बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

फेरि अड्कियो रणवीर सिंहको डन ३

शुक्रबार, २९ चैत २०८१, ११ : ४७
शुक्रबार, २९ चैत २०८१

नयाँदिल्ली । फिल्म प्रेमीहरूमाझ डन फ्रान्चाइजी निकै लोकप्रिय छ । शाहरुख खानले जुन तरिकाले डनको भूमिका निर्वाह गरे, त्यसलाई धेरैले मन पराए । फ्यानहरूले लामो समयदेखि फिल्मको तेस्रो भागको प्रतिक्षा गरिरहेका छन् ।

फिल्म मेकरहरूले डनको तेस्रो भागको घोषणा गरेर फ्यानहरूलाई खुसी दिएका छन् । तर फिल्मका निर्देशक फरहान अख्तरले शाहरुखको सट्टा रणवीर सिंहलाई कास्ट गरे । यसका कारण शाहरुखका फ्यानहरू रिसाएका छन् । 

लामो समयदेखि फिल्मको छायाङ्कन २०२५ को सुरुवातमा सुरु हुन सक्ने चर्चा थियो । त्यसपछि फिल्मका निर्देशक फरहान आफ्नो फिल्म ‘१२० बहादुर’ मा व्यस्त रहेको र यसका कारण ‘डन ३’ को छायाङ्कन सुरु हुन समय लाग्ने खबर आयो ।

यो फिल्मको छायाङ्कन २०२५ को जुन वा जुलाई महिनामा सुरु हुने भनिएको थियो । तर फिल्मको छायाङ्कन सुरु हुन अझै अरू समय लाग्ने देखिएको छ ।  फिल्मफेयरको एक स्रोतले रणवीरको फिल्म ‘धुरंधर’ का कारण ‘डन ३ ’को छायाङ्कनमा ढिलाइ हुनसक्ने बताएको छ । अभिनेता हाल आदित्य धरको फिल्ममा पूर्ण रूपमा व्यस्त छन् ।

यो फिल्मको काम सकिएपछि मात्र उनले ‘डन ३’ लाई समय दिनेछन् । रणवीरको फिल्म धुरन्धरका कारण उनको आगामी फिल्म डन ३ को छायाङ्कनमा ढिलाइ भइरहेको छ । फरहान अख्तरको फिल्म यस वर्षको मध्यमा सुरु हुने भनिएको थियो तर अब यो सम्भव देखिँदैन । हामीलाई बताइएको छ कि धुरन्धरको छायाङ्कन तालिका आधा मात्र सकिएको छ र सेप्टेम्बर वा अक्टोबरसम्म चल्न सक्छ ।’ स्रोतले भनेको छ । 

उनले अझ अगाडि यो पनि भनेका छन् कि डन ३ का मेकरहरू यो ढिलाइबाट अलि चिन्तित छन् । फरहान आफैँ पनि आफ्नो फिल्म सुरु गर्न तयार छन् । तर रणवीरको कामको व्यस्तताले यसमा अवरोध पुगेको छ । 

रणवीर र फरहानले यस वर्षको अन्त्यसम्ममा आफ्नो फिल्मको छायाङ्कन सुरु गर्न सक्छन् अनि अर्को वर्षको अन्त्यमा फिल्म रिलिज हुनसक्ने भनिएको छ । यद्यपि, यी सबै कुराहरू निर्माताहरूले अहिलेसम्म पुष्टि गरेका छैनन् । यी सबै समाचारहरूमाथि फरहान आफैँले के टिप्पणी गर्छन् भनेर हेर्न बाँकी छ ।

फरहान अख्तरले डन ३ को घोषणा गरेको दिनदेखि नै यो फिल्मले नयाँ नयाँ समस्याको सामना गरिरहेको छ । फिल्म घोषणा भएको लगभग डेढ वर्ष बितिसकेको छ । तर यसको छायाङ्कन अझै सुरु भएको छैन ।

यसबाहेक निर्माताहरूले फिल्ममा मुख्य अभिनेत्रीको रूपमा कियारा आडवाणीको नाम घोषणा गरेका थिए । तर गर्भवती भएपछि उनले डन ३ बाट बाहिरिने निर्णय गरिन् । अब फिल्मको छायाङ्कन कहिले सुरु हुन्छ र कियाराको स्थानमा कुन अभिनेत्री आउँछिन् भनेर हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप