आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने

शनिबार, ३० चैत २०८१, ०६ : ३६
शनिबार, ३० चैत २०८१

काठमाडौँ । नयाँ वर्षको शुभारम्भसँगै सुर्खेतको वीरेन्द्रनगरमा शिक्षा सम्बन्धी विशेष प्रदर्शनी हुने भएको छ । सो अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबिच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा कार्यशाला समेत सञ्चालन गरिने छ ।

कर्णाली विकास केन्द्रको पहलमा वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने प्रदर्शन हुने केन्द्रका अध्यक्ष नवीन जैसीले जानकारी दिए । अन्य विभिन्न क्षेत्रजस्तै शिक्षाका विभिन्न सूचकमा कर्णालीको अवस्था निकै जटिल रहेको भन्दै यसका बारेमा बृहत् अन्तरक्रिया तथा विचार मन्थन गर्न यो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

वैशाख ३, ४ र ५ गते हुने यो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपतिको विशेष बहस हुने केन्द्रले जानकारी दिएको छ । सो क्रममा विभिन्न पक्षबाट कर्णालीको शैक्षिक अवस्थाको विश्लेषण गरिने, शैक्षिक सूचकहरू प्रस्तुत गर्ने, कर्णालीबाट उच्च शिक्षा हासिल गर्न बाहिर जानेहरूको अवस्था, कर्णालीमा सीमान्तकृत समुदाय र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको अवस्था र उनीहरूको शिक्षाको अवस्था र त्यसको विकल्पका बारेमा बृहत् छलफल गरिने बताइएको छ ।

त्यसैगरी विभिन्न शिक्षाविदहरुले पछिल्लो शैक्षिक प्रविधि, प्रविधिले सिर्जना गरेका नयाँ अवसर तथा चुनौतीहरूका सम्बन्धमा पनि प्रस्तुति तथा छलफल हुने पनि केन्द्रले जनाएको छ ।

कार्यक्रममा कर्णाली र राजधानीमा उच्च शिक्षा अध्यापन गराइरहेका कलेजका प्रतिनिधिहरू, कर्णालीका १० वटै जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरू, कर्णालीका ७९ वटै स्थानीय तहका विद्यालयबाट विद्यार्थी तथा अभिभावकहरूलाई निम्ता गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष जैसीले शिक्षाका समग्र सूचकाङ्कहरूलाई विश्लेषण गरी प्रथमतः कर्णालीको शैक्षिक अवस्थालाई उजागर गर्ने, त्यसलाई सुधार गर्न नीतिगत र अन्य विकल्पका बारेमा छलफल हुने बताएका छन् ।

विद्यार्थीहरूलाई पढ्दै कमाउँदै  सिपसहितको स्वरोजगार हुन तर्फ प्रेरित गर्न तथा अहिलेको सञ्चार प्रविधिमा आधारित ई कमर्सबाट घरमै बसेर पनि कमाउन सकिने र प्राविधिक तथा  व्यावसायिक शिक्षामा जोड गराउने एक्स्पोको अर्को उद्देश्य हो । त्यस्तै विद्यार्थीहरूको करियर काउन्सिलिङका विभिन्न सेसनहरू पनि रहेका छन्, जसमा विद्यार्थीहरूको नेतृत्व विकास, नैतिक शिक्षा, लागु औषध दुर्व्यसन र पार्ने असर, कुन विषय किन पढ्ने र त्यसको समग्र स्कोपका बारेमा पनि जानकारी प्राप्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप