शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा नगरपालिकाको पर्यटन शुल्कसम्बन्धि ठेक्का भर्न कोही आएनन्

शुक्रबार, २५ जेठ २०७५, १० : ३८
शुक्रबार, २५ जेठ २०७५

भक्तपुर । चाँगुनारायण नगरपालिका गत आर्थिक वर्ष २०७४÷०७५ देखि सुरु गरेको नगरकोट जाने पर्यटकसँग लिइने शुल्कसम्बन्धि ठेक्कामा फारम किनेका कोही पनि प्रक्रियामा सामेल भएनन् । 

बिहिबार टेन्डर प्रक्रियामा समोल हुनु पर्ने भएपनि ५ हजार रुपैयाँ शुल्क तिरेर फारम किनेका व्यवसायीहरु शुल्क अत्यधिक बृद्धि भएको भन्दै प्रक्रियामा नै नगएका हुन् । 

‘अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपैयाँमा ठेक्का भएको थियो । 

यो वर्ष २०७५/०७६ को लागि करसहित ३ करोड ३९ लाख भएपछि बाध्य भएर बहिष्कार गरेका हौँ,’ नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायी भने । 

व्यवयासीहरुले नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐनको पालना नगरपालिकाले नगरेको आरोप पनि लगाएका छन् । 

भक्तपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन बजगाईले नगरपालिकाले ठेक्का प्रक्रिया गर्दा आफ्नो मात्र हित सोचेको तर कर्मचारी व्यवस्थानपन र व्यवसायीको लगानीको बारेमा नसोचेकाले कसैले टेन्डर नभरेको जानकारी दिए । 

यसबारेमा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरकोट जाने पर्यटकहरुबाट त्यति रकम उठ्छ भन्ने भएकालेनै ठेक्का आह्वान गरिएको बताए । मिश्रले भने, ‘व्यवसायी एक भएर नगरपालिकाको निर्णयलाई असफल बनाउने प्रयास गरे ।’

उनले अब नयाँ सूचना प्रकाशित गरिने र त्यसमा पनि कोही नआए नगरपालिकाले आफैँ पर्यटन शुल्क उठाउने बताए । 

विहिबारको ठेक्काको लागि १७ व्यवसायी फर्मले फारम किनेपनि ठेक्का पक्रियामा सामेल भएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप