मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल
_jw4JL6lSSr.jpg)
विराटनगर । मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्गअन्तर्गत भलुवा खोलामा पुल बनेको छ । निर्माण सम्पन्न भइसक्न लागेको पुलसम्म पुग्ने बाटो भने छैन । पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ हिँडेर मात्र जान मिल्ने गोरेटो ।
२०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६/७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो । राजमार्ग योजना कार्यालय दमकले दिएको जानकारीअनुसार तीन जिल्लामा ३७ वटा पुलको ठेक्का व्यवस्थापनमध्ये २२ वटा निर्माण भइसकेका छन् ।
‘निर्माण हुन बाँकी १५ मध्ये ९ वटा पुलको एप्रोच सडकमा वन क्षेत्र भएको कारण एप्रोच सडकबाहेक अन्य कार्य सम्पन्न भइसकेको छ,’ आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास कुमार दत्तले भने, ‘बाँकी ६ वटा पुलको स्ट्रक्चरको कार्यका साथै अन्य निर्माण काम सम्पन्न हुन बाँकी छ ।’ वन क्षेत्रमा पर्ने ती पुलहरूमा सडक जोड्न रूख कटान हुनुपर्ने उनले बताए ।
झापाको पतापुरदेखि सुनसरीको सार्दुखोलासम्म १२७.८ किलोमिटर लामो मदन भण्डारी राजमार्गको हाल ९५.८ किलोमिटर ठेक्का लागेको छ । कमल खोलादेखि सहादतस्थलसम्म ३२ किलोमिटर भने अझै ठेक्का लाग्न बाँकी छ । यस्तै चतरादेखि सार्दु खोलासम्म ६ किलोमिटर सडक भने ठेक्का प्रक्रियामा रहेको आयोजनाको कार्यालयले जनाएको छ ।
७ वटा ठेक्कामध्ये एक किलोमिटर लामो मेची डाँडादेखि पतापुरसम्म भने कालोपत्र भइसकेको छ । अन्य ६ वटा ठेक्का अहिले पनि चालु अवस्थामा छन् । ठेक्का व्यवस्थापन भएको ९५.८ किलोमिटर सडकमध्ये हालसम्म ४२.६८ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न भएको छ ।
सडक र पुल गरेर तीन जिल्लामा ८२ प्रतिशत भौतिक प्रगति रहेको सूचना अधिकारी दत्तले बताए । १० अर्ब १३ करोड ठेक्का सम्झौता भएकोमा हालसम्म ७ अर्ब ९५ करोड खर्च भइसकेको कार्यालयले जनाएको छ । अब २ अर्ब १८ करोड दायित्व बाँकी रहेको कार्यालयले जनाएको छ । तर, चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ९१ करोड बजेट विनियोजन भएको छ ।
१३ हजार बढी रूख कटान गरिँदै
चुरे क्षेत्रबाट सडक रेखाङ्कन नगरेर चारकोशे झाडीतर्फ बाटो लगिँदा ठुलो संख्यामा रूख कटान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले पर्यावरणमा ठुलो नोक्सानी गर्ने र चुरे क्षेत्रको वन विनास हुने सरोकारवालाले चिन्ता जनाएका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार सुनसरीमा ६.१९ किलोमिटर क्षेत्रको १४.३८ हेक्टर वन क्षेत्रमा पर्ने ५५ सय वटा रूख कटान गर्नुपर्ने भएको छ । त्यसका लागि छपान मूल्यांकन सम्पन्न भइसकेको र कटान आदेशको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ ।
यस्तै मोरङमा ९.४२ किलोमिटर लामो वन क्षेत्रको बाटोमा पर्ने २०.९४३ हेक्टर क्षेत्रफलका २ हजार १६३ वटा रूख कटानको काम अहिले भइरहेको छ । यस्तै झापाको ५.३९ किलोमिटर वन क्षेत्रको बाटोमा पर्ने ९.९६ हेक्टर क्षेत्रफलको २ हजार ८०५ वटा र इलामको ३.५४ किलोमिटर क्षेत्रको ५.५६ हेक्टर क्षेत्रफलको ३ हजार ३६६ वटा रूख कटान गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत ११ गतेको निर्णयबाट भएको थियो । कटानको आदेश प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । चारै वटा जिल्लामा गरी १३ हजार ८३४ वटा रूख कटान हुने कार्यालयले जनाएको छ ।
सडक निर्माणको कतिपय स्थानमा सडक सीमा (सडकको केन्द्रदेखि दाँया–बाँया दुवै तर्फ २५ मिटर) लाई घटाउनुपर्ने माग राखी निर्माणमा अवरोध हुने गरेको कार्यालयले जनाएको छ । यस्तै विद्युत्का पोल, खानेपानीको पाइपको स्थानान्तरणको काम समयमै सम्पन्न नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको दत्तले बताए ।
यस्तै केही ठाउँहरूमा सडक रेखांकनमा पर्ने जग्गा विवाद र स्थायी तथा अस्थायी भौतिक संरचनाको स्थानान्तरणमा पनि समस्या रहेको उनले बताए । त्यस्ता समस्या समाधानका लागि सिरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए । आयोजना कार्यालयले वन क्षेत्रमा पर्ने रूखहरू यथाशीघ्र छिटो हटाई सडक तथा पुल निर्माण कार्यमा छिटो प्रगति गर्ने उनले बताए ।
मदन भण्डारी राजमार्ग सुनसरीको धरानदेखि झापाको वाहुनडाँगीसम्मका लागि धरानको सार्दु खोला, फायरलाइन तीनकुने चोक सेउती खोला पुल, पानमारा स्कुल, डाँडाचोक, केरावारी मलुवा चोक बीपी चोक, लेटाङ बजार, मदन चोक, मधुमल्ला वरगाछी चोक, मावा खोला पुल, वेलडाँगी शरणार्थी शिविर उत्तम चोक, सतक्षीधाम मन्दिरको दक्षिण पट्टीको जङ्गल, पानी टंकी, दोमुख, लाल खोला र सुनखोला दोभान–चण्डालघाट पुल गरुवा–सुखानी–सहादतस्थल–वरफल्थांगफेदी, झटारे–वुद्ध शान्तिनगर–हापेन चोक मेची राजमार्ग जक्सन वाहुनडाँगी–५ शान्तिचोक, मेचीडाँगी चोक (वाहुनडाँगी)सम्म रेखाङ्कन स्वीकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा