१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार सम्पन्न बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना नगर्ने निर्णय लिएको हो ।
राखेप बोर्डका एक सदस्यका अनुसार, बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नगर्ने प्रस्ताव राखेका थिए । त्यसमा माओवादी निकट बोर्ड सदस्यहरूले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
यसअघि तीनपटक १०औँ राष्ट्रिय खेलकुदको मिति परिवर्तन भइसकेको छ ।
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औँ संस्करण आयोजनाको जिम्मेबारीसहित झण्डा हस्तान्तरण गरिएको थियो ।
नवौँ संस्करणकै क्रममा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५औँ बोर्ड बैठकले १०औँ संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । तर, उक्त मितिमा प्रतियोगिता आयोजना हुन सकेन ।
अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८औँ बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी मिति परिवर्तन गरेको थियो । दूर्भाग्य, दोस्रो पटक तय गरिएको मितिमा पनि १०औँ आयोजना हुन सकेन ।
त्यसपछि, राखेपको १२१औँ बोर्ड बैठकले प्रतियोगिता आयोजनाका लागि अर्को मिति तोक्यो । गत फागुन १५ गते बसेको राखेप बोर्ड बैठकले तेस्रो पटक मिति परिवर्तन गरेर १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
तर, अहिले बोर्ड बैठकले आगामी जेठमा पनि प्रतियोगिता आयोजना नगर्ने निर्णय लिएको हो । बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विभिन्न कारणले जेठमा प्रतियोगिता आयोजना हुन नसक्ने बताएका थिए ।
१०औँ राष्ट्रिय खेलकुदका लागि सचिवालयको स्थापना भइसकेको र लोगो–मस्कटसमेत सार्वजनिक भइसकेको अवस्थामा पुनः प्रतियोगिता स्थगित गरिएको हो । आर्थिक वर्ष २०८१/८२ को बजेटमा १०औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
तर, पछि आएर अर्थमन्त्रालयले त्यसमा २५ प्रतिशत रकम कटौती गर्ने भएपछि मन्त्री चौधरीले १०औँ आयोजनाका लागि रकम अभाव हुने बताउँदै आएका थिए । प्रतियोगिता स्थगित गरिएको एउटा कारण त्यसलाई पनि मानिएको छ ।
प्रतिनिधिसभाको चैत २१ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले पनि सरकारलाई तोकिएको समयमै प्रतियोगिता आयोजनाका लागि व्यवस्थापन गर्न निर्देशन दिएको थियो । मन्त्री चौधरीले समितिको बैठकमा पनि अर्थ मन्त्रालयले २५ प्रतिशत रकम कटौती गरेका कारण १०औँ राष्ट्रिय खेलकुद आयोजनमा समस्या हुने बताएका थिए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि समितिको बैठकमा अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट कटौती गर्दा समस्या भएको बताएका थिए ।
यसका अतिरिक्त एमालेको तर्फबाट राखेप बोर्डमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष लगायतका बोर्ड सदस्यहरु पनि जेठमा प्रतियोगिता आयोजना गर्ने पक्षमा नदेखिएको जानकारी राखेपका एक सदस्यले दिए ।
राखेप बोर्डमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी यस विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग