सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू

शुक्रबार, २९ चैत २०८१, १८ : ०३
शुक्रबार, २९ चैत २०८१

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–७ को पहलमा विद्यार्थीहरूलाई पढ्दै सिक्दै गर्ने कार्यक्रम अगाडि बढाइएको छ । स्थानीय कुटी डाँडा माविका विद्यार्थीहरूलाई सीपमूलक तालिमको व्यवस्था गरिएको वडा अध्यक्ष विनोद तामाङले बताए  ।

वडा कार्यालयले सो विद्यालयका ३० जना विद्यार्थीहरूलाई बरिष्टा (कफी मास्टर) तालिम प्रदान गरेको छ ।  पढाई सँगसँगै सीप पनि चाहिने भएकाले कक्षा ११ र १२ मा अध्ययनरत ३० जना विद्यार्थीहरूलाई तालिम प्रदान गरेको  वडाध्यक्ष विनोद तामाङ तामाङले जानकारी दिए । 

तालिममा सहभागी विद्यार्थीहरू भन्छन्– ‘केही बुझेको र पढेको जनप्रतिनिधि हुँदा केही गरौँ भन्ने भावनाबाट प्रेरित भई सीपमूलक तालिमले बेरोजगार युवायुवतीलाई निकै नै महत्त्वपूर्ण सहयोग पुग्छ।’ 

तालिममा सहभागी विद्यार्थी सुजन तामाङ भन्छन्– ‘यो तालिमले हामीलाई कफीसप खोल्न, तुरुन्तै काममा लाग्न र उद्यमी बन्न समेत उत्प्रेरणा जागेको छ ।’ उच्च शिक्षा अध्ययनपछि आयआर्जनको लागि सीपमूलक तालिम आवश्यकता भएकाले आर्थिक वर्ष ०८१/८२ को बजेट तथा कार्यक्रमबाट बरिष्टा तालिम आयोजना गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

चैत्र १७ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ । तालिम समापन समारोह वडाध्यक्ष तामाङको अध्यक्षता र बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, कुटीडाँडा माविका प्रधानाध्यापक ईश्वर चौँलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यार्थीहरूलाई तालिम प्रकाश उप्रेतीले दिए ।

तालिम समापन समारोहस्थल ‘रमाइलो घर रिसोर्ट’ चोथाङमा सहभागीहरूले आफूले सिकेका विभिन्न प्रकारका कफी प्रदर्शनीमा राखिएका थिए । अहिले स्वदेश तथा विदेशमा समेत बरिष्टाको उच्च माग रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप