सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म

बुधबार, २७ चैत २०८१, २२ : ००
बुधबार, २७ चैत २०८१

आज २०८१ चैत २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । 

  • सङ्क्रमणकालीन न्याय

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सरकारले गठन गरेको ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति (सर्च कमिटी)ले १० दिनको समय राखेर आवेदनका लागि सूचना निकाल्ने निर्णय गरेको छ ।

  • शिक्षक आन्दोलन

नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकमा छलफल गर्न तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दिपक काफ्लेले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई पत्र पठाएका थिए। त्यसपछि भोलि महासंघको अध्यक्षमण्डल गएर विधेयकका विषयमा छलफल गर्न तयार भएको हो ।

  • तीनकुने घटना

चैत १५ गते राजसंस्था पक्षधरहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा हिंसा भड्किदा जनधनको क्षति भएको १३ दिन भैसकेको छ । तीनकुने घटनामा फोटो पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

  • जग्गा जफत

सरकारले सर्वोच्च अदालतको फैसला बमोजिम पूर्वमन्त्री तथा नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ । गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला बमोजिम खड्काको जग्गा जफत गरेको हो । 

  • राष्ट्र बैंकको रिपोर्ट

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढीले रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

  • दुर्गा प्रसाईं

काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू नभागेको तर, ‘जोगिएको’ बताएका छन् । सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् । 

  • गणतन्त्रमा चुनौती

आज युवाले सडक तथा सामाजिक सञ्जालबाट गणतान्त्रिक शासक र राजनीतिक दलप्रति तीव्र असन्तुष्टि पोखिरहेका छन् । देशमा गणतन्त्रविरोधी नारा लगाउनेमा यी उमेरका युवा तथा किशोरकिशोरी सबैभन्दा बढी छन् ।

  • क्रिकेट

हङ्कङमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । नेपाली टोलीले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कतारलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।

यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीले सान्त्वना जित हासिल गरेको छ । नेपाली यू–१९ टोलीले बुधबार खेलिएको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको यू–१९ टोलीलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ८५ रनले हराएको हो ।

  • औद्योगिक ग्राम सञ्चालन कार्यविधि

सरकारले ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिँदै औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप