शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल

बुधबार, २७ चैत २०८१, १६ : १९
बुधबार, २७ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग नेपालमा पर्यटन व्यवसाय र पर्यटक खस्किएकोबारे चासो लिएको छ । समितिले आज पर्यटनमन्त्री बद्री पाण्डेलाई बोलाएर पर्यटन व्यवसाय खस्किनाको कारण र पर्यटक घट्नुको कारणबारे अनौपचारिक छलफल गरेको हो । 

समिति सभापति रामहरि खतिवडाले पर्यटनमन्त्री पाण्डेसँग पर्यटनका विविध विषयबारे अनौपचारिक रूपमा सामान्य छलफल गरेको जानकारी दिए । ‘पर्यटनसँग सम्बन्धित विषयमा पर्यटनमन्त्री पाण्डेसँग हामीले अनौपचारिक रूपमा सामान्य छलफल गरेका छौँ,’ सभापति खतिवडाले रातोपाटीसँग भने, ‘संसद्को अधिवेशन अन्त्य भएकाले माननीयज्यूहरू जिल्ला जिल्लामा हुनुहुन्छ । त्यही भएर आज बोलाएर सामान्य छलफल गर्‍यौँ पर्यटनका यावत विषयमा चासो व्यक्त गर्‍यौँ । वैशाख तीन गते बैठक बोलाएर औपचारिक छलफल गर्ने तयारी छ ।’

छलफलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निजी एयरलाइन्सहरूको मनोमानी र उनीहरूलाई नीति नियमभित्र रहेर अझ क्रियाशील बनाउन के गर्नुपर्छ भनेर सामान्य छलफल गरिएको खतिवडाले जानकारी दिए । दसैँ अगाडि निजी एयरलाइन्सले विपद्को मौका छोपी चर्को भाडा लिएको विषयमा समितिले निर्देशन दिएपछि घटाएकोमा मन्त्रीलाई अनौपचारिक रूपमा धन्यवाद दिइएको पनि खतिवडाले बताए । 

निकटस्थ स्रोतले भने पर्यटनका विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएपछि मन्त्री पाण्डेले छलफलमा आउने तर, पत्रकारलाई राख्न नहुने बताएका थिए । त्यसपछि सभापति खतिवडाले अनौपचारिक छलफल गर्ने भन्दै बोलाएर अनौपचारिक छलफल गरेका स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप