आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
चार देशीय टी–२० क्रिकेट शृंखला

ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक

बिहीबार, २८ चैत २०८१, १० : ००
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको आफ्नो दोस्रो खेलमा कुवेतलाई ६ विकेटको फराकिलो अन्तरले हरायो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले बुधबार कतारलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८।५ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले महत्वपूर्ण योगदान गरे । यी दुई ओपनरले पहिलो विकेटका लागि एक सय २७ रनको साझेदारी गरे । 

कुशल भुर्तेलले ८१ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५० बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काए । २८ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औँ अर्धशतक हो ।

अलराउण्डर खेलाडी कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा शतक पनि बनाएका छन् । उनले बुधबार खेलिएको कतारविरुद्धको खेलमा पनि १९ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए ।

कुवेतविरुद्ध अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ५३ रनको योगदान गरे । आसिफ शेखले ३८ बलमा चार छक्का र दई चौका पनि प्रहार गरे । २३ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सातौँ अर्धशतक पनि हो । 

बुधबार खेलिएको कतारविरुद्धको खेलमा पनि उनले केवल २१ बलमा चार छक्काको मद्दतले ३३ रन बनाएका थिए । उक्त खेलमा पनि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

कुवेतविरुद्धको खेलमा नेपाली टोलीका अर्का प्रभावशाली ब्याट्सम्यान कुशल मल्ल भने चार रन बनाउँदै पेभेलियन फर्किए । नेपालले १६औँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीलाई अगाडि बढाएका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहितले अविजित चार रन बनाए । गुलसन झा नौ रनमा अविजित रहे । पाँचौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल १२ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाए । 

दीपेन्द्रले १८औँ ओभरमा तीन छक्का र एक चौका हिर्काएका थिए । नेपालले त्यो ओभरमा २५ रन बटुलेको थियो । कुशल भुर्तेल र आसिफ शेख आउट भएपछि अन्तिम समयमा दीपेन्द्रको आक्रामक ब्याटिङले नेपालको जित सहज बनेको थियो ।

त्यसअघि, ब्याटिङ गरेको कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाएका थिए । उनले ३० बलमा दुई छक्का र चार चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मित भावसरले पनि ३५ रन बनाए । उनले २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

बिलाल ताहिरले पनि टोलीको खातामा ३२ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । ओपनर रविजा सनदरुवनले १५ बलमा एक छक्का र दुई चौकाको मद्दतले २६ रन जोडे ।

कप्तान मोहम्मद असलमले १७ र उसमान पटेलले १३ रन जोडे । नेपाली टोलीका बलर सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे । 

चार देशीय शृंखलामा नेपाल र कुवेतका अतिरिक्त आयोजक हङ्कङ र कतारको पनि सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो तेस्रो खेल शनिबार आयोजक हङ्कङसँग खेल्नेछ ।

लिग चरणको समाप्तिपछि अंक तालिकको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल आगामी आइतबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप