लगातार चार हारपछि धोनीको कप्तानीमा कोलकातालाई चुनौती दिँदै चेन्नई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो २५औँ खेल हो । यी दुवै टोलीले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । यी दुवै टोली आईपीएलको पूर्वविजेता पनि हुन् । साविक विजेतासमेत रहेको कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक उपाधि चुमेको छ ।
कोलकाताले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो ।
उक्त संस्करणको फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले पराजित गरेको थियो । कोलकाताले तेस्रो उपाधि भने सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
चेन्नई भने आईपीएलको इतिहासमा सबैभन्दा सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक उपाधि कुम्ल्याउन सकेको छ ।
चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।
सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा भने चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
दुवै टोलीको छैटौँ खेल
आईपीएलको १८औँ संस्करणमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । कोलकाताले यसअघि खेलिएको पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।
कोलकाता चार अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । चेन्नईले भने अघिल्ला पाँचमध्ये केवल एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । यो संस्करणमा कमजोर प्रदर्शन गर्दै आएको चेन्नई दुई अंकसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।
हेड टु हेडमा चेन्नई अगाडि
आईपीएलमा हालसम्म चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबिच कुल ३१ खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा चेन्नईले कोलकातालाई हराएको छ । बाँकी ११ खेलमा भने कोलकाताले चेन्नईलाई पराजित गरेको छ ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भने हालसम्म ११ खेल खेलिएको छ । त्यसमा पनि चेन्नई नै अगाडि देखिन्छ । आठ खेलमा चेन्नईले कोलकातालाई हराएको छ । तीन खेलमा भने कोलकाताले चेन्नईलाई पराजित गरेको छ ।
चेन्नईको सर्वाधिक रन रचिनको नाममा
आईपीएलको जारी संस्करणमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रचिन रवीन्द्र हुन् । उनले पाँच खेलमा कुल एक सय ४५ रन बनाएका छन् । उनले मुम्बई इन्डियन्सविरुद्ध ६५ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा ऋतुराज गायकवाड दोस्रो स्थानमा छन् । उनले पाँच खेलमा कुल एक सय २२ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने नुर अहमद हुन् । उनले ११ विकेट लिइसकेका छन् ।
फेरि धोनीको कप्तानीमा चेन्नई
महेन्द्रसिंह धोनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान हुन् । चेन्नईले उनकै कप्तानीमा पाँचपटक उपाधि जितेको हो । तर, यो सिजनको आईपीएलमा धोनी कप्तानको भूमिकामा छैनन् । उनी विकेटकिपर ब्याट्सम्यानको भूमिकामा सक्रिय छन् ।
जारी संस्करणको आईपीएलमा धोनीको प्रदर्शन पनि सन्तोषजनक छैन । त्यसैले उनको व्यापक आलोचना पनि भइरहेको छ । तर, शुक्रबारको खेलमा उनी फेरि कप्तानको भूमिकामा देखा पर्ने भएका छन् ।
टोलीका नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएकाले धोनीले कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । ऋतुराजले जारी सिजनको आईपीएलमा बाँकी खेल पनि खेल्न नसक्ने बताइएको छ ।
कोलकाताका लागि बढी रन बनाउने रहाणे
जारी आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अजिनक्या रहाणे हुन् । उनले पाँच खेलमा कुल एक सय ८४ रन बनाइसकेका छन् । उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ५६ र लखनउ सुपर जायन्ट्सविरुद्ध ६१ रन बनाएका थिए ।
कोलकाताका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने अंगकृष रघुवंशी हुन् । उनले पाँच खेलमा कुल एक सय ३३ रन बनाएका छन् । उनले एक अर्धशतक पनि बनाएका छन् । सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले पाँच खेलमा ६ विकेट लिएका छन् ।
स्पिन बलरलाई साथ दिने पिच
जारी सिजनको आईपीएलका खेलहरु खेलाइने अधिकांश स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिका छन् । कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबिच शुक्रबारको खेल हुने एमए चिदम्बर स्टेडियमको पिच भने स्पिन बलरहरुलाई साथ दिने प्रकृतिको छ ।
त्यसैले यो स्टेडियममा रन बनाउन ब्याट्सम्यानले निकै सङ्घर्ष गर्नुपर्ने स्थिति देखिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८८ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ३७ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।
वर्षाको २५ प्रतिशत सम्भावना
कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन शुक्रबार चेन्नईमा वर्षाको २५ प्रतिशत सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबारको तापक्रम भने २९ देखि ३८ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
सम्भावित टोली
चेन्नई सुपर किङ्स : महेन्द्रसिंह धोनी (कप्तान एवं विकेटकिपर), डेभोन कनवे, रचिन रवीन्द्र, विजय शंकर, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मुकेश चौधरी, नुर अहमद, माथिशा पाथिराना, खलिल अहमद, शिवम दुबे र शेख रशिद ।
कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, क्विन्टन डी काक (विकेटकिपर), वेंकटेश ऐयर, रिंकु सिंह, रमनदीप सिंह, आन्द्रे रसेल, हर्षित राणा, वरुण चक्रवर्ती, मोइन अली, वैभव अरोडा र अंगकृष रघुवंशी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा