्चा बोकेर रुँदै चिच्याएर दौडँदै आएकी एक महिला गणेश मन्दिर सामुन्नेको सिँढी उक्लेर भाग्न लाग्दा त्यहीँ ढल्यो । तिनलाई ढुङ्गाले लाग्यो, लागेन थाहा भएन तर तिनकै सामुन्नेबाट भाग्दै गरेको एकजना मानिस भने केही पर पुगेर पनि फनक्क फर्केर आई ती महिलालाई उठाएर सुरक्षित स्थानतर्फ लिएर गए । मलाई यस्तो लाग्यो, मानवता त पाशविक दानवीय युद्धमा पनि मर्दो रहेनछ । त्यो मान्छे को रहेछ म चिन्दिनँ तर त्यस घटनाले मलाई परोपकार, मानवता, मानव धर्मको पाठ सिकाएर गयो । तत्क्षण मैले मेरी आमा र बहिनीलाई सम्झेँ । जसोतसो इँटा–ढुङ्गाको मारबाट बच्दै जङ्गममठमा पुगेँ । ढोका लागेको थियो, पर्खाल नाघेरभित्र छिरेँ ।
माथि बरन्डा भएको कोठाभित्र धेरै मानिस डरले एक ढिक्का भएर बसेका रहेछन् । त्यहाँ आमा र बहिनीलाई देखेपछि मन आनन्द भयो । आमाले भने मलाई बेस्सरी हप्काउनुभयो र सकुशल देखेकामा खुसी पनि हुनुभयो । कोठाबाहिर बरन्डामा पेट्रोम्याक्स बलिरहेको थियो । अरु ठाउँका बिजुलीबत्ती र पेट्रोम्याक्स त अघि नै इँटाले लागेर फुटिसकेका थिए, रात लम्बिदै जाँदा टौमढीचोक अन्धकारमय भइसकेको थियो । बेला बखत भैरव मदिर सामुन्नेको ठुलो घण्टा जोडजोडले बज्ने गर्दथ्यो, मानौँ शत्रु पक्षलाई लखेट्न, हराउन सकेकामा उन्मादपूर्वक घण्ट बजाएर युद्ध विजयोत्सव मनाइरहेका हुन् । हेर्दाहेर्दै कताकताबाट आएको इँटाले लागेर बरन्डामा झुन्डिएको पेट्रोम्याक्स पनि झर्यामझुरुम फुट्यो, खसेर तल सडकमै बजारिन पुग्यो । डरले सबै थर्कमान भए । त्यसको एक घण्टा जति बित्यो होला, बाहिर ढुङ्गेयुद्ध मत्थर भएजस्तो देखियो । कोठाभित्र बसेका केहीले बिस्तारै ढोका खोलेर बरन्डाबाट बाहिरको गतिविधि हेर्न थाले । म पनि चियाएर बाहिर हेर्न थालेँ । फाट्टफुट्ट इँटा–ढुङ्गा हानेको, मानिसहरू कराइरहेको आवाज आइरहेको थियो । त्यसैबिचमा एक हुल मानिसहरू परबाट ‘स्या स्या, जुकी–जुकी’ (मार मार, हान हान) भन्दै एकजना मानिसलाई लखेट्दै आइरहेको देखेँ । ती व्यक्ति जङ्गममठको सामुन्ने लक्ष्मीनरसिंह मन्दिरको ओरालो बाटोमा अडिएको भैरवनाथको रथको पांग्रामुनि गएर लुके । लखेट्दै आएका मानिसहरू पनि रथमा पुगेर रोकिए, यताउति हेर्न थाले र उत्निखेरै ती एक्ला र लाचार मान्छेलाई ब्वाँसोहरूको झुन्डले लखेट्दै गरेको मृगलाई भेट्टाएर लुछेझैँ उस्तै भेट्टाइहाले र सबैले भक्कुमार पिटे । ती व्यक्ति एकैछिनमा लल्याकलुलुक भएर भुइँमा ढले । उनको मुख रक्ताम्य देखिन्थ्यो । त्यति भएर पनि ढुङ्गाको मन भएका ती निर्दयी मान्छेहरूले उनलाई छाडेन । तीमध्येका चारजनाले बलि दिइएको बोकालाई झैँ ती व्यक्तिको हातखुट्टामा समाएर जताबाट लखेटेर ल्याएका थिए, उतै लिएर गए । आजभन्दा ५२ वर्ष अघि आफ्नै आँखा अघिल्तिर घटेको त्यो भयावहपूर्ण विभत्स घटनालाई सम्झी–सम्झी यो पंक्ति लेख्दा यस्तो पनि प्रतीत भइरहेको छ मानौँ त्यो केहीअघि मात्र घटेको घटना हो ।
विस्काः/विस्केटको नाम लिँदा मलाई जहिले पनि झस्किने गरी त्यही घटनाको विशेष याद आउँछ र अहिले पनि आफ्नै मनसित सोध्ने गर्छु, ‘त्यो मान्छेलाई मुटु नभएका ती मान्छेहरूले किन लखेटी लखेटी मरणासन्न हुने गरी पिटे होलान् ?’
युद्धमय त्यो रात जंगममठमै बित्यो । भोलिपल्ट बिहानै आमाले हामीलाई उठाउनुभयो । मठबाट बाहिर आएपछि हिजोदेखि तर्सिरहेको मनले डराउँदै चारैतिर हेरेँ, ढुङ्गे–युद्ध सायद उज्यालो हुनुअघि नै समाप्त भइसकेको थियो । मन हलुका भयो । हिजो युद्धक्षेत्र बनेको टौमढी परिसरको परिस्थिति युद्धपछिको जस्तो नियास्रो लाग्ने, सुनसान र उराठलाग्दो थियो । चोक, बाटो र गल्लीका कुनाकाप्चा हिजो हानेका ढुङ्गा–इँटाका टुक्राले पूरै भरिएका थिए । वरपरका घर, सत्तल र मन्दिरका भित्ताहरू हानेर ल्याएका ढुङ्गा–इँटाले लागेका अनगिन्ती दागले गर्दा छ्याकटे भइसकेका थिए । बाटोमा यत्रतत्र रगतका छिटा, ज्यान बचाउन भाग्ने क्रममा छुटेका जुत्ताचप्पल, टोपी, खाष्टो आदि असरल्ल देखिन्थे ।
विस्काः जात्रा सकिएको धेरै दिन बितिसक्दा पनि सहरबजारतिर, टाउकामा पट्टी बाँधेका, हातखुट्टामा प्लास्टर गरेका, खोच्याङखुचुङ गर्दै हिँडेका मानिसहरू देखिन्थे । त्यताबाट ती त्यस दिनको ‘ढुङ्गा हानाहान’ का क्रममा घाइते भएका मानिसहरू हुन् भनी सहजै अनुमान लाउन सकिन्थ्यो ।
यस प्रकार २०२६ सालदेखि विस्काः जात्रामा भित्रिएको विकृति केही अपवादलाई छाडेर हरेक वर्ष कहिल्यै निको नहुने घाउजस्तै गरी बल्झिँदै आएको छ, मानौँ यो पनि जात्राकै एक अभिन्न भाग हो । नयाँ पुस्तामा त झन विस्काः जात्रा भनेको ‘ढुङ्गा हान्ने जात्रा’ हो भन्ने भ्रम पैmलिन पुगेको देखिन्छ । योजस्तो विडम्बना अरू के नै हुन सक्ला र ! केही अपवादको कुरा गर्ने हो भने २०३८–०३९, २०४६–०४७ र २०५६–०५७ का वर्षहरूमा विनाढुङ्गा हानाहान, शान्तिपूर्वक सम्पन्न भएका विस्काः जात्राहरू प्रेरक एवं अविस्मरणीय उदाहरण हुन् ।
२०३८–३९ को विस्काः जात्रा व्यवस्थित एवं शान्तपूर्वक सुसम्पन्न हुनुको मुख्य कारण व्यापक जनसहभागिता थियो । सत्यनारायण प्रजापति (‘बिस्केट जात्रा’, नेपाली संस्कृति, ६/१/२०४६, पृष्ठ ३४)मा लेख्छन्, ‘यस जात्रा सरकारी तरिकाबाट भन्दा गैरसरकारी जनसहभागिताबाट राम्ररी चल्न सक्दो रहेछ भन्ने प्रमाण २०३८–०३९ सालमा सम्पन्न भएको बिस्केट जात्राले प्रमाणित गरेको छ । सरकारी सहयोगविना व्यापक जनसहभागिताको आडमा चलेको यसपल्टको बिस्केट जात्रामा ढुङ्गा हानाहान भयो भन्ने अप्रिय खबर कसैले सुन्नुपरेन ।’
२०४६–०४७ सालको विस्काः जात्रामा ढुङ्गा हानाहान नहुनुको मुख्य कारण २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन थियो । सो आन्दोलन २०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको थियो । चैत २६ गते राजा वीरेन्द्र र आन्दोलनका नेताहरूबिचमा भएको सम्झौता अनुसार नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको आरम्भ भयो । नेपालको राजनीतिक इतिहासमा जनताले आफ्नो वास्तविक जनशक्ति र जनसत्ता अपरिहार्य र सर्वोपरी रहेछ भनी थाहा पाएको प्रथम ऐतिहासिक दिन थियो त्यो । यथार्थमा निर्धक्क भएर जनता हाँसेको पहिलो दिन थियो त्यो । सम्पूर्ण राजनीतिक दलहरूको सिद्धान्त र विचार फरक–फरक भए पनि एउटै लक्ष्य हासिल गरी असलमा, सबैको मन मिलेर एउटै मन भएको दिन थियो त्यो । अद्भुत संयोगको कुरा हो, त्यसै दिनको भोलिपल्ट अर्थात् चैत्र २७ गते भक्तपुरमा हुने विस्काः जात्राको शुभारम्भ दिन : भैरवनाथको रथयात्रा हुने दिन हुन आयो त्यो दिन ।
जनआन्दोलन सफलताको खुसियाली नै मान्नुपर्छ, त्यस वर्ष थने र क्वने दुवै भेकका जनता मिलेर आपसी सद्भाव एवं भाइचाराका साथ शान्तिपूर्वक विस्काः जात्रा मनाए, ढुङ्गामुढालाई सबैले बिर्सिदिए । विस्काः जात्रामा हरेक वर्ष भित्रिने विकृतिलाई सहजै पन्छाउन राजनीतिक दलहरूको भूमिका कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने सन्देश शान्तिपूर्वक सम्पन्न भएको त्यस वर्षको विस्काः जात्राले दिएको देखिन्छ ।
त्यसैगरी २०५६–०५७ सालको विस्काः जात्रामा विनाढुङ्गा हानाहान शान्तिपूर्वक सम्पन्न हुनुको एउटा मुख्य कारण प्रहरी प्रशासनद्वारा विशेष रूपमा परिचालन गरिएको उपयुक्त सुरक्षाप्रबन्ध थियो । तत्कालीन भक्तपुरका प्रहरी उपरीक्षक एवं ‘यो नगर भक्तपुर’का प्रसिद्ध गीतकार मेरा मित्र श्री नारायणकुमार आचार्य भन्छन्, ‘ढुङ्गा हानाहान हुनुका प्रत्येक कारक तत्त्वलाई केलाई सोहीअनुरूप सुरक्षाको प्रबन्ध मिलाउन सफल भएकाले सो वर्ष ढुङ्गा हानाहान हुन पाएन, सबैले शान्तिपूर्वक हर्षोल्लासका साथ विस्काः जात्रा मनाउन पाए । मेरो कार्यकालको अविस्मरणीय वर्ष त्यो रह्यो । सबै राजनीतिक दलहरू, स्थानीय प्रशासन र भक्तपुरवासीको असीम माया, जनसहयोग समर्थन मैले पाएँ ।’
जनगुनासोलाई अन्तर्मनदेखि आत्मसात् गरी दमन होइन जनभावनाको कदर गरी, जनतासित मिलेर चुनौतीको सामना गर्नतिर लागी तदनुरूप प्रहरी प्रशासनले दत्तचित्त भएर आफ्नो कर्तव्य पूरा गरेमा पनि विस्काः जात्रामा भित्रिएको विकृतिलाई पन्छाउन सकिने रहेछ भन्ने सन्देश २०५६–०५७ को विस्काः जात्राले दिएको देखिन्छ ।
टौमढीटोल क्षेत्रका प्राचीन शैव सम्पदा र अभिलेखका आधारमा उत्तरप्राचीनकालतिरै प्रचलित विस्काः जात्रा (लिङ्गो उभ्याउने र ढाल्ने, दुईदिने जात्रा) यसै टोल क्षेत्रमा विशेष रूपले आबद्ध रहिआएको कुरा जानिन्छ । सोही अनुरूप उत्तरमध्यकालमा थपिएको भैरव भद्रकालीको रथजात्रा पनि उदाहरणस्वरूप छन् । १९९० साल अघिसम्म भैरवनाथको रथ टौमढीटोलबाट बोलाछेँटोलको बुलुचासम्म र क्वाछेँटोलको मय्जु देगःसम्म मात्र चलाउने परम्परागत रीत थियो । भूकम्पपछि बाटो फराकिलो हुँदै गएपछि सो परम्परा पनि लोप हुन पुग्यो । वर्तमानमा सो मल्लकालीन परम्परा उल्लंघन भई थनेको तचपाःटोलसम्म र क्वनेको भार्वाचोसम्म लाने गरेको देखिन्छ । पुरानै मल्लकालीन परम्परा अनुसार उक्त इलाकासम्म मात्र रथ चलाउने हो भने पनि विस्काः जात्रामा भित्रिएको विकृति स्वतः हट्ने कुरामा दुईमत नहोला ।
प्रायः हरेक वर्ष साँझ परेपछि मात्र रथ तान्ने गरिन्छ । यसो गर्दा ढुङ्गा हानाहान गर्ने गुन्डा बदमासहरूले प्रोत्साहन पाएको देखिन्छ । यसैले सम्बन्धित पुजारी वर्गले समयमै विस्काः जात्राको तान्त्रिक विधि–विधान पूरा गरी मध्याह्नकालमै रथयात्रा गर्न सकेमा ढुङ्गा हानाहान लगायत अन्य अप्रिय घटना निश्चित रूपमा रोक्न सकिन्छ ।
रथमा सम्बन्धित पुजारी वर्ग, रकमी लगायत सांस्कृतिक समूहबाहेक अरूलाई हुल्न र बसाल्न नदिएमा, जात्रास्थलमा स्थानीय स्वयंसेवकहरू परिचालन गरेमा पनि सदाका लागि अर्बुदजस्तो विकृतिको गाँठोलाई फाल्न सकिन्छ भन्ने कुरामा पनि दुईमत नहोला ।
समग्रमा भन्नुपर्दा हातका पाँच औँलामध्ये एउटा औँलाले मात्र काम गरेन भने पनि काममा बाधा पुग्छ । हातका पाँचै औँलाको उचित तालमेल र एकीकृत शक्तिले कुनै पनि काम बन्छ । विस्का : जात्राको प्रसङ्गमा पनि स्थानीय जनता, प्रहरी, स्थानीय प्रशासन, राजनीतिक दलहरू र पुजारी वर्गका बिचमा पारस्परिक तालमेल मिलाएर बेलैमा कार्य सम्पादन गरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरेमा हरेक वर्ष हुने विकृति (ढुङ्गा हानाहान र अप्रिय घटना)लाई सदाका लागि समाप्त पार्न सकिन्छ ।
स्रोत साभार : Archieve Nepal-Discover Nepal through its History/ source : The British Museum
मल्लकालीन विस्काःको रसरङ्ग कस्तो थियो होला, लोकजीवनले कसरी मनाउँदा रहेछन् भन्ने झल्को प्रस्तुत यस विषयको चित्र हेरेपछि हाम्रो आँखामा जीवन्त हुन आइपुग्छ ।
आजभन्दा २०१ वर्ष अघि कागजमा लेखिएको (ई.सं.१८२१) उक्त चित्र तीन दशक अघि नै (ई.सं.१९९२) ब्रिटिस म्युजियममा संग्रहित हुन पुगेको देखिन्छ । यी कुरा ब्रिटिस म्युजियमले सो चित्रबारे खुलाएको विवरणका आधारमा थाहा पाइन्छ ।
उक्त चित्रमा निम्न कुरा दृष्टिगोचर हुन आउँछन् : भैरव+भद्रकाली रथयात्रा । पुष्पाकृतियुक्त पांग्रा, मङ्गलमय भावाकृतिले सजिएका वेतासिं, कलात्मक द्वारतोरण, स्वर्णछानाले सजिएको भैरव+भद्रकालीका रथ । दायाँपट्टि, तीनछाने रथको मूल स्थानमा मस्तकाकृति भैरवनाथ र बायाँपट्टिको दुईछाने रथमा भैरवनाथका शक्ति भद्रकाली विराजमान छन् ।
भैरवनाथको रथका वेतासिंको मकरको सुँडजस्तै बाङ्गिएर गएको माथितिरको शीर्ष भागमा उनका वाहन वेताल उभिएर रथको नेतृत्व गरिरहेका देखिन्छन् भने भद्रकालीको रथको वेतासिंको उस्तै आसनमा घोप्टो परेका वाहन छन् । प्रस्तुत चित्रमा बायाँबाट दायाँतर्फ, जनसमूहले भैरव+भद्रकालीको रथयात्रा गरी यसिंख्यःतर्फ तानेर लाँदै गरेको देखिन्छ । भैरव+भद्रकालीको रथ यसिंख्यःमा पुगेपछि, भक्तपुर राजदरबारबाट राजा/राजप्रतिनिधि, राजकीय खड्ग लिएर आएपछि वा भनौँ राजा/राजप्रतिनिधिको उपस्थितिमा यसिं उभ्याउने जात्रा आरम्भ भएको अनुभूत हुन्छ । सो जात्रा हेर्न अपार जनसमूह यसिंख्यःमा उर्लेर आएका छन् ।
जीवन : एक जात्रा
कसले भन्छ, जीवन जात्रा होइन भनेर ! अल्प क्षणको जीवनका हरेक क्षण जात्रा नै त हुन् । जात्राविनाको जीवन कहाँ पो रसरङ्गले भरिएको हुन्छ र ! विस्काःलाई नै हेरौँ न, त्यहाँ पनि जीवनको रसरङ्ग छ । सायद यसैले अब कहिल्यै पनि विस्काः जात्रा हेर्न नपाउने गरी राज्य छाडेर जानुपर्ने सँघारमा पुगेर एक्लिएका बुढा राजा रणजित मल्लको जीवन कति निरस भयो होला, अन्तर्मनदेखि उर्लेर आएकोे विस्काः विरह वेदनाले उनी कति रोए, रन्थनिए होलान् भन्ने कुरा उनीद्वारा नेपालभाषामा विरचित ‘थ्वथेंः जागु रस गबलय सं दई मखु राम हा जि गन वने’ (यस्तो रस कहिले पनि हुने भएन राम हा म कहाँ जाउँ) नामक विरह गीतको (जुन गीत अद्यापि विस्काः जात्राताका गाउने प्रचलन रहिआएको देखिन्छ ।) तल प्रस्तुत मार्मिक उद्धरणबाट स्पष्ट अनुभूत गर्न सकिन्छ —
ल्होसिंखेले ल्होसिं थःन चुपिंगाले म्वःलाः ल्हुया
व यां च्वय भैरव दर्शन याय प्रभु राम हा जी गन वने
थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु राम हा जी गन वने
(अनुवाद, लेखक : योसिंखेलमा लिङ्गो उठ्यो, चुपिंगालमा नुहाएँ
त्यसदेखि माथि भैरव दर्शन गर्छु प्रभु राम हा म कहाँ जाउँ
यस्तो रस कहिल्यै पनि हुने भएन राम हा म कहाँ जाउँ)
(चित्र : अमित वनमाला । ‘अन्तरंंगका तरङ्गहरू’ पुस्तकबाट)
प्रतिक्रिया