मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २०८२ वैशाखमा तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नहुने लगभग निश्चित भएको छ । बुधबार र बिहीबार बसेको रास्वपा सचिवालयको बैठकमा निर्धारित मितिमा महाधिवेशन नभएको खण्डमा मंसिरदेखि फागुनसम्म गर्न सकिनेमा नेताहरूबिच छलफल भएको स्रोतको भनाइ छ ।
यद्यपि यसको औपचारिक निर्णय आगामी वैशाख ४ गते बस्ने रास्वपा केन्द्रीय समिति बैठकले गर्ने नेताहरूको भनाइ छ । ‘अहिलेकै अवस्थामा वैशाख २५ देखि निर्धारित महाधिवेशन उक्त समयमा नहुने लगभग निश्चित छ’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘वैशाखपछि बर्षातको समय सुरु हुने र त्यसलगत्तै चाडबाडको समय आउने भएकाले मंसिर वा फागुनतिर पुग्न सक्छ भन्ने कोणबाट छलफल भएको छ ।’
पार्टी सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा हतारिएर महाधिवेशन गर्न उचित नहुनेमा सचिवालय सदस्यहरूबिच कुनै विवाद नरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । यद्यपि महाधिवेशनका लागि गर्नुपर्ने तयारी भने भइरहेको बुर्लाकोटीको भनाइ छ ।
‘आगामी वैशाख २५ देखि २७ सम्म महाधिवेशनको मिति तोकिएकाले पार्टीका तर्फबाट गर्नुपर्ने तयारीहरू त भइरहेका छन्’, बुर्लाकोटीले भने, ‘तर फेरिएको अवस्थामा थप छलफल र निर्णय गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीमार्फत निर्णय हुन्छ ।’
सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएपछि सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । लामिछाने हाल पुर्पक्षका लागि रुपन्देहीमा थुनामै छन् । उनी कति समय थुनामा रहने हुन् भन्ने अनिश्चित छ ।
गत असोजमा सम्पन्न रास्वपा राष्ट्रिय परिषद् भेलाले २०८२ साल वैशाख २५ देखि २७ सम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । विधानतः पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार महाधिवेशनको तयारी पुरा भएपनि सभापतिको अनुपस्थिति र समयको समेत सुविधा रहेकाले वैशाखमै गर्नुपर्ने बाध्यता नरहेको बुर्लाकोटीको भनाइ छ ।
यसअघि रवि लामिछानेसहित बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले तोकिएकै मितिमा महाधिवेशन गर्ने कि नगर्ने भनेर नेताहरूसँग लिखित धारणा मागेका थिए ।
रास्वपाले महाधिवेशनको तयारीस्वरुप ७० वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।
रास्वपाका प्रमुख सचेतक समेत रहेका नेता सन्तोष परियारले यसअघिको बैठकमा तोकिएकै समयमा महाधिवेशन गर्नुपर्छ भन्ने सभापतिको समेत मत रहेको भन्दै फेरिएको परिस्थितमा के गर्ने ? कति समयपछि सार्नेलगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए ।
२०७९ असार ७ गते रास्वपा गठन भएको थियो । त्यसयता महाधिवेशन भएको छैन । यस हिसाबले अझै यो पार्टीलाई महाधिवेशन गर्न २७ महिना सयको सुविधा देखिन्छ । तर पार्टीलाई लामो समय तदर्थवादमा राख्न नहुने बुझाई समेत रहेकाले चाँडै महाधिवेशन गरेर निर्वाचित नेतृत्व चयन गर्नुपर्ने बाध्यता एकातिर छ । तर पार्टी गठन भएदेखि नै सभापति लामिछाने विभिन्न घटनामा मुछिएपछि पार्टीको नियमित काम अवरुद्ध हुँदै आएको छ । सभापति लामिछाने नागरिकता,पासपोर्ट हुँदै सहकारी प्रकरणमा मुछिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’
-
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश
-
निजामती ऐन माग गर्दै सभामुखलाई ज्ञापन पत्र
-
पासपोर्ट नवीकरण सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र