हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह

काठमाडौँ । गहुँ, मुसुरो लगायत हिउँदै बाली भित्र्याउँदा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने देखिएकाले खासगरी गहुँ, मुसुरो लगायतका बाली भित्र्याउँदा मौसमको अवस्थालाई विशेष ध्यान आग्रह गरेको हो ।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो / उकास ठाउँ अथवा सेडभित्र सुकाउने, काट्नै पर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउने कार्य गर्न केन्द्रले सुझाएको छ ।
गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई घाम अथवा सेडभित्र राम्ररी सुकाउने, करिब १२ प्रतिशतको चिस्यान गहुँ भण्डारणका लागि राम्रो मानिन्छ । गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्ने । साथै, भण्डारणका लागि बोरा प्रयोग गर्ने किसानले ५ प्रतिशत निमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्न सुझाइएको छ । यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन् ।
थप सुझावहरु
–प्रि मनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा विशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस् । जोखिमको समयमा पशु वस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस् ।
–चैते धानमा झारपात व्यवस्थापनका लागि झारनाशक विषादी बिस्पाएरिबेक २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस् । पछि झार आएमा ४०–५० दिनभित्र एक पटक हातले गोड्नुहोस् ।
–गत साता देशका अधिकांश स्थानहरूमा वर्षा भएको हुनाले बझाङ, दैलेख, डोटी लगायतका उच्च तथा मध्य पहाडी जिल्लाहरूमा नपाकेको/ हरियो गहुँमा सिन्दुरे रोग लाग्ने सम्भावना भएकोले अनुगमन गरी उचित व्यवस्थापन गर्नुहोस् ।
–फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोप्लेक्स ०.२५ ०.५ एम. एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरी छर्कनुहोस् ।
–सुन्तलाजात फलफूल बगैँचामा सूक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस् ।
–हावाहुरीबाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरूलाई टेको दिनुहोस् ।
–आलुबालीमा लाग्ने अगौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस् । रोगको प्रकोप देखिएमा सेक्टिन १.५ ग्राम प्रति लिटर पानीमा मिसाई ८–१० दिनको फरकमा २–३ पटक सम्पूर्ण बोट भिज्नेगरि साँझपख छर्नुहोस् ।
–लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २–४ पटकसम्म छर्कनुहोस् ।
–कुखुरा र टर्कीहरूमा बाह्य परजीवीको समस्या देखिएमा यसको उपचार तथा नियन्त्रणका लागि बुटोक्स ३ एम. एल. प्रति लिटर पानीका दरले मिसाई खोरको भित्र–बाहिर सबै स्थानमा राम्रोसँग भिज्नेगरी स्प्रे गर्नुहोस् ।
–तराईका जिल्लाहरूमा ग्रास कार्प माछाको प्रजनन समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्व भाले र पोथी माछा छनौट गरी करिब २४ घण्टा होल्डिङ ट्याङ्कीमा अनुकूलन गरेपछि प्रजननका लागि प्रयोग गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही
-
आफ्ना ३ अर्ब जिमेल प्रयोगकर्तालाई गुगलले किन दियो यस्तो चेतावनी ?
-
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
-
गभर्नर नियुक्तिसम्बन्धी रिट र निवेदन आज पनि हेर्न नभ्याइनेमा
-
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी