बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

बिहीबार, २८ चैत २०८१, १७ : ३६
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले सन् २०२५ को गर्मी सिजनको सुरुआतसँगै चीन–नेपालको हवाई मार्गलाई अझ प्रभावकारी बनाउन उडान तालिका पुनः समायोजन गर्ने निर्णय गरेको छ । 

अप्रिल १० देखि लागू भएको नयाँ तालिकाले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उडान समय र आवृत्तिमा सुधार ल्याएको छ ।

नयाँ तालिकाअनुसार, काठमाडौँ - ग्वाङ्झाउसम्म रातको नियमित उडान पुनः सञ्चालनमा आएको छ । जसको प्रस्थान समय राति ११ः३० बजे निर्धारण गरिएको छ। यो उडान दैनिक सञ्चालन हुनेछ । दिउँसोको नियमित उडानमा पनि समायोजन गरिएको छ, जहाँ प्रस्थान समय ५० मिनेट पछाडि सारिएको छ । अबदेखि दिउँसोको उडान काठमाडौँबाट दिउँसो १२ः५० बजे प्रस्थान गर्ने जनाएको छ ।

दैनिक उडान तालिका पनि समायोजन गरेको छ । अप्रिल १० देखि मेसम्म हप्तामा चारपटक (आइतबार, सोमबार, बुधबार र बिहीबार), जुनदेखि अगस्टसम्म हप्तामा दुईपटक (आइतबार र बिहीबार) र सेप्टेम्बरदेखि अक्टोबरसम्म दैनिक उडान सञ्चालन हुने जनाइएको छ ।

चाइना साउदर्न एयरलाइन्सले यो सिजनको लागि सिट संख्यामा उल्लेखनीय वृद्धि गरेको छ । काठमाडौँबाट ग्वाङ्झाउसम्म ४५,००० सिट र ग्वाङ्झाउबाट काठमाडौँसम्म ४६,००० सिटभन्दा बढी उपलब्ध हुनेछन् ।

यो अघिल्लो वर्षको तुलनामा क्रमशः १६.५ प्रतिशत र ३९.९ प्रतिशत वृद्धि हो । यसले यात्रुहरूलाई थप विकल्प उपलब्ध गराउने मात्र नभई चीन–नेपालबीचको पर्यटन, व्यापार र सांस्कृतिक आदानप्रदानलाई समेत नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको जनाइएको छ ।

‘यस वर्ष चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र ‘चीन–नेपाल पर्यटन वर्ष’ को अवसरमा गरिएको यो पहल दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित गरिएको बताइएको छ । चाइना सदर्न एयरलाइन्सले नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्ने र नेपालका पर्यटन गन्तव्यहरूलाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।

भविष्यमा पनि कम्पनीले यात्रुहरूको आवश्यकता र बजारको मागलाई ध्यानमा राखी उडान व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने र चीन–नेपालबीचको सहयोगलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप