शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
च्याम्पियन्स लिग फुटबल

रियलविरुद्ध गोल गर्दै आफूलाई रोनाल्डो र नेमारको हाराहारीमा उभ्याए आर्सनलका राइसले

बुधबार, २७ चैत २०८१, १५ : ५३
बुधबार, २७ चैत २०८१

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको मंगलबार राति सम्पनन क्वार्टरफाइनलको पहिलो लेग खेलमा इङ्लिस क्लब आर्सनलले बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–० गोलले पराजित गर्‍यो । उक्त खेल आर्सनलको घरेलु मैदानमा खेलिएको थियो । 

आर्सनलले च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाएको छ । क्वार्टरफाइनलको दोस्रो लेग खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । आर्सनको महत्वपूर्ण जितमा डेक्लान राइस नायक बने । 

उक्त खेलपछि इङ्ल्यान्डका २६ वर्षीय मिडफिल्डर राइसले च्याम्पियन्स लिगको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका हुन् । उनले च्याम्पियन्स लिगको एउटा कीर्तिमानमा आफूलाई क्रिस्टियानो रोनाल्डो र नेमारजस्ता प्रभावशाली खेलाडीको हाराहारीमा उभ्याएका छन् । 

राइसले दुबै गोल फ्रिकिकमार्फत गरेका थिए । उनी च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा फ्रिकिकमार्फत दुई गोल गर्ने पाँचौँ खेलाडी बन्न पुगेका छन् । यसअघि, क्रिस्टियानो रोनाल्डो, नेमार, रिभाल्डो र हकिम जियचले मात्र यस्तो सफलता हात पार्न सकेका थिए । 

राइसले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडविरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरेकाले पनि यो उनका लागि अझ गर्वको विषय बन्न पुगेको छ । राइसकै उत्कृष्ट प्रदर्शनका कारण आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । आर्सनल यसअघि सन् २००९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप