मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी

शुक्रबार, २९ चैत २०८१, ११ : ०८
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातु सुनको भाउ बढेर कीर्तिमानी स्तरमा उक्लिएको छ । अमेरिका र चीनले जस्तालाई त्यस्तै गर्ने नीतिअनुरूप एक अर्काको देशबाट आउने सामान माथि भटाभट अतिरिक्त भन्सार महसुल लगाउने होडबाजी देखाइरहँदा यसले व्यापार युद्ध निम्तने भयले लगानीकर्ता त्रस्त छन् । 

यस्तोमा लगानीकर्ताहरूले सुन लगायत सेफ हेभन एसेटमा लगानी बढाइरहँदा सुनको माग बढेर भाउले नयाँ उचाइ छोएको हो । शुक्रबार सुनको भाउ पहिलो पटक प्रतिऔंस ३ हजार २०० डलरमाथि उक्लिएको छ । बिहानी कारोबारदेखि नै न्यूयोर्कको मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ उकालो लाग्न थालेको थियो । 

उक्त दिनको कारोबारमा सुनको भाउ अधिकतम प्रतिऔंस ३ हजार २ सय १९ डलर ८२ सेन्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः५३ बजे स्पट गोल्ड प्रतिऔंस ३ हजार २१० डलर ३४ सेन्टमा किनबेच भइरहेको थियो । 

यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ५४ प्रतिशत धेरै हो ।  शुक्रबारको कारोबारमा स्विस फ्र्याङ्लगायत अन्य सेभ हेभन एसेटको भाउ आकासिएका छन् । हप्ताको सुरुमा अमेरिकी ऋणपत्रमा देखिएको सेल–अफ पुनः देखिएपछि शुक्रबार अमेरिकी डलरको तुलनामा स्वी फ्र्याङ्कको भाउ बढेर एक दशकयताकै उच्च स्तरका उक्लिएको छ । 

ट्रम्पले व्यापार युद्ध भड्काइरहँदा अमेरिकामा महँगी बढ्ने र अमेरिकी अर्थतन्त्र मन्दीमा फस्ने भयबिच लगानीकर्ताहरूले पछिल्लो सेभ हेभन एसेटमा लगानी गर्न थालेका छन् । वित्तीय बजारमा अनिश्चय देखिएकोले पनि सुनको भाउ बढेको लगानी व्यवस्थापन कम्पनी सिमकर्पका ओलिभर डी’असिएरले बीबीसीसँग भने । 

‘अहिले हामी नियम नै नभएको संसारमा बसिरहेका छौँ । व्यापार, सुरक्षा, स्वास्थ्य मात्रै होइन सार्वभौमिकता पनि कुनै नियम छैन,’ अझ अगाडि उनले भनेका छन् ।  यस्तोमा सुन, स्विस फ्र्याङ्क र गैर अमेरिकी सरकारी ऋणपत्र मात्रै अहिलेको लागि लगानीकर्तासामु विकल्पको रूपमा रहेको उनले बताए । आर्थिक अनिश्चयको समयमा भाउ यथावत् रहने वा बढ्ने सम्पत्तिलाई सेभ हेभन एसेट भनिन्छ । 

अमेरिका र चीनको ‘ट्टि फर ट्याट’ नीतिका कारण बिहीबार अमेरिका र एसियाभरका शेयर बजारमा पहिरो गएपछि सुनतिर लगानी ओइरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप