सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी

बुधबार, २७ चैत २०८१, १५ : ३१
बुधबार, २७ चैत २०८१

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् । बुधवार काठमाडौँमा राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा लोहनीले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताएका हुन् । 

उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाए । उनले राज्यको क्रूरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै सङ्घर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए । 

इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अत्याचारको अन्त्य गरेको भन्दै पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरूको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।

उनले भने, ‘अब सङ्घर्ष गर्ने समय आएको छ । रावणलाई प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण  प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो । अन्तिममा गएर सङ्घर्ष गर्नुपर्‍यो । सङ्घर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो । नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ,उनीहरूलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा सङ्घर्षसिवाय अर्को उपाय छैन । सङ्घर्ष शान्तिपूर्ण  र हिंस्रक पनि हुन्छ ।’ 

नेता डा.लोहनीले नेपालको राजसंस्था नेपालीहरूलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुपर्ने दाबी गरे । 

उनले भने, ‘राप्रपाले भनेको छ हामी शान्तिपूर्ण सङ्घर्षमा जान्छौँ । तर शान्तिपूर्ण सङ्घर्षलाई कमजोर नसम्झ । अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन । हामी अगाडि बढ्छौँ । नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप