शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

भक्तपुरमा बिस्केट जात्रा सुरु

बिहीबार, २८ चैत २०८१, १७ : २६
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा बिहीबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो ।  

काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

जात्रा अन्तर्गत गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिने परम्परा रहेको स्थानीय अनन्त धौबडेलले बताए ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन  ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप