सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘अहिले संघीयताका नाममा, समानुपातिकका नाममा जे भयो, म त्यसविरुद्ध छु’

मेरो उद्देश्य एमालेलाई सक्ने होइन : भीम रावल
बिहीबार, २८ चैत २०८१

२००८१ पुस १० गते नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि डा. भीम रावलको पचास वर्ष लामो वामपन्थी राजनीति करिब–करिब समाप्त भएको कतिपयको बुझाइ छ । एमालेबाट निष्कासनमा परेपछि डा. रावलले वामपन्थीहरूप्रति गरेको कतिपय टिप्पणीले त्यसो भन्नेहरूलाई बल पनि पुर्‍याएको छ ।

राष्ट्रवादी नेताको छवि बनाएका रावलको राष्ट्रवादलाई ‘उग्रराष्ट्रवाद’ भन्नेको पनि कमी छैन । यतिखेर मातृभूमि जागरण अभियान लिएर देश र प्रवासमा सक्रिय रावलसँग उनको अभियान र पछिल्लो राजनीतिक घटनाक्रमबारे रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावलसँग गरिएको कुराकानीको सम्पादित अंश– (विस्तृत भिडियोमा)

  • मातृभूमि जागरण अभियान किन शिथिल र कमजोर हुँदै गयो ?

नेपालको केन्द्रीय राजनीतिमा द्वन्द्वको स्थिति देखा पर्‍यो । अलिकति असहज अवस्था देखा पर्‍यो । ठुला दलहरूले पनि प्रतिकार जुलुस निकाल्ने, आन्दोलनकारीहरू पनि एउटा भनेको ठाउँमा अर्को गर्ने, त्यसकारण जिल्लामा जाने कतिपय कार्यक्रम स्थगित भएका हुन् ।

bhim rawal (3)

  • कि ठुलो दलमा बसेर, ठुलो पदमा बसेर संगठन गरेजस्तो सजिलो नहुने रहेछ ? मान्छेले पत्याउँदा रहेनछन् कि ?

जसले दुःख गरेका छैनन्, संगठन निर्माण गरेका छैनन् वा सहज राजनीति सोच्नेले त्यस्तो भन्नु मलाई आश्चर्य लाग्दैन ।

  • तपाईंलाई कारबाही गरेपछि एमालेलाई ठुलो क्षति पुग्छ भन्ने कतिपयको आकलन थियो । सायद तपाईंको योजना पनि थियो होला तर तपाईंका कारण एमालेलाई सानो घाउ पनि लागेन नि ?

मेरो एउटै उद्देश्य एमालेलाई सक्ने या त्यस्तो उद्देश्य होइन । मेरो उद्देश्य भनेको चाहे जुनसुकै राजनीतिक दलका व्यक्ति हुन्, यो सिद्धान्तहीन, आदर्शहीन, गन्तव्यहीन यात्रामा राजनीतिलाई धकेल्यो । खाली पदको भागबण्डा गर्ने, खाने, आफ्नो स्वार्थपूर्ति गर्ने र हामीले जुन उद्देश्यका साथ यत्रो परिवर्तन गर्‍यौँ, त्यतातिर जाँदै नजाने भएको छ । यसका लागि जनमत सिर्जना गर्ने र संगठन पनि निर्माण गर्ने मेरो उद्देश्य हो ।

  • तपाईंले छाड्दा एमालेलाई ठुलो घाटा हुन्छ भन्ने कुराचाहिँ भ्रममात्र रहेछ । एमालेले कहीँ ऐया पनि भन्नुपरेन । तपाईंको शक्ति कति रहेछ त भनेर सबैले थाहा पाए नि, होइन र ?

पहिलो कुरा त मैले एमाले छाडेको होइन, मलाई निकालिएको हो । दोस्रो कुरा, भारत प्रवासदेखि जति पनि ठाउँ म गएको छु त्यहाँ धेरै एमालेका मानिसहरू मसँग यात्रा गरिरहनुभएको छ । मसँग यात्रा गर्दा एमालेलाई राम्रै हुन्छ भने मैले के भनुँ ? अहिलेका स्ववियु चुनावमै हेर्नुस्, एमालेलाई कति राम्रो भएको छ ! भोलि चुनावमा थाहा होला नि त, के हुन्छ भनेर । तर पनि केपी ओलीजस्तो प्रतिशोधको भावना लिएर म हिँड्दिनँ ।

  • मानिसहरू त कुनै न कुनै दलमा आबद्ध छन् । तपाईंको अभियानमाचाहिँ मानिस कहाँबाट ल्याउने त ?

अब सामान्य जनता नै छैनन् । खाली झोलेहरू मात्र छन् भन्ने कुरा गलत हो । यसै पनि झोलेहरूको संख्या कम हुन्छ । झण्डै एक करोड नेपाली त मुग्लानमा छन् । के ती सबै झोले हुन् ? यही पनि आँखा चिम्लिएर टाउको हल्लाउनेको संख्या पनि निकै कम छ । कतिपय राजनीतिक दलमा लागेका मानिसहरूमा पनि व्यापक असन्तुष्टि देखिन्छ । माथिल्लो तहका नेताहरू त फुटेर अलग भएका छन् भने देशको पक्षमा, जनताको पक्षमा, न्यायको पक्षमा निःस्वार्थ ढंगले अघि बढ्दा निःसन्देह नै जनताले साथ दिन्छन् भन्ने मेरो विश्वास हो ।

bhim rawal (4)

  • देशको, जनताको पक्षमा मात्र भनेर हुन्छ र ? त्यो प्राप्त गर्न त विचार, सिद्धान्त, कार्यक्रम चाहियो नि, त्यो खै तपाईंसँग ? तपाईं त कुहिरोको कागजस्तै हुनुभयो भन्छन् मानिसहरू ?

यो मलाई होइन, कांग्रेस र एमालेलाई लागु हुन्छ । कांग्रेससँग अब हामी मिलेर बाँडीचुँडी खान्छौँ भनेर एमालेले घोषित रूपमा भनेको छ । एमालेले जनताको बहुदलीय जनवाद त खुट्टाले कुल्चेर कहाँ–कहाँ गइसक्यो । भर्खरै प्रेस चौतारीको अधिवेशन देख्नुभएन ? उम्मेदवारै हुन दिएनन् । अँगालो मारेर मानिसहरू धुरुधुरु रुँदै कार्यक्रमस्थलबाट निस्केर हिँडे । सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन त उहाँहरू हो । संविधानको धारा २६९ विपरीत छ यो सरकार ।

  • तपाईंकोचाहिँ कार्यक्रम, लक्ष्य, उद्देश्य के हो ?

अहिले तपाईंसँग कुरा गर्दाको अवस्थासम्म नेपाल राष्ट्रको सर्वोपरी हितलाई आधार बनाएर नेपालको संविधानमा नेपाल राष्ट्रको हित, राष्ट्रिय अर्थतन्त्र, आफ्नो स्वाधीनता, आफ्नो संस्कृतिसँग जे–जे दफा छन्, त्यसलाई कार्यान्वयन गर्ने ।

  • बाटो र गन्तव्य के त ?

समाजवाद उन्मुख लोककल्याणकारी राज्य प्रणाली, जुन नेपालको अहिलेको संविधानले परिकल्पना गरेको छ । जुन कुरा मेरो ११ बुँदामा स्पष्ट पनि छ ।

  • तपाईं संघीय लोकतान्त्रिक संविधान, धर्मनिरपेक्ष राज्य, संघीयता, समानुपातिक, समावेशीको कुरा मान्नुहुन्छ कि मान्नुहुन्न ?

प्रधानमन्त्री केपी ओली गेरुवा वस्त्र लगाएर मन्दिर–मन्दिर गएको कुरा के हो ? परराष्ट्रमन्त्री आरजु राणाले भारतको झारखण्डमा तीन दिन शिव आराधना गरेको कुरा के हो ? यस्तो नक्कली कुरा गर्न चाहन्नँ । संविधानको त्यो धारामा पहिलो वाक्यमा धर्मनिरपेक्षता लेखिएको छ । त्यसकै तल सनातन धर्मको संरक्षण गरिनेछ भनी लेखिएको छ । यसलाई म मान्छु । पूर्वप्रधानमन्त्रीका श्रीमतीहरूलाई ल्याउने समानुपातिक मान्दिनँ । यसको चरम दुरुपयोग भएको छ । यो खारेज हुनुपर्छ । संघीयताका बारेमा गम्भीर समीक्षा गर्नुपर्छ अब । जब कुनै पनि संरचना देशको लागि हुँदैन, त्यस्तो संरचना फ्याँकिदिनुपर्छ । माला जपिरहनुपर्छ भन्ने छैन ।

  • तपाईं अहिले कांग्रेस, वामपन्थी, राजावादी कुन विचार नजिक हो ?

मेरो मातृभूमि अभियान नेपाल आफ्नो छुट्टै छ, जसका नीति, सिद्धान्त, कार्यक्रमहरू अघि सारिसकेको छु । अर्को कुरा, यो संविधान रहँदासम्म यो संविधानमा भएका समाजवाद उन्मुख लोककल्याणकारी राज्य बनाउने, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने, देशलाई बलियो बनाउने लगायतका कुरा छन्, त्यसलाई आत्मसात् गर्ने ।

  • संविधान रहँदासम्म भन्नुभयो, के यो संविधान रहँदै छैन ?

संविधान परिवर्तन गर्नुपर्छ भनेर त केपी ओली र शेरबहादुर देउवाले नै अँध्यारो कोठामा मध्यरात हस्ताक्षर नै गरिसकेका छन् । एकथरी संविधान परिवर्तन गर्नुपर्छ भनेर आन्दोलन गरिरहेका छन् । अर्कोथरी संविधान जारी भएदेखि नै परिवर्तन गर्न लागेकै छन् ।

  • तपाईं पार्टी बनाउनुहुन्छ कि यस्तै अभियानमात्र चलाउनुहुन्छ ?

अभियान, पार्टी निर्माणको आधार हो । आउने स्थानीय निर्वाचनभन्दा अगाडि नै पार्टी निर्माण हुन्छ ।

bhim rawal (2)

  • पार्टी गठन गर्ने सम्बन्धमा गत स्थानीय निर्वाचनमा जितेका स्वतन्त्र मेयरहरूसँग पनि तपाईंको छलफल भएको छ ?

कुरा गरिहालेको छैन ।

  • तपाईं केन्द्रीय राजनीतिमा हात हाल्न खोजिरहनु भएको छ कि क्षेत्रीय राजनीतिमा सीमित हुन खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय दृष्टिकोणका साथ शक्ति निर्माण गर्ने राष्ट्रियस्तरमै हो तर कामको सुरुवात त कहीँ छिटो हुन सक्ला, कहीँ बिस्तारै हुन सक्ला । राजनीतिक प्रभाव एउटा समानस्तरले सबैतिर एकैचोटी हुन्छ भन्ने छैन नि, तर दृष्टिकोणचाहिँ राष्ट्रिय दृष्टिकोण नै राख्ने हो ।

  • राजसंस्था पुनर्स्थापनाका लागि भइरहेका आन्दोलनप्रति तपाईंको समर्थन हो ?

म अहिले केमा छु भने नेपालको संविधानका देशभक्तिपूर्ण, यो राष्ट्रलाई बलियो बनाउने प्रावधानलाई यी राजनीतिक दलहरूले ठाडै मिचेका छन् । म त्यसको विरुद्धमा छु र, अहिले संघीयताका नाममा, समानुपातिका नाममा जे भयो, म त्यसको विरुद्धमा छु ।

bhim rawal (1)

  • सिधै समर्थन छ भन्नु न, मिल्दैन ?

यदि म सरकारमा भएको भए पूर्वराजाको बारेमा कदम चाल्नुपर्थ्यो । केही भन्नुपर्थ्यो । आन्दोलन गर्ने राप्रपालगायतका दल, आन्दोलन दबाएर प्रतिकार जुलुस निकाल्ने एमालेलगायत अरु छन् ।

  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्ने कुरा त प्रधानमन्त्रीले संसदमै भनिसक्नुभयो । यसमा तपाईंको भनाइ के हो ?

यो गर्न न रोहित दाहालले रोकेको छ, न भीम रावलले । न तपाईंको हातमा छ, न मेरो ।

  • तपाईंको विचारमा राजसंस्था पुनर्स्थापना हुने सम्भावनाचाहिँ कति देख्नुहुन्छ ?

नेपालको इतिहासलाई हेर्ने हो भने यदि त्यो व्यवस्थाले राम्ररी काम गरेन वा समाजका अन्तरविरोधहरू चर्केर गए भने अनपेक्षित परिवर्तन भएका छन् । मैले नै आन्दोलनको नेतृत्व गरेको भए म यहाँ पुर्‍याउछु भन्थेँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया