काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।
ज्ञवालीका अनुसार ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ७३० जना रहेको छ । यस्तै ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गर्ने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । यस्तै ० देखि १.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५ हजार १७४ जना छन् ।
विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थीले नो ग्रेड पाए । ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नो ग्रेडमा पर्छन् । दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२ जना, नेपाली विषयमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले नो ग्रेड ल्याएका छन् ।
नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ ।
प्राप्त नतिजाका विषयमा जानकारी लिएपछि प्रवक्ता मानन्धरले, परीक्षाफलले विद्यालयहरुको वास्तविक अवस्था दर्शाएको उल्लेख गर्नुभयो । यथार्थ अवस्थामा आधारित नतिजाले विषयगत रुपमा सिकाइका कमजोरी देखाएकोले सुधार गर्न आधार तयार भएको उहाँको भनाइ थियो ।
आयोगका सदस्य झाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरे । महानगरपालिकाको शिक्षा विभागले पनि अझ काम गर्नु पर्ने नतिजाले देखाएको बताउँदै उनले पठन संस्कार विकास भएर समग्र नतिजामा सकारात्मक प्रभाव राख्ने अपेक्षा राखे ।
आफूले प्राप्त गरेको अङ्क चित्त नबुझेर पुनर्योग गर्न चाहेमा विद्यार्थीले बैशाख ४ गतेसम्ममा विद्यालयमा आवेदन दिन सक्नेछन् । विद्यालयहरुले बैशाख ५ गतेभित्र शिक्षा विभागमा पेश गर्नुपर्नेछ ।
विषयगत रुपमा सैद्धान्तिकतर्फ नो ग्रेड प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । बैशाख ८ गतेदेखि १४ गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ । यो परीक्षामा सहभागी हुन पुन फाराम भर्नु पर्दैन । थप शुल्क पनि तिर्नु पर्दैन ।
यसरी सञ्चालन गरिने परीक्षामा साधारणतर्फ पहिलो अर्थात् ८ गते गणित, ९ गते अंग्रेजी, संस्कृत रचना, १० गते नेपाली, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र १४ गते नेपाल भाषा तामाङ् भाषाको परीक्षा हुनेछ । परीक्षा केन्द्र विभागले तोक्नेछ ।
चैत ७ गतेदेखि सुरु भएको परीक्षा १४ गते सकिएको थियो । विषयगत परीक्षा सकिएपछि स्रोत केन्द्रहरुमा उत्तर पुस्तिका जम्मा गरेर कोडिङ् गरिएको थियो । कोडिङ् गरिएका उत्तरपुस्तिका रोष्टरमा भएका शिक्षकहरुबाट परीक्षण भएको थियो ।
परीक्षण गरिएका उत्तरपुस्तिका डिकोडिङ् गरेर स्रोत केन्द्रहरुले विभाग पठाए । यसपछि विद्यार्थीहरुले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गराइएको थियो । परीक्षाफल प्रकाशित गर्नुअघि उत्तरपुस्तिकामा प्राप्त अङ्क र प्रणालीमा प्रविष्ट गराइएको अङ्क रुजु गरिएको थियो ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि आधारभूत तहको परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर राखिएको थियो । महानगरपालिकाको १६ औँ नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा कक्षा ८ को परीक्षा होम सेन्टर नपर्ने गरी केन्द्रअनुसार सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण एवं नतिजा प्रकाशन तथा विश्लेषण व्यवस्थापन, प्रश्न पत्र निर्माणका लागि रोष्टर शिक्षकको प्रशिक्षण, कार्यशाला र प्रश्नपत्र निर्माण सफ्टवेयर खरिद तथा अनुगमनका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
यसलाई कार्यान्वयन गर्दै यस वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र तोकिएका थिए । परीक्षाका लागि १८ हजार २९४ जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये वडा नं. ४ सुकेधारामा सञ्चालित ग्राण्ड एकेडेमी र वडा नम्बर ४ कै महाराजगञ्जमा रहेको स्किम पब्लिक स्कूलबाट कुनै पनि विद्यार्थी परीक्षामा सहभागी भएनन् ।
परीक्षा समितिका सदस्य सचिव ओमप्रसाद गौत्तमका अनुसार यस वर्ष १२४ जना विद्यार्थी अनुपस्थित भए ।
महानगरपालिकाभित्र आधारभूत तहसम्म सञ्चालित ५०४ वटा विद्यालय छन् । यीमध्ये २ वटाले परीक्षामा विद्यार्थी सहभागी नगराएपछि यो संख्या ५०२ भएको छ । यसमा ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत विद्यालय छन् ।
जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो ।
विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो । यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी