माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल

चांङकिङ, चीन। नेकपा माओवादी केन्द्र उच्चस्तरीय प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टी चोङकिङ, पार्टी स्कुलका कार्यकारी उपाध्यक्ष लिपु सियाङ नेतृत्वको प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण भवन चोङमिङमा बिहीबार भएको भेटमा दुई कम्युनिस्ट पार्टीबिच बहुआयमिक सम्बन्ध विस्तार तथा आर्थिक, सामाजिक, सांस्कृतिक कृषि, प्रविधि पर्यटनलगायत क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल भएको हो ।
भेटवार्तामा उपाध्यक्ष लिपु सियाङले सन् २०२३ मा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिङपिङबिच शिक्षा, कृषि, पर्यटनलगायत दुई कम्युनिस्ट पार्टीबिच सम्बन्धलाई प्रभावकारी बनाउने सहमति भएको स्मरण गराए ।
छोङदिङ चीनको दक्षिण पश्चिममा रहेको महत्वपूर्ण सहर रहेको भन्दै उनले पार्टी अनुशासन र एकताबारे प्रयास तथा मार्क्सवादी दृष्टिकोणबाट मात्र सुन्दर सहर निर्माणमा सम्भव भएको पनि बताए ।
माओवादी प्रतिनिधिका प्रमुख तथा सचिव दीनानाथ शर्माले चिनियाँ पार्टी स्कुलले पार्टी निर्माण र अनुशासन पालना गराउन खेलेको भूमिकाबाट प्रभावित भएको बताए । चिनियाँ कम्युनिस्ट पार्टी र माओवादीबिच घनिष्ट सम्बन्ध रहेको स्मरण गराउँदै उनले माओवाट प्रभावित भएर जनवादी क्रान्ति पूरा गरेको र अब समाजवादी क्रान्ति पूरा गर्न सी विचारधारा महत्वपूर्ण हुने बताए ।
चोङमिङको विकासबाट निकै प्रभावित भएको भन्दै उनले नेपालको विकासमा सहकार्य गरेर जान चाहेको स्पष्ट पारे । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा सरकार ढलेको पनि शर्माले बताए ।