बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?

बुटवल । नेकपा एमालेले आज बुटवल मण्डपमा जागरणसभा सम्पन्न गरेको छ। देशभरका ६ स्थानमा गरिने जागरणसभा अन्तर्गत एमालेले पहिलो जागरणसभा सम्पन्न गरेको हो ।
रामनगरस्थित बुटवल मण्डपमा करिब दुई घण्टा चलेको जागरणसभा दुईवटा सन्देश दिने उद्देश्यले आयोजना गरिएको पार्टीका नेताहरूले बताएका छन् । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३ केन्द्रीय नेता र जिल्लास्तरका नेताहरूले मात्रै सम्बोधन गरेका थिए ।
जनसभाले राजावादीहरूलाई गणतन्त्रवादीहरू सक्रिय र शक्तिशाली रहेको पहिलो सन्देश दिएको एमाले नेताहरूले बताएका छन् । दोस्रो एमाले भित्रका कार्यकर्ताहरूलाई थप ऊर्जावान् बनाउने काम समेत जागरणसभाले गरेको विश्वास नेताहरूको छ ।
एमाले लुम्बिनी प्रदेशका सदस्य मोहन चापागाईंले देशमा गणतन्त्र पक्षधरहरू पनि ठुलो सङ्ख्यामा रहेको सन्देश दिनको बुटवल सभा आयोजना गरिएको बताए । दोस्रो पार्टीको आन्तरिक शक्तिलाई तल्लो तह अर्थात् जरासम्म पुर्याउनका लागि सभाले मद्दत पुर्याएको उनले रातोपाटीलाई बताए।
सभामा सम्बोधन गर्ने वक्ताहरूले पनि राजावादीको कडा आलोचना गरेका थिए। उनीहरूले गणतन्त्रका केही कमीकमजोरी भए सुधार गर्न तयार रहेको तर जनताले राजतन्त्रवादीहरूलाई कुनै हालतमा मान्यता नदिने जिकिर गरेका थिए।
प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिगमनको हल्ला भएको भन्दै प्रतिगमनकारीहरू अलिअलि मान्छे देख्दा हौसिने गरेको बताए । उनले प्रतिगमनकारीले त्रास र आतङ्क फैलाउने काम मात्र गरेको बताए।
अहिले सामाजिक सञ्जालमा आएका कुरा पत्याई हाल्ने अवस्था नरहेको समेत उनले बताए। उनले राजावादी आन्दोलनको नाममा चोरी गर्ने काम भएको भन्दै कटाक्ष समेत गरे।
एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले राजवादीको आन्दोलन एक दिनमै सकिएको बताए । उनले देशमा विकासका धेरै काम भएको उल्लेख गर्दै अझै आवश्यक काम गर्न सरकार अगाडि बढिरहेको बताए।
एमालेकी सचिव पद्मा अर्यालले देशमा राजतन्त्रवादीको कुनै हैसियत नभएको बताइन् । एमाले जिल्ला अध्यक्ष यज्ञ गैरले तीन महिना पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण अभियान समापन भएको बताउँदै कार्यक्रम छोटो र संक्षिप्त रहे पनि सन्देशका हिसाबले पार्टी बलियो बनेको दाबी गरे।
जागरणसभालाई एमालेले राजवादीहरू विरुद्ध गणतन्त्र पक्षधरहरूको सभाको रूपमा व्याख्या गरेको छ। बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले पछिल्लो समय सामाजिक सञ्जालमा कुनै विषय आएको भरमा पत्याउनेहरूलाई एमालेले गरेको जागरणसभाले गणतान्त्रिक शक्तिहरूको पछाडि सचेत जनता रहेको सन्देश दिएको बताए ।
प्राध्यापक खनालले यो कार्यक्रमले पार्टीको आन्तरिक शक्तिलाई थप चलायमान बनाउन महत्पूर्ण सन्देश दिएको टिप्पणी समेत गरे। जागरणसभा सुरु हुनभन्दा अगाडि युवा सङ्घ रुपन्देहीले बुटवलबाट भैरहवासम्म मोटरसाइकल र्याली निकालेको थियो।