शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
मोटरसाइकल चोरी

नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ

बुधबार, २७ चैत २०८१, २० : ३३
बुधबार, २७ चैत २०८१

विराटनगर । विराटनगरबाट चैत महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरी भएको छ । मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले ६ वटा मोटरसाइकल सहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । 

मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई सार्वजनिक गरेको हो । जसमा विराटनगर १७ का १७ वर्षीय मो. सोयल आलम र सोही ठाउँका २४ वर्षीय मो. नौसाद अन्सारी रहेका छन् । 

प्रहरीका अनुसार चैत्र महिनामा मात्रै विराटनगरबाट ११ वटा मोटरसाइकल चोरी भएको जनाएको छ । गत २१ गते मोरङ जिल्ला अदालतको पूर्वी सडक खण्डमा पार्किङ गरि राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो । यस्तै चैत १९ गते नेपाल भारतको सिमानामा पार्किङ गरिराखेको स्थानबाट  एउटा स्कुटर हराएको थियो । 

यस्तै २२ गते कोशी हस्पिटलको पार्किङमा राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो भने चैत २५ गते विराटनगर महेन्द्र चोकमा रहेको सानिमा बैंकको कार्यालय भवनकै अगाडि पार्किङमा राखेको स्थानबाट अर्को मोटरसाइकल हराएको थियो । 

उता, २१ गते नै जोगवनीमा पार्किङ गरि राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो भने २५ गते कोश अस्पतालकै पार्किङ गरि राखेको स्थानबाट अर्को मोटरसाइकल हराएको प्रहरीको रेकर्ड छ । गत फागुन ५ गते विराटनगर ३ बाट एउटा मोटरसाइकल हराएको थियो भने फागुन ७ गते विराटनगर ७ बाट निजी घरमा पार्किङ गरेकै स्थानबाट अर्को मोटरसाइकल हराएको थियो । यस्तै फागुन ५ गते नै विराटनगर ३ रेग्मीकाट एउटा, फागुन २१ गते जिल्ला अदालतको पूर्वतर्फ पार्किङ गरेको स्थानबाट एउटा र चैत १९ गते सीमा क्षेत्रबाट एउटा स्कुटर हराएको थियो । 

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोटरसाइकल चोरीमा प्रयोग गर्ने मास्टर चाबी, मोबाइल १ थान, प्रदेश १–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल १ थान, को ३ प ९७९५ सुपर स्पेलेण्डर कालो रंगको मोटरसाइकल, ज ३ प ७४९८ हिरोहण्डा कालो रंगको मोटरसाइकल, मे ५ प ६६९२ सुपर स्पेलेण्डर निलो रंगको मोटरसाइकल, नम्बर नखुलेको रातो स्कुटर र खरानी रंगको अर्को मोटरसाइकल बरामद गरेको हो । 

विराटनगरमा भइरहेको मोटरसाइकलको श्रृंखलाबद्ध चोरी गरेको आरोपमा गिरोहका मुख्य व्यक्ति विराटनगर १७ का २४ वर्षीय नौसाद अन्सारी रहेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका अर्का व्यक्ति विराटनगर १७ कै वर्ष १७ का आलम भने सहयोगी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका नौसाद मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका पटके हुन् ।

उनी यसअघि पनि चोरी आरोपमा पक्राउ परेका प्रतिवादी हुन् । उनले विराटनगरको व्यस्त बजारमा राखिएको पार्किङ स्थलबाट पुरानो खालको मोटरसाइकल चोरी गर्ने र भारतमा पुर्‍याएर विक्री वितरण गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए ।

प्रहरीले नौसादसहित दुई जनालाई मंगलबार विराटनगर-७ अस्पताल चोकबाट कपडा पसल अगाडि पार्किङ गरेको प्र. १–०–२०४१ प ०३४० कालो रातो रङको हुन्डा सिबी साइन मोटरसाइकल चोरी गर्ने क्रममा पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि थप ५ वटा मोटरसाइकल भारतमा विक्री गरेको खुलेको छ ।

‘त्यसपछि विक्री गरेको पाँच वटा मोटरसाइकल पनि नेपाल भारतको सीमा क्षेत्र दरैया र टिकुलिया क्षेत्रबाट बरामद गरेको हो,’ डिएसपी जोशीले भने, ‘चोरी गरेको मोटरसाइकलहरू भारतमा लगेर विक्री वितरण गरेको पाईको छ । त्यसपछि पीडितलाई फोन गरेर नौसादले फिरौती रकम पनि माग गरेको पाइएको छ ।’

नेपालमा चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फालेर भारत लैजाने गरेको पाइएको छ । ‘नयाँ भन्दा पनि पुरानो खालको मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ । पुरानो मोटरसाइकलको लक तोड्न सजिलो हुने भएकोले पुरानो रोज्ने गरेका छन्,’ डिएसपी जोशीले भने । चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप