प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले बुधबार शिष्टाचार भेट गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्यसुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले द्विपक्षीय सम्झौता र संयुक्त कार्यसमूहहरुलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशील रुपमा काम गर्न आफू तयार रहेको बताए ।
उनले हालै थाइल्याण्डको बैंककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने उल्लेख गरे । उनले बद्लिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु