बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक शक्ति बनेको छ ।
शनिबार सम्पन्न निर्वाचनको बिहीबार मतगणना सम्पन्न भइ विजयी प्यानल घोषणा भएको हो । निर्वाचन समितिका अनुसार बारको केन्द्रीय कार्यसमितिमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले १२ वटा पद जितेको छ भने नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)ले पनि १२ वटै पदमा जित निकालेको छ ।
सत्तारुढ दुई दलनिकट कानुन व्यवसायीको गठबन्धनमा राप्रपा निकट प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (एनडीएलए)ले समर्थन गरेको थियो ।
राप्रपाले एक सदस्य पद लिएर निर्वाचनमा उक्त लोकतान्त्रिक–प्रगतिशील गठबन्धनमा सहभागी भएको थियो । डीएलएबाट अध्यक्ष, चार उपाध्यक्ष र ७ सदस्य उम्मेदवार रहँदा पीपीएलएबाट महासचिव पदसहित कोषाअध्यक्ष, चार उपाध्यक्ष र ६ सदस्य उम्मेदवार थिए । यस्तै राप्रपाबाट माधव मैनाली सदस्यका लागि उम्मेदवार थिए ।
बिहीबार सम्पन्न मतगणनाको परिणामअनुसार प्राडा विजयप्रसाद मिश्र नेतृत्वको कांग्रेस–एमाले–राप्रपा गठबन्धनको प्यानलले क्लिनस्विप गरेको हो ।
सार्वजनिक मतपरिणामअनुसार डीएलएबाट अध्यक्ष मिश्र, उपाध्यक्षहरुमा मधेश प्रदेशबाट अजयशंकर झा, बागमती प्रदेशबाट तेजबहादुर रावल, कर्णालीबाट विवशकुमार बस्नेत र लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
यस्तै पीपीएलएबाट महासचिवमा केदारप्रसाद कोइराला, उपाध्यक्षहरु कोशीबाट पदम लिम्बु, उपत्यका खुला महिलाबाट सरस्वती श्रेष्ठ र गण्डकीबाट भूपेन्द्र खनाल निर्वाचित भए । यसैगरी कोषाअध्यक्षमा जगतबहादुर कार्कीले जित निकाले ।
डीएलएबाट निर्वाचित सदस्यहरु रिंकुकुमारी यादव, मंगलसुन्दर शिल्पकार, रञ्जीता कार्की, किरण पौडेल, किरण न्यौपाने, दमनबहादुर चन्द र बाबुराम अर्याल निर्वाचित भए । निर्वाचित भएका सदस्यहरु चिरञ्जीवि तिलक्यानी, सूर्यकुमार यादव, राजकुमार श्रेष्ठ, इन्दिरा आचार्य, शारदा गुरुङ र मुकुन्द अधिकारी पीपीएलएका हुन् ।
यसैगरी निर्वाचित अर्का सदस्य माधव मैनाली राप्रपाका हुन्, जो २५ सदस्यीय पदाधिकारीमा १२ पदमा एमाले र १२ पदमा कांग्रेस विजयी हुँदा बहुमतका लागि निर्णायक शक्ति बन्न पुगेका छन् ।